लकडाउनको सास्ती : व्यवसायी भन्छन्- ११ बजेदेखि साढे ५ बजेसम्म उद्योग तथा बजार सञ्चालनको वातावरण मिलाइयोस्

 जेठ २२, २०७७ बिहिबार १६:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकतर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । 

जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम बजार पसल खुल्न थालेपछि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बिहीबार व्यापारीहरुसँग संयुक्त रुपमा छलफल गरेका हुन् । 

जिल्ला समन्वय समिति काठमाण्डौमा बिहीबार भएको संयुक्त छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढङ्गले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरी लागू गर्न कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाइने बताउनुभयो ।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । 

उनीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् । शिक्षण संस्थान, धार्मिक स्थल,कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माणसम्बन्धी कामको साथै सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सतर्कताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभइ जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार राजधानीका सबै प्रकारका पसल खुलेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउँदै व्यवसायीलाई छलफलमा बोलाएका हुन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया