काठमाडौंको यी ठाउँमा हुनुहुन्छ? फ्री वाइफाइकाे मज्जा लिनुहाेस्

 भदौ १७, २०७५ आइतबार १४:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौंको हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्री वाइफाइ सेवा सुरु गरिएको छ । 

काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्री वाइफाइ सेवा सुरु गरेको हो ।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धी अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गर्नुभयो ।

उहाँले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराउनुभयो ।

सो सेवालाई शुभारम्भ गर्न काठमाडाैं महानगरपालिका र वर्ल्ड लिंंकबीच गएकाे चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परिक्षण गरेपछि मात्रै  सेवाको औंपचारिक उद्घाटन गरिएको  पनि मेयर शाक्यले जानकारी दिनुभयो ।

सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । वर्ल्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाइफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाइफाइ कनेक्ट हुने व्यवस्था गरिएको छ ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाइफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Bhim cheetri

    Sept. 2, 2018, 2:42 p.m.

    जब काठमाडौं मा मात्रै दिने हो भने अरु ठाउँको मान्छे नै होई भन न तेसो भय 😈😈 नेता हेर्ने भने को अलि बिकास भयको ठाउमा हो गाउँ घर मा तेस्तै हो

  •  0 Reply

तपाईको प्रतिक्रिया