वाह वाट्सन : १० बलमा ०, ४७ मा ११७ रन !

 जेठ १४, २०७५ सोमबार ७:४३:२२ | लक्ष्मण कार्की
unn.prixa.net

क्रिकेटमा जे पनि सम्भव छ त्यसै भनिएको होइन । नत्र १० बलमा रनको खातै खोल्न नसकेको ब्याट्स्म्यानले ४७ बलमा १ सय १७ रन कहाँ बनाउँछ ? यस्तो गज्जब प्रदर्शन गरेका हुन् अष्ट्रेलियाली ब्याट्स्म्यान शेन वाट्सनले । ३६ वर्षीय वाटसनले आईपीएल क्रिकेटको फाइनलमा चेन्नई सुपरकिंग्सबाट नटआउट १ सय १७ रन बनाउँदै फाइनलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

यसअघि, सन् २०१४ मा ऋद्धिमन साहले पञ्जावका तर्फबाट कोलकाता नाइटराइडर्ससँग १ सय १५ रन बनाएका थिए । तर त्यो खेल पञ्जावले हारेको थियो । त्यसैले वाट्सन नाममा अर्को रेकर्ड पनि बन्यो, आईपीएलको फाइनलमा शतक हानेर आफ्नो टीमलाई जिताउने पहिलो खेलाडी । उनी आईपीएलमा लक्ष्य पछ्याउने क्रममा शतक बनाउने पहिलो ब्याट्स्म्यान पनि बनेका छन् ।

१ सय ६९ रनको लक्ष्य चेन्नइको ब्याटिङलाईनका लागि ठूलो चुनौती थिएन । तर चनाखो हुनुपर्ने कुरा के थियो भने हैदरावाद खतरनाक बलरहरुको टिम थियो । थोरै रन मात्र बनाए पनि खेल जित्ने क्षमता प्रमाणित गरिसकेको हैदराबादमा भुवनेश्वरकुमार, रासिद खान, सिद्धार्थ कौल, सन्दीप शर्मा जस्ता खतरनाक बलरहरुको टोली थियो ।


नभन्दै हैदरावादले सुरुवात गर्यो पनि त्यस्तै । भुवनेश्वर कुमारले पहिलो ओभर मेडन राखे । ब्याटिङमा थिए उनै वाट्सन । १६ रन बनाउँदा ओपनर फाफ डु प्लेसिस आउट भएपछि हैदराबादको बलिङ सामु चेन्नइका ब्याट्स्म्यान निरीह होलान् झै देखिएको थियो । चेन्नइका समर्थक भने चुक्चुकाउन थालिसकेका थिए, आज पनि हैदराबाद मध्यम लक्ष्य ‘डिफेण्ड’ गर्ने टिम पो बन्ने हो कि ?

दोस्रो ओभरमा अन्तिम २ बलमा, तेस्रो ओभरको अन्तिम बलमा र चौथो ओभरको दोस्रो बलमा पनि उनले रन जोड्न सकेनन् । जसले गर्दा चेन्नईको सुरुवात निकै लोते देखिएको थियो ।

चेन्नइलाई फाइनल पुर्‍याउँदा हैदरावादसँग नायकको भूमिका निर्वाह गरेका फाफ डु प्लेसिस टिमको स्कोर मात्र १६ रन हुँदा आउट हुनु र बोर्डमा रन शंखेकिरोको गतिमा मात्र बढिरहेपछि कमेण्टेटरहरु चेन्नई संकटमा पर्न थालेको टिप्पणी गर्न थालिसकेका थिए ।

तर त्यस्तो भएन किनभने यो क्रिकेट थियो र ब्याटिङमा उनै वाट्सन थिए जसलाई उनको यसअघिको टिम बेंग्लोरले छोडेपनि चेन्नईले राजस्थान रोयल्स र दिल्लीलाई उछिन्दै ४ करोड भारुमा अनुबन्ध गरेको थियो । चेन्नईले वाट्शनलाई १ करोड रुपैयाँबाट बोली लगाउन सुरु गरेको थियो । राजस्थान र दिल्ली पनि वाट्सनलाई लिन चाहन्थे तर चेन्नईले ४ करोड रुपैयाँ कबोल गरेपछि उनीहरु पछि हटेका थिए ।

१० बलमा १ रन पनि जोड्न नसकेका वाट्सनले अन्तत १ सय १७ रन बनाए । त्यो पनि मात्र ५७ बलमा । उनले रन जोड्न नसकेका सुरुका १० बललाई छोड्ने हो भने त मात्र ४७ बलमा ।

आफूले फेस गरेको ११ औँ बल अर्थात् चौथो ओभरको तेस्रो बलमा बल्ल वाट्सनले चौका हान्दै रनको खाता खोले । त्यही ओभरको अन्तिम बलमा फाफ डु प्लेसिस आउट भएपछि चेन्नइसँगै वाटसनलाई पनि दबाब बढेको थियो । त्यसपछि छैटौँ ओभरसम्म पनि वाट्सन चुपचाप जस्तै थिए । ट्वाक्क टुक्क एक रन मात्र जोडे । 

छैटौँ ओभरको तेस्रो र चौथो बलमा सन्दीप शर्मालाई क्रमशः छक्का र चौका हान्दै वाट्सनले आफू अब आक्रामक हुने छनक दिएका थिए । सातौँ ओभरमा उनले १ छक्का हाने । नवौँ ओभरमा १ छक्का र १ चौका थपे । ११ औँ ओभरमा १ छक्का र १२ आैँ मा १ चौका हाने ।

वाट्सनकोे खास क्षमता १३ औ ओभरमा देखियो । सन्दीप शर्माको बलिङमा वाट्सनले १३ औ ओभरमा ३ छक्का र २ चौकासहित २७ रन जोडे । ओभरको दोस्रो तेस्रो र चौथो बलमा उनले लगातार छक्का हान्दै वाङखडे लाइभ हेरिरहेका हजारौँ दर्शकलाई मात्र होइन टेलिभिजनमा हेरिरहेका लाखौँ दर्शकलाई पनि जुरुक–जुरुक बनाए । सन्दीपका लागि पक्कै पनि खेल जीवनकै विर्सनलायक ओभर बन्नेछ त्यो ओभर ।

१४ औँ ओभरमा १ छक्का र १ चौका हानेका वाट्सनले १७ औँ ओभरमा रासिद खानको बलमा १ रन जोड्दै शतक पूरा गरे । जुन आईपीएलको फाइनलमा केवल दोस्रो शतक थियो र लक्ष्य पछ्याइरहेको टिमका लागि पहिलो ।

त्यसबेलासम्म चेन्नईले जित्ने लगभग तय भैसकेको थियो । चेन्नइका समर्थक हँसिला र हैदरावादका समर्थक रुन्चे बनिसकेका थिए । वाट्सन रोकिनुपर्ने कारण केही थिएन । उनले ओभरका अन्तिम २ बलमा रासिदलाई लगातार २ चौका हाने । उनले १८ औँ ओभरका चौथो र पाँचौ बलमा पनि लगातार २ चौका हाने । १९ औँ ओभरको तेस्रो बलमा अम्बाती रायडुले चौका हान्दै चेन्नइलाइ जिताए । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया