जनकपुरमा मोदीलाई स्वागत र अभिनन्दन गर्न यसरी हुँदैछ तयारी (फोटो फिचर)

 बैशाख २१, २०७५ शुक्रबार ९:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

शैलेन्द्र महतो/उज्यालो । 

धनुषा, वैशाख २१ – जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न धमाधम तयारीका काम भइरहेको छ । 

आउँदो वैशाख २८ गते हुने मोदीको भ्रमणमा उहाँलाई स्वागत एवं  अभिनन्दन गर्न ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा मञ्च व्यवस्थापनदेखि जानकी मन्दिरमा पूजाअर्चनाका लागि तीव्र तयारी थालिएको छ ।

प्रदेश नं. २ सरकार र जनकपुर उपमहानगरपालिका विभिन्न समिति र उपसमिति गठन गरी तयारीमा जुटेका छन् भने जानकी मन्दिर व्यवस्थापन पक्ष जानकी मन्दिरमा मोदीको स्वागत र उहाँले गर्ने पूजाअर्चनाका लागि विशेष व्यवस्थापनमा लागेको छ । 

मोदी हिँड्ने बाटो मर्मत सम्भार एवं निर्माणको काम, सरसफाईको काम द्रुत गतिमा अघि बढेको छ । सुरक्षा निकायले पनि जनकपुरको सुरक्षा व्यवस्था कडा गरेको छ । भारतको पटनाबाट भारतीय सेनाको हेलिकप्टरबाट सीधै जनकपुर विमानस्थलमा अवतरण गरी जानकी मन्दिरमा आधा घण्टादेखि ४५ मिनेटसम्म पूजाअर्चना, तत्पश्चात जनकपुरको एतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर सम्बोधन गर्ने तालिका छ ।

उहाँलाई जनकपुर उपमहानगरपालिकाले स्वागतसँगै नागरिक अभिनन्दन गर्ने गरी तयारी थालेको छ । मोदीको स्वागतका लागि ठाउँ ठाउँमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले स्वागत गेट निर्माण गर्ने छ । यसको अलावा अन्य सरकारी निकाय अथवा संघ संस्थाले पनि स्वागत गेट निर्माण गर्ने उपमेयर रीता झाले जानकारी दिनुभयो । 

तयारीका लागि प्रदेश २ सरकारको ६ समिति 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्न कुनै कसर बाँकी नराख्न प्रदेश नं. २ सरकारले ६ वटा र जनकपुर उपमहानगरपालिकाले ३ वटा छुट्टाछुट्टै समिति गठन गरेर काम थालेको छ । 

प्रदेश सरकारले मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा मुल समारोह समिति, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा मञ्च व्यवस्थापन समिति, कृषिमन्त्री शैलेन्द्र साहको नेतृत्वमा जनपरिचालन समिति, उद्योग पर्यटनमन्त्री रामनरेश रायको संयोजकत्वमा प्रचारप्रसार समिति, अर्थमन्त्री विजय यादवको संयोजकत्वमा अर्थ समिति र गृहमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा सुरक्षा समिति गठन गरेको छ । सबै समितिहरुले आफ्नो जिम्मेवारी अनुकुल दिनरात काममा लागि परेको कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभयो ।
 
यस्तै जनकपुर उपमहानगरपालिकाले मेयर लालकिशोर साह संयोजकत्वमा २५१ सदस्य अभिनन्दन समिति, उपमेयर रीता झाको अध्यक्षतामा सौन्दर्यकरण समिति र वडा नं. १३ का अध्यक्ष शुभनारायण मण्डलको अध्यक्षतामा सरसफाई समिति गठन गरेर काममा भिडेको छ ।  

मोदीलाई स्वागत गर्न मुख्यमन्त्रीदेखि मन्त्रीसम्म झाडु लिएर सडकमा 

सँधैभरि फोहोर र कुरुपदेखि जनकपुरदेखि जानकी मन्दिरसम्मको सडक र सडकपेटी अहिले चिटिक्क देखिएको छ । मोदीलाई स्वागत गर्न बिहीबार नै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलगायत अधिकांश मन्त्रीहरु झाडु लिएर जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्मको बाटो सफा गरेका छन् ।

त्यस क्रममा धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित राजपाका नेता राजेन्द्र महतोलगायत स्थानीय प्रहरी प्रशासन र नागरिक समाज पनि सहभागी भएका छन् । 

विमानस्थलदेखि रामानन्दचोकसम्मको सडक कालोपत्रे हुँदै 

मोदीलाई जनकपुर विमानस्थलदेखि जानकी मन्दिर र बाह्रबिघा रंगभूमि मैदानसम्म सहज आगमनको लागि त्यस सडकलाई मर्मसम्भार र कालोपत्रे गरिनेछ ।

एडीबी परियोजना अन्तर्गत निर्माण भइरहेको सडकलाई परियोजनाले र बाँकी जानकी मन्दिरदेखि रामानन्दचोकसम्म जनकपुर उपमहानगरपालिकाले तत्कालै कालोपत्रे गर्ने उपमेयर रीता झाले बताउनुभयो । 

जानकी मन्दिरमा विशेष पूजाअर्चनाको व्यवस्था 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएलगत्तै सबभन्दा पहिला दर्शन र पूजा अर्चनाका लागि जानकी मन्दिर पुग्नु हुनेछ । मन्दिरमा मोदीले ३० देखि ४५ मिनेटसम्म विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । जसको लागि जानकी मन्दिर व्यवस्थापन पक्ष तयारीमा जुटेको छ ।

मन्दिरमा मोदीको भव्य स्वागत र उहाँले मन्दिरमा गर्ने विशेष पूजापाठको लागि धमाधम तयारी भइरहेको मन्दिरका सह–महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो । मोदीको भ्रमण हुने समय कम रहेकाले मन्दिरको पेन्ट उडेको अथवा खल्लो भएको स्थानमा रंगरोगन गर्ने र सजाउने काम हुने जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झाले बताउनुभयो । 

बाह्रबिघा मैदानमा मोदीको अभिनन्दन र सम्बोधन 

सँधैभरि फोहोर फाल्ने डम्पिङ साइट र खाल्डाखुल्डीले कुरुप देखिने ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा मोदीको भव्य अभिनन्दन र सम्बोधन हुने भएपछि अहिले व्यवस्थापनको लागि दिनरात काम भइरहेको छ ।

बाह्रबिघा मैदानको फोहोर सफा गर्ने, खाडलमा माटो हालेर पुर्ने र सम्याउने, मञ्च र गेट निर्माण गर्ने काममा प्रदेश सरकार लागेको छ । मैदानको पर्खालका भित्ताहरु केशरिया रंगले रंग्याउने काम भने जनकपुर उपमहानगरपालिकाले गरिरहेको छ । 

पर्खालमा मिथिला चित्रकला, आउने रुटको सबै घरमा एकै रंग 

मोदीलाई स्वागतका लागि सडक छेउका पर्खालका भित्ताहरुमा मिथिलाको पहिचान र रामायणको झझल्को दिने मिथिला चित्रकला कोरिदै छ । जनकपुृर उपमहानगरपालिकाले भक्तपुरबाट ९ जना चित्रकला कलाकार बोलाएर जानकी मन्दिर प्रांगण पर्खालाको भित्ता, विपाह मण्डप पर्खालको भित्ता र बाह्रबिघा मैदानको उत्तरतर्फ गेटनजिकैको पर्खाल भित्तामा मिथिला चित्रकला पेन्टिङ गर्न लगाएका छन् ।  


 
त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्मको सडक मर्मत र कालोपत्रे गर्ने गरी काम भइरहेको उपमेयर रीता झाले बताउनुभयो । यस्तै सौन्दर्यकरणको लागि सडकको दुवैतर्फको निजी घरहरुलाई पनि एउटै रंग केशरियाले रंग्याउने योजना रहेको उहाँको भनाई छ । 

भारतीय सुरक्षा अधिकारीको जनकपुरको सुरक्षा अवस्थाप्रति चासो 

मोदीको जनकपुर भ्रमण निश्चित भएपछि सुरक्षाको दृष्टिगत गर्दै भारतीय सुरक्षा अधिकारीले नियमित रुपमा जनकपुरको सुरक्षा अवस्थाको विषयमा जानकारी लिने गरेका छन् ।


 
गएको बुधबार मात्र नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको नेतृत्वमा भारतीय सुरक्षा निकायका एक टोलीले ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा र जानकी मन्दिर र जनकपुरको अन्य स्थानको सुरक्षा अवस्थाको विषयमा निरीक्षण गरेका छन् । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, जनकपुर उपमहानगरपालिकाका मेयर, सुरक्षा निकायका प्रतिनिधिहरुसंग छलफल गरेका छन् । 

साथै मञ्च निर्माण ,हेलिप्याड , प्रवेशद्धार निर्माण गायतको विषयमा सुझाव दिएको थियो । त्यस क्रममा बाह्रबिघा मैदानमा मोदी चढेको हेलिकप्टर अवतरण गर्न सक्ने वा नसक्ने विषयमा भारतीय सेनाको एक हेलिकप्टरले पूर्व अभ्यास गरिएको छ ।

सुरक्षा व्यवस्थामा कडाई 

मोदीको जनकपुर भ्रमण तय भएसँगै जनकपुर लगायत धनुषा जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार जिल्लाको विभिन्न स्थानहरुमा सुरक्षा चेकजाँच बढाइएको छ । बाहिरका अपरिचित अनुहारलाई विशेष सोधपुछ एवं अनुसन्धान गर्ने गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया