पहिलोचोटी महिनावारी हुँदाको अनुभव खुलेरै सुनाए लमजुङे महिलाले

 जेठ १४, २०७५ सोमबार १६:३७:९ | श्यामशितल परियार

लमजुङ, जेठ १४– आज मे २८ अर्थात् विश्व महिनावारी दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ । यसै अवसरमा लमजुङका केही महिलाहरुले आफू पहिलोपल्ट रजस्वला अर्थात् महिनावारी हुँदाको अनुभव हामीसँग खुलेरै राखे ।  
    
पाउँदीकी मैयाँदेवीको १२ वर्षको उमेरमा पहिलोचोटी महिनावारी भयो । महिनावारीपश्चात् सात दिन घरको धुरी, घामको मुख नहेरी एउटा अध्याँरो कोठामा बिताएको अत्यासलाग्दो पल आज पनि उहाँमा ताजै छ ।

जीवनमा पहिलोचोटी महिनावारी हुँदाको क्षण सम्झदैँ उहाँले भन्नुभयो, ‘बाआमा शिक्षित हुनु हुन्थेन, उहाँहरु अन्धविश्वासमा अल्झिनुभयो, महिनावारीको बेला एक्लै अध्याँरो कोठामा बस्नुपर्यो ।’ 
 
उहाँमात्रै नभई विगतमा धेरै महिलाहरुले यो नियति भोग्नुपर्यो । अझै पनि हाम्रो समाजमा महिनावारी भएको महिलाले पकाएको, छोएको खानु हुँदैन । उनीहरुलाई छु्ट्टै राख्नुपर्छ भन्ने मान्यता विद्यमान छ ।
 
पहिलोचोटी महिनावारी हुँदा सुन्दरवजारकै ५५ वर्षीया शकुन्तला अधिकारीले पनि धेरै दुःख भोग्नुपर्यो । ‘म पहिलोपल्ट महिनावारी हुँदा गुन्द्रीले बेरेर राखे, १५ दिनसम्म घाम र घरको धुरी समेत हेर्न पाइएन, धेरै दुःख भोग्नुपर्यो नि ।’
 
सुन्दरबजार वडा नम्बर –२, परेवाडाँडा थानीटोलकी सरस्वती पन्त सेढाइँको १३ वर्षको उमेरमा पहिलोचोटी महिनावारी भयो । महिनावारी भएपछि उहाँले घरभन्दा टाढा छिमेकीको घरमा गएर बस्नुभयो । त्यत्तिबेला ७ कक्षामा पढ्दै गर्नुभएकी पन्त महिनावारी भएका बेला विद्यालय पनि जानुभएन ।
 
‘१३ वर्षको उमेर पहिलोचोटी महिनावारी भयो, सात दिनसम्म घरको धुरी हेर्नु हुँदैन, बाबा, दाजुभाइलाई हेर्नु हुँदैन भन्ने मान्यता थियो, त्यसैले एक साता छिमेकीको घरमा गएर बस्नु पर्यो’, उहाँले भन्नुभयो ।
 
रजस्वला भएको बेला दिउँसो घाममा ननिस्किएको, एक छाक मात्रै खाएको पनि उहाँले बताउनुभयो । सामाजिक कार्यकर्ता समेत रहनुभएकी सरस्वतीका अनुसार पछिल्ला समय महिलाहरुमा चेतना जागेकाले पनि महिनावारीका बेला हिजोको किशोरी तथा महिलाले भोग्नुपरेको नियति आजको महिलाले तुलनात्मक रुपमा भोग्नुपरेका छैन ।  
 
अहिले महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुनुपर्दैन । विद्यालयमै प्याड राखिएको हुन्छ ।

‘हामीहरुको पालामा त कपडाको प्रयोग गर्नुपथ्र्यो, कपडा धोएर सुकाउन पनि लाज हुन्थ्यो, अहिले त घरघरमा, विद्यालयमै प्याडको व्यवस्था गरिएको हुन्छ, जसले गर्दा किशोरी तथा महिलाहरुलाई सजिलो भएको छ,’ उहाँले भन्नुभयो ।

अनेकाैँ भ्रम

महिलाको योनीबाट महिनापिच्छे ३ देखि ७ दिनसम्म रगत बग्ने प्रकृयालाई रजस्वला अर्थात महिनावारी भनिन्छ । डा. अशोक चापागाईँ भन्नुहुन्छ, ‘महिनावारी एक स्वभाविक र प्राकृतिक प्रकृया हो ।’ उहाँका अनुसार सामान्यतयाः  ४५ देखि ५५ वर्षको उमेरमा महिलामा रजस्वला प्रकृया अन्त्य हुन्छ ।
 
महिनावारीका विषयमा नोपली समाजमा अनेकन भ्रमहरु फैलाइएको पाइन्छ । आफूहरुलाई परेको स्वास्थ्य समस्याहरु कतिपयले खुलेर राख्न सक्दैनन् । डा. चापागाई थप्नुहुन्छ, ‘रजस्वलाको समयमा महिलाहरुले सरसफाईमा ध्यान नदिँदा उनीहरुले थुप्रै स्वास्थ्य समस्याहरु भोग्नुपरेको छ ।’

सरसफाईमा ध्यान दिनु

महिनावारीका बेला सरसफाईमा ध्यान नदिँदा आङ खस्ने, पाठेघरको समस्या महिलाहरुमा देखा पर्ने गरेको समेत उहाँले बताउनुभयो ।
 
महिनावारी सरसफाईका विषयमा दूरदराजमा रहेका महिला र उनीहरुका परिवारलाई चेतना जागाउनुपर्ने पनि उहाँले बताउनुभयो । रजस्वलाका विषयमा अझै पनि हाम्रा समाजमा अनेकथरी भ्रमहरु फैलाएको सरोकारवालाहरु वताउँछन् ।
 
रजस्वला हुनु रोग नभई एक स्वाभाविक प्राकृतिक प्रकृया भएकाले यसको सरसफाईमा ध्यान दिनुपर्ने र रजस्वलाका विषयमा निराधार कुराहरु गर्नुको कुनै अर्थ नरहने पनि चिकित्सकहरु बताउँछन् ।
 
महिनावारी हुँदा ध्यान दिनुपर्ने सरसफाईको विषयमा घरका सवै मानिसले थाहा पाउनु आवश्यक छ । पुरुषले पनि यसको व्यवस्थापनमा महिलालाई सहयोग पुर्‍याउनु पर्नेमा सरोकारवालहरु जोड दिन्छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया