सगरमाथा क्षेत्रलाई सोलु सदरमुकामसँग जोड्ने पुलको निर्माण अन्तिम चरणमा

 बैशाख २४, २०७७ बुधबार १८:४४:२३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा क्षेत्रलाई सदरमुकामसँग सडकले जोड्ने माप्य–खुम्बु मितेरी पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोसी गाउँपालिकाको सिमानामा निर्माणाधीन मोटरेबल पुलको काम करिब ९० प्रतिशत सकिएको माप्यदुधकोसी गाउँपालिकाका उपाध्यक्ष जुनिता माया मगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार ढलानको कामबाहेक स्टील ब्रिज निर्माणलगायतका सबै काम सकिएको छ । ढलानको काम मात्रै बाँकी रहेकोले बिहीबारदेखि ढलानको काम सुरु हुने उपाध्यक्ष मगरको भनाइ छ । 

माप्यदुधकोसी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको माप्य–खुम्बु मितेरी ट्रसब्रिजको उद्धघाटन जेठ १५ गते गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

सगरमाथा क्षेत्रलार्ई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिएको मितेरी ट्रष्टब्रिजको शिलान्यास गएको मङ्सिर १३ गते प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्यदुधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङ ल्हामू गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले गर्नुभएको थियो  ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया