​काठमाडौंको हवाई ट्राफिक कम गर्न काभ्रेमा बन्ला त विमानस्थल ? यस्तो छ यथार्थ

 बैशाख १९, २०७५ बुधबार १३:१५:१० | अर्जुन पोख्रेल
unn.prixa.net

काभ्रेकाे नागीडाँडा

अर्जुन पोख्रेल/कपिल कोइराला ।

काभ्रे, वैशाख १८ – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान र यात्रुको अत्याधिक चाप हुन थालेपछि सरकारले काभ्रेमा आन्तरिक विमानस्थल बनाउने तयारी थालेको छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान र अवतरण हुने साना जहाजका कारण ठूला जहाज उडानको लागि विमानस्थलमा र अवतरणको लागि आकाशमा धेरैबेर पालो पर्खनुपर्ने भएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारी काठमाडौं आसपास आन्तरिक विमानस्थल बनाउन कस्सिनुभएको छ । 

यसअघि पनि धेरैपटक त्रिभुवन विमानस्थलबाट उडान र अवतरण हुने साना जहाजलाई अन्यत्रै सारेमा हवाई ट्रापिक जाम कम हुने भन्दै विमानस्थल बनाउन काभ्रेका विभिन्न ठाउँमा जग्गा हेरिएको थियो । तर विमानस्थल बनाउने काम भने सुरु भएको छैन । 

२०६९ सालमै काभ्रेको धुलिखेल नगरपालिकामा रहेको ठूलीचौरमा आन्तरिक विमानस्थल बनाउन सकिने निष्कर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको थियो । तर पछिल्लो समय ठूलीचौरका बासिन्दाले विमानस्थल बनाउन नदिने भन्दै विरोध गरेपछि वरपरका अरु जग्गा खोजियो ।

मंगलबार पनि संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, काभ्रे क्षेत्र नम्बर २ का सांसद सूचना तथा सञ्चार  राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, सञ्चारकर्मीलगायतको टोलीले काभ्रेका ३ वटा ठाउँको निरीक्षण गरेको छ । 

मन्त्री, राज्यमन्त्री, बनेपा र धुलिखेलका जनप्रतिनिधि लगायतले सबैभन्दा पहिले बनेपा नगरपालिकामा पर्ने नागीडाँडाको निरिक्षण गर्‍यो । नागिडाँडामा पुगेर पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अब चाँडै नै अध्ययन गरेर विमानस्थल बनाउने ठाउँको टुंगो लगाइने बताउनुभयो । 

नागीडाँडा उच्च प्राथमिकतामा 

बनेपा नगरपालिका वडा नम्बर ११ मा रहेको नागीडाँडा बनेपा नपुग्दै जनगालबाट उकालो लागेपछि पुगिने डाँडो हो । जंगलै जंगल भएको नागीडाँडामा धेरै निजी जग्गा छैन, त्यसैले ठूलीचौरको विकल्पमा यो ठाउँ परेको हो । जनगालबाट गाडीमा १० मिनेटमै नागीडाँडा पुगिन्छ । नागीडाँडामा ८ सय मिटर लामो रन वे बनाएमा २० मिटर पहाड काट्नुपर्ने प्रारम्भिक अनुमान छ । यस्तै १२ सय मिटर लामो रन वे का लागि ५० मिटर पहाड काट्नुपर्ने देखिएको छ । 

यस्तै नागीडाँडामा चौडाइ पनि बढाउन मिल्ने देखिएको छ । नागीडाँडामा ३ सय मिटर चौडा बनाउन मिल्ने पर्यटनमन्त्री अधिकारीले जानकारी दिनुभयो । त्यसो भएमा २० वटासम्म जहाज र केही हेलिकप्टर पार्किङ गर्न मिल्ने उहाँले बताउनुभयो । नागीडाँडामा विमानस्थल बनाएमा २० देखि २५ प्रतिशत जग्गाको मात्रै मुआब्जा दिए पुग्ने अनुमान छ । विमानस्थल पुग्न ३ वटा वैकल्पिक सडक पनि छन् । यस्तै नागीडाँडामा विमानस्थल बनाएमा त्यहाँको हवाई ट्राफिकले अन्तलार्ई असर नपर्ने मन्त्री अधिकारीको भनाई छ । 

समुन्द्र सतहबाट १८ सय मिटर उचाइमा रहेको नागीडाँडामा जतिबेला पनि मौसम सफा हुने र स्थानीयबासिन्दाको विरोध नभएकाले उच्च प्राथमिकतामा परेको मन्त्री अधिकारी बताउनुहुन्छ । 

स्थानीय नागरिकले विरोध गर्दै आएको ठूलीचौर

धुलिखेल नगरपालिकाको वडा नम्बर ७ र ९ मा पर्छ ठूलीचौरको डाँडो । धुलिखेल बजारभन्दा माथिको पहाडको टुप्पो ठूलीचौरमा विमानस्थल बनाउन २०६९ सालमै प्रारम्भिक अध्ययन भएको थियो । तर त्यहाँका बासिन्दाले आफ्नो घरबारी जाने र पुरातात्विक र धार्मिक कारणले पनि ठूला संरचना बनाउन नमिल्ने भन्दै विरोध जनाउँदै आएका छन् । ठूलीचौरमा विमानस्थल बनाएमा ११ सय ५० मिटरसम्म लामो रन वे बन्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । यसको लागि ३५ देखि ४० मिटरसम्म पहाड काट्नुपर्ने हुन्छ । 

नागीडाँडामा जस्तै ४२ सिटे जहाज उडान र अवतरणको लागि अहिल्यै केही भन्न नसकिने, तर ट्वीनअटर विमान उडान र अवतरणमा ठुलीचौर उपयुक्त हुने देखिएको छ । ठूलीचौरमा नेपाली सेना ब्यारेक बनाएर बसेको छ, सेनालाई स्थानान्तरण गराउन पनि समस्या देखिएको छ । ठूलीचौरमा ६० देखि ६५ प्रतिशत जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम विकल्प चिसापानी

ठूलीचौरसँग जोडिएको धुलिखेल नगरपालिकाको वडा नम्बर ११ र १२ को सिमाना चिसापानीमा पनि विमानस्थल बन्ने सम्भावना रहेको भन्दै मंगलबार पर्यटन मन्त्रीसहितको टोलीले निरीक्षण गरेको छ । ठूलीचौरमा विमानस्थल नबनेमा नागीडाँडा र चिसापानीमध्ये एउटा ठाउँमा बनाउने योजना छ । त्यसैले चिसापानीमा ठाउँ मात्रै हेरिएको हो । यसको अरु प्रारम्भिक अध्ययन भएको छैन् । 

चर्चा धेरै, काम शून्य

काभ्रेमा यस पटक मात्र होइन, धेरै पटक विमानस्थलको चर्चा चलेको थियो । २०६५ सालमा माओवादीबाट हिसिला यमी पर्यटन मन्त्री हुँदा पाँचखाल र भकुण्डेबेसीमा विमानस्थल निर्माण गर्ने चर्चा चल्यो । तर, स्थानीयबासिन्दाको विरोधका कारण सर्वसम्मत हुन सकेन । 

माओवादीबाटै लाकेन्द्र विष्ट पर्यटन मन्त्री भएको बेलामा पनि बनेपाको नागिडाँडा र धुलिखेलको ठूलीचौरको चर्चा चल्यो र नागीडाँडा र ठूलीचौरमा सम्भाव्यता अध्ययन पनि भयो । अध्ययन भएको पनि ६ वर्ष बित्न लाग्यो । तर दुवै स्थानमा भौतिक प्रगति भने शून्य छ । 

जब सरकार परिवर्तन हुन्छ, पर्यटन मन्त्री परिवर्तन हुन्छ, तब विमानस्थलको चर्चा आउने गर्छ । पर्यटनमन्त्री पुरानो हुँदै जान्छन्, अनि चर्चा हराउँछ । प्रत्येक जसो पर्यटनमन्त्री नियुक्त भएपछि त्रिभुवन विमानस्थलको ट्राफिक चाप हटाउन काभ्रेमा विमानस्थल निर्माणको चर्चा गरिन्छ । तर मन्त्रीको कार्यकाल सक्किँदासम्म कार्यप्रगति भने शून्य नै हुन्छ । अहिलेसम्म काभ्रेको कुन ठाउँमा विमानस्थल निर्माण गर्ने भनेर टुंगोसमेत लगाउन सकिएको छैन । 

चर्चा चलेको चिसापानीमा पनि एमालेका आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा ५० लाख रुपैयाँ रकम छुटियो । त्यो रकमले के भयो थाहा छैन । यस पटक पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीले पक्कै विमानस्थल बनाउने काभ्रेलीले अपेक्षा गरेका छन् । काभ्रेमा विमानस्थल निर्माणको चर्चा ६ वर्षदेखि चलेको भए पनि आजसम्म टुङ्गो लाग्न नसकेकोमा अवलोकनमा सहभागी सूचना तथा सञ्चार राज्यमन्त्री बाँस्कोटाले दुखेसो पोख्नुभयो । 

वैकल्पिक विमानस्थलको आवश्यकता

अहिले त्रिभुवन विमानस्थलमा दैनिक सरदर ४ सय उडान हुन्छन् । अन्तर्राष्ट्रियतर्फ ३० वटा विमान कम्पनीले उडान र अवतरण गर्छन । यस्तै आन्तरिकतर्फ १० वटा विमान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीले उडान भर्छन । त्रिभुवन विमानस्थलमा धेरै उडान र अवतरण हुँदा  केही जहाजले पालो नै नपाएर आकाशमै फन्को लगाइरहनु पर्ने हुन्छ । आकाशमा फन्को लगाउँदा दुघर्टनाको डर त छ नै, विमानभित्रका यात्रु आत्तिने र मानसिक रुपमा निकै कमजोर हुने गुनासो पनि बढ्दैछ । 

हिजोआज त विमान कम्पनीले तोकेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उड्नु अपवाद जस्तै भएको छ । त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्य टर्मिनलमा यात्रुले टुसुक्क बस्न पनि कुर्सी नपाउने अवस्था छ । काठमाडौंको यो भीडलाई कम गर्न काभ्रेमा विमानस्थलको खाँचो देखिएको छ ।

काठमाडौंमा उडान र अवतरण गर्ने एउटा १७ सिटे जहाजका कारण ३ सय यात्रु बोकेका ठुला जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ । त्यसैले काठमाडौंमा उडान र अवतरण गर्ने साना जहाजलाई काभ्रेमा सार्न सकिएमा त्रिभुवन विमानस्थलको हवाई ट्राफिक कम हुनेछ । त्यसैले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन पर्यटनमन्त्री अधिकारी दौडधुप गरिरहनुभएको छ । 

‘काठमाडौंबाट उडान र अवतरण गर्ने २० प्रतिशत साना विमानलाई काभ्रेमा सार्न सकियो भने काठमाडौंको आकाशमा धेरैबेर जहाज होल्ड गर्नुपर्ने अवस्था हट्नेछ’, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भन्नुभयो, ‘भैरहवा, पोखरा र निजगढमा पनि विमानस्थल बन्दैछन् किन काभ्रेमा बनाउनुप¥यो भन्ने प्रश्न पनि आउला, तर काठमाडौंको एअर ट्राफिक दीर्घकालीन समस्या हो, त्यसैले काभ्रेमा विमानस्थल बनाउनुपरेको हो ।’

अन्तिम अपडेट: चैत १२, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया