साफ च्याम्पियनशिप: अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

 भदौ १९, २०७५ मंगलबार १७:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

उपाधि जित्ने लक्ष्यसहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोलीलाई पहिलो गासमै ढुंगा लागेको छ ।

अतिरिक्त समयमा नेपालली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानलाई २–१ को नजिता सुम्पिन बाध्य भयो । बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो ।

३५औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको हो । पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२औं मिनेट कुर्नुपरेको थियो ।

८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तीमगरले नेपालका लागि बराबरी गोल गरेका थिए । निराजन नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान आएका हुन् ।

तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजित हुन पुग्यो । पाकिस्तानका लागि मोहम्मद अलीले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे ।

निर्धारित समयभरि नेपालले आज एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो । नेपालले अब पर्सि भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया