पञ्चपुरुषलाई ह्विस्की ‘सर्भ’ गरेर नगरकोटीको ‘ज्ञ’ विमोचन

 जेठ १९, २०७५ शनिबार १८:५९:३३ | उपेन्द्रराज पाण्डेय

काठमाडौं – सामान्यतयाः हिन्दू परम्परामा शुभ कार्यको सुरुवात पञ्चकन्याको हातबाट हुने गर्दछ । तर काठमाडौंमा भएको एउटा कार्यक्रममा पञ्चपुरुषको हातबाट शुभकार्यको सुरुवात भयो । तर एकै पटक होइन, पालैपालो गरी पञ्चपुरुषहरु स्टेजमा उपस्थित भए । 

‘रहस्यको गोब्रेकिराले मेरो मगजलाई कुटुकुटु खाइरहेको छ । मेरो खोपडीमा ब्ल्याक ज्ञ भाइरल भएको छ । ज्ञ पेज नम्बर १४५ ।’ पञ्चपुरुषमध्येका एक, सञ्चारकर्मी तथा लेखक राजकुमार बानिया आएर यी लाइन वाचन गरेर गए । त्यसपछि मञ्चमा उक्लिए पञ्चपुरुषमध्येका अर्का व्यक्ति रंगकर्मी घिमिरे युवराज । 

‘मिस ताम्राकार ! तिमी बोल्ड एन्ड ब्युटिफुल मोडल हौ । तिम्रो न्युडिटीलाई एक्सपोज गर्ने नभई बरु त्यसलाई कलरफुल र भाइब्रेन्ट बनाउने मेरो इच्छा हो । तिम्रो गुप्त नग्नतालाई अलिकति कलात्मक इलुजनले शृङ्गार गर्ने हो । तिम्रो न्युड बडीलाई ब्राउन पेन्ट रङ्ग्याउने हो । डोन्ट से नो, प्लिज ! ज्ञ पेज नम्बर ११९ ।’

घिमिरे युवराज यति वाचन गरेर राजकुमारलाई साथ दिन गए । 

त्यसपछि पालो आयो पञ्चपुरुषमध्येकै एक राजन गोदार । ‘LIFE IS AN ANTHOLOGY OF SHORT STORIES WRITTEN BY DEATH, LIFE IS A NOVEL AUTHORIZED BY DIFFERENT DREAMS.  ज्ञ पेज नम्बर १४२ ।’ 

अंग्रेजीका यी पंक्ति वाचन गरेसँगै राजन पनि राजकुमार र युवराज बसेकै टेबलमा पुगे  ।

‘अस्तित्वमा दुइटा ब्रह्माण्ड छन् । एउटा स्थूल ब्रह्माण्ड । अर्को सूक्ष्म ब्रह्माण्ड । स्थूल ब्रह्माण्डमा तिम्रौ भौतिक संसार छ । सूक्ष्म ब्रह्माण्डमा तिम्रो चेतनाको संसार छ । तिमीले मलाई आफ्नो सूक्ष्म ब्रह्माण्डमा स्वागत गर्यौ । म धन्य भएँ । म अब आफ्नै ब्रह्माण्ड भ्रमण गर्न जान्छु । अलविदा माई फ्रेन्ड !’ 

एकवर्षअघि ‘पैताला’ उपन्यासबाट नेपाली आख्यान क्षेत्रमा उदाएका गणेश पौडेल पोडियममा यी पंक्ति वाचन गरी पञ्चपुरुषको टेबलमा पुगे । 

पञ्चपुरुषमध्येका अन्तिम पुरुष भएर आए उपन्यासकार तथा कवि विप्लव प्रतीक । 

‘विवाह गर्ने मानिसले एकान्त खोज्नु हुँदैन । एकान्त मन पराउने मानिसले विवाह रोज्नु हुँदैन किनभने विवाह र एकान्त कहिल्यै साथसाथ बस्दैनन् । ज्ञ पेज नम्बर १७ ।’ कवि विप्लव प्रतीक पनि पुगेपछि टेबल पञ्चपुरुषले भरियो । 

त्यसपछि एक व्यक्ति खर्पन बोकेर स्टेजमा उक्लिए ।  खर्पनको एकातिर ह्विस्की थियो भने अर्कोतिर कुमार नगरकोटीको विमोचन हुन लागेको उपन्यासिका ‘ज्ञ’ । त्यसपछि खर्पनबाट ह्विस्की निकालियो । फिक्सन डिजाइनरका नामले समेत चिनिने लेखक कुमार नगरकोटीले ह्विस्कीको बिर्को खोले ।  स्टेजमा बसेका पञ्चपुरुषलाई ह्विस्कीको एक–एक पेग सर्भ गरियो । यो सबै भैसकेपछि मात्रै पालो आयो नगरकोटीको पुस्तकको विमोचन गर्ने समय । लेखक सगुना शाहले पुस्तकको विमोचन गरिन् । 

शनिबार कुमार नगरकोटीको पुस्तक विमोचन फरक र रमाइलो तरिकाले विमोचित भयो । विमोचन कार्यक्रममा लेखक कुमार नगरकोटीले पुस्तकका केही हरफहरु वाचन गर्नुका साथै केही कविता वाचन तथा गीत गाउँदै विमोचन कार्यक्रमको रौनक बढाए । 

नगरकोटीका ‘मोक्षान्तः काठमाडौं फिभर’, ‘फोसिल’, ‘मिस्टिका’, ‘अक्षरगञ्ज’ र ‘दोचा’ नामक कृति यसअघि नै प्रकाशित छन् । 

१७३ पृष्ठ रहेको नगरकोटीको ‘ज्ञ’ को मूल्य ४०० रुपैयाँ तोकिएको छ । यसलाई बुक–हिल  पब्लिकेसनले बजारमा ल्याएको हो ।

अन्तिम अपडेट: चैत २६, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया