निर्देशक विशाल भारद्वाजले प्रियंका चोपडालाई लिएर अर्काे फिल्म बनाउने

 भदौ १४, २०७५ बिहिबार १९:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक विशाल भारद्वाज अभिनेत्री प्रियंका चोपडालाई लिएर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् ।

भारद्वाजले उनको आउँदै गरेको फिल्म ‘पटाखा’ को प्रमोशनको एक कार्यक्रममा अभिनेत्री प्रियंकाको साथमा एक अर्को फिल्ममा समेत काम गर्ने बताएका हुन । 

उनले यस फिल्मको लागि अहिले प्रियंकाको साथमा विषयवस्तु तथा कथामा काम भइरहेको र यस फिल्मको छायाँकन अर्को वर्षबाट सुरु गर्ने बताएका छन् । 

खबरहरुका अनुसार विशाल भारद्वाज विलियम शेक्सपियरको नाटक ‘ट्वेल्भ्थ नाइट’ मा आधारित फिल्म बनाउन चाहिरहेका छन् । 

उनले यस फिल्मको कथावस्तुको विषयमा प्रियंकासँग छलफल भइरहेको पनि बताएका छन् ।  निर्देशक भारद्वाजले यसअघि फिल्म ‘सात खून माफ’ र ‘कमिने’ मा प्रियंकासँग काम गरिसकेका छन् ।

विशाल भारद्वाज अहिले फिल्म ‘पटाखा’ को प्रमोशनमा व्यस्त रहेका छन् । यस फिल्ममा सुनील ग्रोवर, सान्या मल्होत्रा, राधिका मदान र विजय राज मुख्य भूमिकामा छन् । यो फिल्म २०१८ को सेप्टेम्बर २८ मा प्रदर्शन हुनेछ । 

अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक जोनासका साथ इन्गेजमेन्टका कारण चर्चामा छिन् । 

प्रियंकाले इन्गेजमेन्टकै लागि सलमान खानसँगको फिल्म ‘भारत’ छोडेकी थिइन् । उनी अहिले फिल्म ‘स्काइ इज पिंक’ मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरिरहेकी छिन् । 

यस फिल्ममा प्रियंकासँग अभिनेता फरहान अख्तर रहेका छन् भने जायरा वसिम  प्रियंका र फरहानको छोरीको भूमिकामा देखिनेछिन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया