सिन्धुली : २ जना कोरोना सङ्क्रमित अस्पताल भर्ना

 जेठ २३, २०७७ शुक्रबार १८:५२:६ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुली अस्पतालमा रहेको आइसोलेशन कक्षमा रहेका दुई जना कोरोना सङ्क्रमित उपचारकाे लागि अस्पताल भर्ना भएका छन् ।

योसहित सिन्धुली जिल्लामा कोरोना सक्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ । अस्पतालका अनुसार आज भर्ना भएका सङ्क्रमित व्यक्तिहरु तीन पाटन गाउँपालिका ३ का २५ वर्षीय युवक र कमलामाई नगरपालिका ११ का १७ वर्षीय युवक रहेका छन् । 

किटजन्य प्रयाेगशाला हेटाैँडामा भएकाे पीसीआर परीक्षणमा दुवै जनाको रिपोर्ट पोजिटिम आएको हो । त्यस्तै कमलामाई नगरपालिका १४ को चन्दनपुर माविकाे क्वरेण्टीनमा बस्दै आएका २३ वर्षीय युवकमा बुधबार कोरोना सङक्रमण पुष्टि भएको थियो । 

अहिले यी तीनैजनालाई उपचारका लागि सिन्धुली अस्पतालमा रहेको आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो ।

उपचारकाे लागि अस्पतालमा भर्ना भएका तीनै जना केही दिनअघि भारतबाट रोजगार गुमाइ घर आएर स्थानीय क्वरेण्टीनमा बस्दै आएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार भारतबाट फर्किएकामध्ये महिला २३ जना र पुरुष एक सय ८४ जना रहेका छन् । त्यस्तै अरु देशबाट आएका नेपालीको सङ्ख्या एक सय एक रहेकाे छ । 

कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले पछिल्लो समय भारतबाट आएका नेपालीलाई १४ दिन क्वरेण्टीनमा राखेर स्वाब परीक्षणपछि मात्रै रिपाेर्ट हेरेर घर पठाउने गरेकाे बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया