खुम्बुमा दुई हप्तामा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी

 जेठ १६, २०७७ शुक्रबार ११:५:७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुई हप्तमा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी गरिएको छ । 

गएको जेठ २ गतेबाट हालसम्म २ हप्ताको अवधिमा २ लाख ८७ हजार ८ सय किलो निर्माण सामाग्री खुम्बु क्षेत्र ढुवानी गरिएको हो ।
तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका प्रबन्धक ईमानाथ अधिकारीका अनुसार गृह मन्त्रालयले प्रदान गरेको विशेष पासको आधारमा हेलिकप्टर र विमान गरी १ सय ३१ उडान मार्फत रड, सिमेण्ट लगायतका निर्माण सामग्रीहरु ढुवानी गरिएको हो ।

तारा एयरलाइन्सले रामेछापबाट ५९ उडानमार्फत १ लाख ५० हजार किलो र समिट एयरले ७३ उडानमार्फत १ लाख २७ हजार ७ सय २७ किलो सामग्री ढुवानी गरेको कार्यालयले जनाएको छ ।
साथै कैलाश एयरको हेलिकप्टरले जिल्लाको टाक्सिन्दुबाट ६० हजार किलोभन्दा बढी निर्माण सामाग्री (सिलिङ) ढुवानी गरिएको प्रबन्धक अधिकारीले बताउनुभयो । 
हेलिकप्टरले टाक्सिन्दुबाट  दिबुचे, पाङबोचे, नाम्चे मञ्जो, र लुक्लामा जेठ २ गते यता १ सय १ उडान गरेको कार्यालयले जनाएको छ । कार्गो ढुवानीका लागि गृह मन्त्रालयबाट तारा एयरले १ सय ४० उडान र समिट एयरले १ सय उडान कार्गो ढुवानी विशेष अनुमति पाएका थिए । 

ढुवानी कार्य अहिले पनि जारी रहेको खुम्बु पासङ ल्हामु गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया