मर्स्याङ्दी गाउँपालिका : उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा ऋण

 जेठ २३, २०७७ शुक्रबार १९:२२:४१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले घरगाउँमै उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा ऋण दिने भएको छ । 

गाउँपालिकाले ५० लाख रुपैयाँको (युवा उद्यमशीलता विकास कोष) स्थापना गरी कार्यविधि बनाइ उद्यम गर्न चाहने स्थानीय युवालाई चालु आर्थिक वर्षदेखि नै विना धितो, विना ब्याज ऋण प्रदान गर्ने  गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा गाउँपालिकाले पाँच सदस्यीय युवा उद्यमशीलता विकास कोष सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरेको छ ।

स्थानीय उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा उद्यम गर्न चाहने, छनाेटमा परेका १८ वर्षदेखि ४० वर्षभित्रका स्थानीय युवालाई पेस भएको परियोजना प्रस्तावनामा आधारित भएर न्यूनतम एक लाखदेखि अधिकतम पाँच लाखसम्म ऋण प्रदान गरिने बताइएकाे छ । 

विदेशबाट फर्किएकालाई घरगाउँमै स्वरोजगार बनाउन, स्थानीय युवालाई बिदेसिनबाट रोक्न, स्थानीय उत्पादन वृद्धि गर्नुका साथै आर्थिक अभावकाे कारण उद्यम गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि लागू हुने गरी कार्यक्रम अघि बढाइएको उपाध्यक्ष विकले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ऋणकाे लागि ७२ दरखास्त परेकोमा १८ जना युवा छनाेटमा परेको गाउँपालिकाका कार्यक्रम अधिकृत विष्णुप्रसाद दाहालले बताउनुभयो । प्राप्त दरखास्त, परियोजना प्रस्तावनाको आधारमा स्थलगत निरीक्षण गरी सम्बन्धित विज्ञसँग आवश्यक छलफल गरी थप रोजगारी सिर्जना गर्न सक्ने किसिमका परियोजनालाई प्राथमिकता दिएर कार्यविधिअनुसार मापदण्डमा परेकालाई ऋण प्रदान गर्न थालिएको कार्यक्रम अधिकृत दाहालले बताउनुभयो ।

उहाँका अनुसार यस वर्षका लागि छनाेटमा परेका १८ जनामध्ये शुक्रबारसम्म चार जना युवाले ऋण लिइसकेका छन् । छनाेटमा परेका युवाको सम्बन्धित फर्मको नाममा बैंकमार्फत ऋण प्रदान गरिएको छ । 

उद्यम सञ्चालनकाे लागि लिएको ऋण युवाले निश्चित समयावधिमा तीन किस्तामा पहिलो एक तिहाइ समय अवधिमा २०%, दोस्रो एक तिहाइ समयावधिमा ३०% र अन्तिममा बाँकी ५०% ऋण तिरिसक्नुपर्नेछ । निश्चित समयावधिमा लिएको ऋण नतिरे वार्षिक १२ प्रतिशतका दरले हर्जना लाग्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया