दाङमा वडाध्यक्षसहित ८ जनामा कोरोना सङ्क्रमण, प्युठानमा पहिलो पटक सङ्क्रमित भेटिए

 जेठ २०, २०७७ मंगलबार १९:५२:३२ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका ५ का वडाध्यक्षमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा वडाध्यक्षमा सङ्क्रमण देखिएकाे हो । 

भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडाध्यक्षमा कोरोना देखिएपछि बङ्गलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको छ । 

मङ्गलबार दाङमा ८ थपिए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार गरिएको कोरोना परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । जसमा दाङका आठ जना  र प्युठानका एक जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत गरिएको कोरोना परीक्षणमा दाङको बङ्गलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकाका दुई जना गरी आठ जनामा सङ्क्रमण देखिएको हो ।

बङ्गलाचुली गाउँपालिका ७ का २९ वर्षीय एक पुरुष र बङ्गलाचुली ५ का १९, २७, ३१, ३२ र ५४ वर्षीय  पुरुषमा कोरोना सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वरेण्टीनमा बस्दै आएका थिए ।

त्यसैगरी देउखुरीको राप्ती गाउँपालिका १ का १८ वर्षीय युवक र ९ नम्बर वडाका ५४ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभूत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वरेण्टीनमा रहेका छन् । 

योसँगै दाङमा अहिलेसम्म ५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मङ्गलबार नै प्युठानको स्वर्गद्वाराी नगरपालिका ४ का ५९ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठानले  जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया