​प्रदेश एकमा सबैभन्दा कम बजेट तेह्रथुमलाई

 जेठ १७, २०७५ बिहिबार ७:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम, जेठ १७ – सरकारले छुट्याएको बजेटमा प्रदेश नं. १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्ला तेह्रथुम परेकोे छ । सबैभन्दा बढी बजेट मोरङ जिल्लाका लागि छुट्याइएको छ ।

तेह्रथुमका लागि १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ विनियोजन भएको छ । मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भए अनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी २७ करोड ४७ लाख रुपैयाँ र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम १२ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ्ग नगरपालिकाका लागि २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा २१ करोड २७ लाख, छथर गाउँपालिकामा २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा २० करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश नं. १ का जिल्लामध्ये ताप्लेजुङका लागि १ अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा १ अर्ब ९० करोड २८ लाख, इलाममा २ अर्ब ४८ करोड ९३ लाख, झापामा ४ अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि २ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी धनकुटाका लागि १ अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा १ अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा ३ अर्ब ९५ करोड ९२ लाख र मोरङमा ५ अर्ब ३० करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश नं १ कै सोलुखुम्बुमा १ अर्ब ६१ करोड ९८ लाख, खोटाङमा २ अर्ब २७ करोड २९ लाख, उदयपुरमा २ अर्ब ४३ करोड ३ लाख, ओखलढुंगामा १ अर्ब ७२ करोड २५ रुपैयाँ विनियोजन भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया