संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

 जेठ १५, २०७५ मंगलबार ६:४९:० | रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्वन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

गणतन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।   सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।” 

नेपालीको आर्थिक–सामाजिक रुपान्तरण हुनुपर्छः उपराष्ट्रपति

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गर्नुभएको छ । 

उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ  उहाँले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गर्नुभएको छ ।

समतामूलक समाज  निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।  

उहाँले मंगलबार शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्र दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भनी शुभकामना पनि दिनुभएको छ । रासस

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया