डिसेम्बरसम्म उडिरहनेछ सोलुखुम्बुमाथि चिनियाँ जहाज, प्रयोजन ‘थाहा छैन’

 जेठ २०, २०७७ मंगलबार १९:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – मङ्गलबार बिहान एउटा चिनियाँ जहाज सोलुखुम्बुमाथि धेरै पटक ओहोरदोहोर गर्‍याे । चीनमा दर्ता भएको बिचक्राफ्ट बी ३३० सी जहाजले सोलुखुम्बुको खुम्जुङ, मकालु वरुण राष्ट्रिय निकुञ्ज, चोयुलगायतका क्षेत्रका आकाशमा उडान भर्‍याे ।  

जहाजहरुको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार २४ का अनुसार यो जहाज सोलुखुम्बुमाथि ३३ हजार आठ सय फिटको उचाइसम्म पुगेको थियो । जहाज चाइना फ्लाइङ ड्रागन एभिएशन कम्पनीमा दर्ता भएको देखिन्छ । जहाजले दुई दर्जनभन्दा धेरै पटक ओहोरदोहोर गर्‍याे ।  

नेपाली आकाशमा यो जहाज धेरैबेर घुमेपछि सामाजिक सञ्जालमा यसले नेपालको हवाई क्षेत्र प्रयोग गर्नको लागि अनुमति लिएकाे/नलिएको बारेमा चर्चा भयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यो चिनियाँ जहाजले नेपालको हवाई क्षेत्र प्रयोग गर्न अनुमति लिएको जनाएको छ । 

‘चिनियाँ जहाजले हाम्रो अनुमति लिएरै उडान गरेको हो, यसबारेमा हामी जानकार छौँ’, त्रिभुवन अन्तर्राष्ट्रिय विभागको फ्लाइट अपरेशन विभागका एक अधिकारीले उज्यालोसँग भने । 

जहाजले कुन प्रयोजनको लागि अनुमति लिएको छ ? उज्यालो अनलाइनको प्रश्नमा ती अधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयमा प्रस्ताव आएछ अनि पर्यटन मन्त्रालय हुँदै नागरिक उड्डयन प्राधिकरणमा कुरा आएको रहेछ । प्राधिकरणले 'चिनियाँ जहाजलाई अनुमति दिनू' भनेपछि हामीले उडान अनुमति दिएका हौँ ।’

चीनले सगरमाथाको उचाइ नापिरहेकाले त्यसको प्रयोजनको लागि जहाज उडेको हुन सक्ने अनुमान छ । विमानस्थलका अधिकारीले भने, ‘डिसेम्बरसम्म उड्नको लागि यो जहाजले अनुमति पाएको छ, बीचमा एक/डेढ महिनामा उड्दैन, नत्र उडिरहने जानकारी पाएका छौँ ।’ 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया