बन्दुक पड्काएर भनियो : अब यार्चा खोज

 जेठ १६, २०७५ बुधबार २०:१४:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम, जेठ १६ – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ र २ मा पाइने बहुमूल्य जडिबुटी यार्चागुम्बा टिप्न सुरु भएको छ ।

 

यार्चा सिजन व्यवस्थापन समितिका अनुसार, मंगलबारबाट खुला गरिएको यार्चा टिप्न झण्डै तीन हजारको संख्यामा सर्वसाधारण पुगेका छन् । सिजन व्यवस्थापन समितिले भरुवा बन्दुक पड्काएर यार्चा खोज्न बुकी पुगेकाहरुलाई ‘यार्चा खोज्न सुरु गर’ भन्ने संकेत दिएको थियो । त्यही संकेतका आधारमा सर्वसाधारणले यार्चा खोज्न थालेका हुन् ।

गाउँ बाहिरबाट यार्चा खोज्न पुगेका ६ सय सर्वसाधारणले यार्चा खोज्ने रसिद समितिबाट लिएका छन् भने २ हजारभन्दा बढी स्थानीयहरु पनि यार्चा खोज्न बुकी उक्लिएको समितिका उपाध्यक्ष जीवन रोकाले जानकारी दिनुभयो ।

स्थानीयलाइ यार्चा खोज्न शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ नम्बर वडाको पूपाल, अरविजा, जंगला, पूर्वाङ, भित्री वन, उङला, निम्कु, पानीढल, फूलवारी लगायतका ठाउँमा यार्चा पाइन्छ ।

यार्चा टिप्नका लागि यो वर्ष अलि ढिला बुकी खुला गरिएको हो । जेठ पहिलो सातामै बुकी खुला गर्ने भनिए पनि हिमपात नरोकिएपछि मंगलबार मात्रै बुकी खुला गरिएको व्यवस्थापन समितिले जनाएको छ । 

यार्चा व्यापारी आउन थाले

यार्चा संकलनका लागि व्यापारीहरु बुकी आउने क्रम सुरु भएको छ । समितिले व्यापारीका लागि १७ गते बेलुकी ५ बजेसम्म रसिद काट्ने समय तोकेको छ । त्यसैले कति जना व्यापारीले समितिबाट संकलन पूर्जी लिने हुन् भन्ने कुरा पछि नै प्रष्ट हुने समितिले जनाएको छ ।

समितिले यस वर्ष यार्चा खोज्ने गाउँ भन्दा बाहिरका सर्वसाधारणबाट एक हजार ५ सय रुपैयाँ शुल्क लिएको छ भने स्थानीय व्यापारीबाट १५ र बाहिरबाट यार्चा संकलन गर्न आउने व्यापारीबाट ३० हजार शुल्क लिने निर्णय गरेको छ ।

यो वर्ष कति मूल्यमा यार्चा बिक्री गर्ने भन्ने तय भैसकेको छैन । स्थानीय भरतकुमार पुनका अनुसार गएको वर्ष प्रति यार्चा ५ सयमा बिक्री भएको थियो । यार्चा स्थानीय र बाहिरबाट खोज्न जानेहरुको आम्दानीको मुख्य स्रोत हो । यार्चा खोज्ने एक जनाले ३० हजारदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यार्चाको चोरी निकासी हुन नदिन प्रहरीसहित ६ सय स्थानीय युवालाई सुरक्षाको लागि तैनाथ राखेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया