तथ्याङ्कमा काेराेना सङ्क्रमण : प्रदेश २ मा ९ सयभन्दा धेरै, युवा उमेरका पुरुष बढी सङ्क्रमित

 जेठ २२, २०७७ बिहिबार १९:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । बिहीबारमात्रै तीन सय ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको ज्यान गएको पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ३४ पुगेको छ । दुई सय ९० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने १० जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै प्रदेश २ मा

भारतसँग सीमा जोडिएका जिल्लामा सङ्क्रमण बढी देखिएको छ । प्रदेश २ मा मात्रै नाै सय ६३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश ५ मा आठ सय ९८, कर्णाली प्रदेशमा तीन सय ८३, प्रदेश १ मा एक सय ९७, सुदूरपश्चिम प्रदेशमा ८१, वाग्मती प्रदेशमा ५९ र गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित छन् ।

२१ देखि ३० वर्ष उमेरका धेरै

सङ्क्रमितमध्ये धेरै युवा उमेरका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जम्मा सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका एक हजार १९ र ३१ देखि ४० वर्ष उमेर समूहका पाँच सय ७७ जना छन् ।

त्यस्तै ८० वर्षभन्दा माथिका एक जनामात्रै सङ्क्रमित छन् । १० वर्षसम्मका ६५ जना, १० देखि २० वर्ष उमेर समूहका ६ सय ४६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका दुई सय २३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ७२ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २३ जना र ७१ देखि ८० वर्ष उमेर समूहका आठ जना सङ्क्रमित छन् ।

जम्मा सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या दुई हजार चार सय ५० र महिलाको सङ्ख्या एक सय ८४ मात्रै छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया