​मिर्गौला तस्करीको आरोपमा एकजना पक्राउ, तस्करीमा गिरोह नै सक्रिय

 जेठ १३, २०७५ आइतबार २०:५३:५ | रमेश गिरी
unn.prixa.net

भक्तपुर, जेठ १३ – मानसिक रोगको औषधी सेवन गरिरहेका युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एकजनालाई महानगरीय प्रहरी परिषर भक्तपुरले आइतबार पक्राउ गरेको छ ।

प्रहरीले यो अभियोगमा मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नम्बर–१, स्थायी घर भई अहिले भक्तपुर नगरपालिका–१, मा डेरा गरी बस्ने ५१ वर्षका थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको  हो । गएको वैशाख १० गते भक्तपुरमा रहेको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेको बनेपा नगरपालिका २ बस्ने २९ वर्षका कुमार गिरीको मिर्गाैला झुक्याएर निकाली प्रत्यारोपण गरेको आरोपमा बस्नेतलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । 

मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्र पनि नाता प्रमाणित लगायत कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मिर्गौला झिकेको उहाँले बताउनुभयो । बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशिष बस्नेतले मिर्गाैला खोजी गर्ने क्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

गिरीद्धयले आशिषलाई मानसिक रोगी रहेको र परिवारसँग सधै नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको पीडितका बुबा भोलानाथ गिरीले जानकारी दिनुभयो । यो गिरोहको योजना अनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याएर फकाएर राखेको र बेलाबेलामा भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको भनाई छ । 

थर्कमानका छोरा आशिषको नाममा सबै कागजपत्र मिलाएर अन्त्यमा नाता प्रमाणित लगायतमा आशिषको फोटो झिकेर कुमारको फोटो टाँसी मानव अंग प्रत्यारोपण केन्द्रमा लगेर कुमारको मिर्गौला झिकेर थर्कमानलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । 

धम्की र प्रलोभनमा पारेर पत्थरीको अप्रेशन गर्ने भन्दै मिर्गौला झिकेको पीडतका हजुरबुबा गणेश गिरीले बताउनुभयो । आशिषले १० हजार रुपैयाँ दिइसकेको छु, अंश पनि दिन्छु अप्रेशन गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उहाँको दाबी छ । 

मिर्गौला झिकेपछि पनि एक हप्ता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखेपछि अब काम सकियो भन्दै काठमाडौं सितापाइलामा रहेको कुमारको फूपु शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि आफन्तले भेटाएर घरमा लगेका थिए । त्यसपछि फूपुको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो । 

मिर्गौला झिक्नुअघि आशिष लगायतको गिरोहले वीर अस्पतालमा कुमारको सबै स्वास्थ्य परीक्षण र रगत समेत जाँच गराएर गएको वैशाख १० गते केन्द्रमा कुमारको मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गरिएको आफन्तले भनाई छ । 

पीडितका परिवार प्रल्हाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिषर भक्तपुरमा जाहेरी दिए लगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । गिरोहमा संलग्न रहेको भनिएका आशिष, डल्लुराज र लालचन्द्र फरार रहेको प्रहरीको भनाई छ । 

पीडित परिवारले भने घटनामा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहेको भन्दै कडा र सुक्ष्म रुपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन् । 

अस्पतालले मिर्गौला झिक्नुअघि उ शारीरिक रुपमा स्वस्थ छ कि छैन ?, कानुनी रुपमा कागजातपत्र र प्रमाणहरु ठिक छ कि छैन, मिर्गौला दान गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ छ कि छैन ? उ सर्जिकल रुपमा फिट छ कि छैन ? भन्ने जस्ता विषयमा ध्यान नदिएको पीडितको गुनासो छ । 

यसअघि पनि मानव अंग प्रत्यारोपण केन्द्र आसपासमा मिर्गौला तस्करीमा लागेको गिरोह सक्रिय भएको, नेपाल र भारतमा समेत लगेर मिर्गौला किनबेच गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले बस्नेतलाई मानव अंग बेचविखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया