उडान रद्द हुँदा मलेसियाको विमानस्थलमा रोकिएका प्रितमको ७० दिनपछि उद्धार

 जेठ २२, २०७७ बिहिबार १७:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ७० दिनदेखि मलेसियाको विमानस्थलमा रोकिएका नवलपरासीका प्रितम दर्लामी बुधबार नेपाल फर्कनुभएको छ । नेपाल फर्कनका लागि अध्यागमन पार गरिसकेपछि उडान रद्द हुँदा प्रितम बिमानस्थलमै रोकिनुभएको थियो ।

७० दिनसम्म विमानस्थलमै रोकिएका प्रितमलाई बुधबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का कर्मचारी लैजान चार्टर गरिएको मलेसियन एयरलाइन्सको जहाजमार्फत नेपाल पठाइएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा रहेको दूतावासको एक कर्मचारीका अनुसार प्रितम सिङ्गापुर हुँदै नेपाल फर्कने टिकट थियो, तर नेपालमा अन्तर्राष्ट्रिय उडान रोकिएपछि सिल्क एअरलाइन्स नेपाल आउँदा समस्या भएपछि त्यस दिननै प्रितमको उडान रोकिएको थियो ।

प्रितम अध्यागमन पार गरिसकेको र मलेसियामा पनि पूर्ण रुपमा लकडाउन भएकाले फर्कन सक्नुभएको थियो । १० वर्षको अवधि सक्काएर नेपाल फर्कन लाग्नुभएको प्रितमसँग मलेसियाको भिसा समेत सकिएको थियो ।

दूतावासका कर्मचारीले भने, ‘संयोग नै भन्नपर्छ उडान रोकिनु र यहाँ लकडाउन हुनु एकैपटक भयो, त्यसैले उहाँ रोकिनुभयो ।’

उडान रोकिंदा विमानस्थलमा प्रितमजस्तै अरु देशका कर्मचारी पनि रोकिएका थिए । बिस्तारै उनीहरु फर्किए पनि प्रितम भने ७० दिनसम्म विमानस्थलमै रोकिनु परेको थियो ।

प्रितमको उडान रद्द हुनासाथ जानकारी आएको र ७० दिनसम्म खाद्यान्न लगायत सम्पूर्ण खर्च दूतावासले नै व्यहोरेको दूतावासले जनाएको छ । खानाको प्याकेटसहित आवश्यक पैसासमेत दूतावासले उपलब्ध गराएको थियो । फर्कन बेला दूतावासकै समन्वयमा कोरोना जाँच गरेरै प्रितमलाई नेपाल पठाइएको हो । उहाँ अहिले काठमाण्डौमा क्वरेण्टीनमा बसिरहनुभएको छ ।

मलेसियामा कोरोनाको कारण विभिन्न कारणले समस्यामा परेर स्वदेश फर्कन खोज्ने नेपालीको सङया झण्डै ६ हजार रहेको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया