बा, बाटो र विप्लव

 भदौ २४, २०७५ आइतवार १४:४:५९ | लक्ष्मण कार्की
unn.prixa.net

 एउटा चोर औँला थियो
 जसलाई म समातेर ताते गर्थेँ
 जसले मलाई कहिले चोरबाटो देखाएन
 त्यो औँला बाको थियो । 

त्यही औँलाको विश्वासमा मैले 
संघार नाघेको छु, कैयन् जंघार तरेको छु । 

एउटा बज्र जस्तो छाती थियो, 
जसको आडमा म निश्चिन्त हुन्थेँ, 
जुन मेरा लागि फूलभन्दा नरम थियो 
त्यो छाती बाको थियो ।

त्यही महसुसको आधारमा मैले 
आँधी सहेको छु, पहिरो छिचोलेको छु । 

आज त्यो औँला र छातीको अभावमा 
मन एक तमासको भएको छ, 
ती अँध्यारा गुफामा हराएका समय सम्झेर 
एकोहोरो टोलाईरहेछ मन । 

संसारको सबभन्दा सुन्दर फूलबारीमा 
इन्द्रेणीको सिमसिम वर्षा भइरहेको यस क्षण 
मलाई सब फिक्काफिक्का लागिरहेछ, 
बा, मलाई तपाईँको सम्झना बडो जोडले आइरहेछ । 

तपाईँ हो, जसले ममा नौला विचारका बीउ रोपिदिएको 
तपाईँ नै त हो, जसले हिम्मतको हतियार मेरो हातमा राखिदिएको 

भन्नुहुन्थ्यो– सब ग्रन्थ फिक्का प्रेमग्रन्थ सामु 
भन्नुहुन्थ्यो– गन्तव्यको छैन महत्व यात्राका सामु 

म आज जीवनको रस बडो प्रेमले पिइरहँदा 
लागिरहेको छ, तपाईँ गएको होइन 
हुनुहुन्छ यतै कतै– बतास बनेर, सुवास बनेर, प्रकाश बनेर, 

बा, म रहुञ्जेल तपाईँ रहनुहुनेछ, 
संसारमा बाहरु हुञ्जेल तपाईँ हुनुहुनेछ । 

बाका बारेमा उनले लेखेको कविता । जुन, बा बित्नासाथ बाको सम्झनामा भावविह्वल बनेर आँसु झार्दै झार्दै वा बाको मुख हेर्ने दिन कविताबाटै बालाई श्रद्धाञ्जली दिउँ न त भनेर लेखिएको होइन । अरु कसैले बाको बारेमा गतिला कविता लेखेनन्, म पो लेख्नुपर्‍याे भनेर कस्सिएर पनि लेखेका होइनन् । किनकी उनकै कुराअनुसार उनी कुनै पनि ‘थिम’मा कविता लेख्दैनन् । 

बा बितेको दुई दशक नाघे पनि धेरै पछि मात्र बाका बारेमा उनले यो कविता लेखे । ‘शायद बा र उहाँको सम्झनाले मलाई लखेटिरहेको थियो, वर्षौंपछि कविता बनेर आयो’ उनी थप्छन्, ‘म जुन परिचयमा उभिएको छु, यो बन्न बाको जति योगदान कसैको छैन ।’ 

भावमा चुर्लुम्मै डुबेर कविता प्रस्तुत गर्ने कविका रुपमा परिचय बनाएका उनी अर्थात विप्लव प्रतीकको अनुहार यो कविता सुनाइसक्दा केही रातो भयो । उनले थपे, ‘बासँग धेरै वर्ष बिताउन नपाए पनि उहाँको एकदमै गहिरो छाप मसँग छ, मलाई घरिघरि उहाँको मृत्युको कारण मै पो थिएँ कि भन्ने सोच पनि आउँछ । हुनलाई त्यो सत्य होइन तर त्यस्तो सोच आउने गर्छ ।’

किन विशेष लाग्छन् विप्लवलाई आफ्ना बा ?

मेरो सन्तान यो बनिदेओस् भनेर बाआमाले चाहँदैमा छोराछोरी त्यो बन्ने होइनन् । तर यस्तो बने हुन्थ्यो भन्ने आशा र अपेक्षा बा–आमाका हुन्छन् नै । अझ कतिपयले त जबर्जस्ती गरेरै आफूले चाहेको बनाइछोड्ने निरंकुश शैली अपनाउँछन् । कतिपयले त के पनि भन्छन् भने अभिभावकहरु आफू बन्न नसकेको वा आफूले पूरा गर्न नसकेको सपना सन्तानले पूरा गरिदिउन् भन्ने चाहन्छन् रे । 

विप्लवका बाको पनि छोरो यस्तो बनिदेओस् भन्ने चाहना थियो, तर अचम्म जस्तो लाग्ने खालको । छोराछोरी डाक्टर, इञ्जिनियर, पाइलट वा उच्च ओहोदाको सरकारी कर्मचारी बनिदेओस भन्ने मान्यताले ग्रस्त परिवेशमा पनि बा चाहिँ छोरो कवि बनोस् भन्ने चाहन्थे । 

‘त्यस्तो परिवेशमा छोरो कवि बनोस भन्ने बुबाको सपना अहिले सम्झँदा रोचक लाग्छ’, विप्लव भन्छन् । यो देशमा क्रान्ति गर्ने मानिस हुन्छ र यसको कलम आम मानिसको हितमा उपयोग हुनेछ भनेर बाले दरबारकी केटी भन्ने कथा संग्रहमा विप्लवप्रति समर्पण नै गरेका छन् । 

तर बालाई कविता देखाउने ह्याउ नै भएन  

बा कविता लेख्न विप्लवलाई दबाब दिइरहन्थे, विप्लव भने भागिरहन्थे । ‘कविता लेख्नुपर्छ भनेर म बासँग भागिरहेँ, विप्लवले सम्झिए । अलि पछि उनी कविता लेख्न थाले, तर बालाई भने खासै देखाएनन् । किन त ? ‘शायद बाका अघिल्तिर कविता सुनाउने वा देखाउने ह्याउ भएन’ अहिले सम्झिँदा उनलाई यस्तो लाग्छ । 

त्यसैले छोरो कवि भएको देखेर मर्ने बाको सपना पूरा हुन सकेन । तर बा बितेपछि विप्लव कवि मात्र होइन, एक लोभलाग्दा र धेरैको मन जित्ने कवि भएर निस्किए । एउटा विरोधाभाष जस्तै भयो । सम्झँदा अहिलेपनि थकथकी लाग्दो हो उनलाई । हुनपनि सवैजसो कविता सुन्नेहरुबाट सुनिसकेपछि आहा....., कस्तो दमदा...., क्या गजब...., वाह......, जस्ता प्रतिकृया पाउने विप्लबका कविता सुनेपछि बाले पनि पक्कै उनको काँध थप्थपाउने थिए । अथवा अरुलाई भन्ने थिए,‘ .........त्यो लोभलाग्दा कविता लेख्ने विप्लब प्रतीक छ नि उ मेरो छोरो हो, अनि छाती चौडा पार्दै थप्ने थिए त्यसलाई कवि मैले बनाएको हुँ ।’ 

तर, ...... तर यो सवै केवल कल्पनाको कुरा मात्र हो । विप्लवले बालाई आफ्ना कविता देखाउँदै देखाएनन् । यो अवसय यसै खेर गयो भनौं । 

कारण यतिमात्र होइन बालाई सम्झने

बालाई सम्झिनुपर्ने कारण यति मै सकिंदैन विप्लव प्रतीकका लागि । ‘उहाँले मलाई कुनै कुरामा रोकतोक गर्नुभएन, तिम्रो जीवन तिम्रो हो, आफ्नो जीवनको निर्णय आफैं गर, आफ्नो तरिकाले बाँच भन्नुहुन्थ्यो, धेरैलाई सुन्दै डाहा लाग्नेगरी’ विप्लवले बालाई सम्झिए । 

‘मन लाग्छ भने चुरोट खाउ वा जाँड तिम्रो खुशी’ भन्ने बा कहाँ पाइन्छ ? सामान्यतया केटाकेटीका लागि डर र यातनाका बिम्बका रुपमा देखाइने बाले नै आफ्नो खुशी गर भनेपछि के चाहियो र ?  

१५ वर्षको हुँदा एउटा बिहे पाटीमा गएका विप्लवले रक्सी खाएछन् । पहिलोपल्ट मुखमा हालेको रक्सीको रनाहाले रन्थनाउने नै भयो । भाँचिएको रुख जस्तै भएर घर पुगेपछि बाले आफ्नो त्यसअघिको भनाईमा अलिकति संशोधन गरे र भनेछन् ‘तँ आफूलाई लागेको कुरा गर्न स्वतन्त्र त छस्, तर तैंले आफैंले नकमाउँदासम्म मेरो पैसाले मदिरा र चुरोट खान चाहिँ पाउँदैनस, आफैं कमाएर खानु ।’

उनी केही खिस्रिक्क परे । तर खाने मुखलाई जुँगाले किन छेक्थ्यो र ? रक्सीको रंगमञ्चमा ‘डेब्यू’ गरेको केही समयमै उनले महिनाको २२ सय रुपैयाँ पाउने ‘स्वादिलो’ जागिर पाए । 

त्यसपछि उनले रक्सीका लागि बाको पैसा खर्च गर्नै परेन । बाले भनेकै थिए, ‘आफैं कमाएर खानु ।’
विप्लवका बा हुन् कृष्णप्रसाद सर्वहारा ।

समाजले माथिल्लो भनेर पगरी गुथाइदिएको समुदायमा जन्मे पनि मानिस कुनै जात वा समुदायको हुँदैन भनेर उनले थर मिल्काएर सर्वहारा राखे । तर उनले आफ्नो त्यो पछिल्लो नाम छोरालाई पनि दिएनन् र नयाँ नाम मात्र राखिदिए, ‘विप्लव’ । जसमा प्रतीक थपेर उनले नागरिकता लिए नागरिकता दिन टोलमै आएको सरकारी टोलीसँग । अब ‘प्रतीक’ नै उनको थर बन्यो ।

‘मानिसको थर वा जात महिला र पुरुष मात्र हुन्छ भन्ने बाको मान्यता थियो । त्यहि भएर शायद बालाई आफ्नो पुरानो थरमा मानिस मानिस ठुलो र सानो देखाउने विभेद विझायो होला, विप्लव सम्झन्छन्, बाँकी कुनै जात छैन भन्ने बाको त्यो चेतकै कारण अहिले पनि कसैले अनि तपाईँको थर चाहिँ के नि ? भनेर सोध्दा विप्लवलाई दिक्क लाग्छ । तर उनी आफ्नो स्वभाव अनुसार हाँसेरै भनिदिन्छन्, ‘मेरो थरै प्रतीक हो ।’ 

बा अचम्मकै थिए । यतिसम्म नास्तिक कि उनी कहिल्यै मन्दिर गएनन् । जाँदै गएनन् । ‘एकपटक तीनजना साथी मिलेर बालाई जबर्जस्ती मन्दिर छिराउने प्रयास गरेछन्, तीनतिरबाट अठ्याएर मन्दिरको ढोकै छेउमा पुर्याएका बेला पख न त चप्पल खोलेर आउँछु भनेर फुत्किएका बा त्यहाँबाट टाप कस्नुभएछ ।’ बाको जब्बरपनाबारे पनि विप्लबले सुनाए । 

‘म चाहिँ यो कुरामा बा जत्तिको ढिट होइन, म पनि खासै मन्दिर त जान्न, तर जाँदै जानु हुँदैन भन्ने चाहिँ लाग्दैन’ विप्लव भन्छन्, ‘म आफैं धेरैपटक काठमाडौंका चर्च र मस्जिद गएको छु ।’ 

बा साँच्चैका क्रान्तिकारी र रौसे पनि थिए । साथीभाईसँग बसेर बेलाबेला खानपान गर्न औधी रुचाउने । आफ्नै खर्चमा मदिरा पनि खुवाउने र रमाइलो गर्ने । दुःखमा परेकालाई सक्दो सहयोग गर्न पाउँदा खुशी हुने । आफ्नो जीवनको भने खासै वास्ता नगर्ने । एकजोर लुगा नफाटुन्जेल  लगाइरहने तर सफा चाहिँ हुनुपर्ने । 

बाको यो इमान सम्झँदा मात्र पनि उनी चकित हुन्छन् । ‘बा कसरी यस्तो आदर्शमा बाँचे होलान् भन्ने लाग्छ । मैले कुनै गल्ती गरें भने छोराका अघिल्तिर कसरी अनुहार देखाउनु भन्ने आदर्शबाट प्रेरित र निर्देशित हुनुहुन्थ्यो’ विप्लव सम्झन्छन् । 

बाले देखाएको बाटो नै आफ्नो जीवनको आदर्श बनेको र त्यसकै कारण आफूले धेरैजनाका लागि लोभलाग्दो जीवनयापन गर्न पाएकोमा उनी दङ्ग छन् । ‘आफ्नो जीवनको निर्णय आफैंले गर्ने हो भन्ने बाको मुख्य आदर्शलाई नै मैले पछ्याइरहेको छु, मलाई मेरो जीवनसँग कहिँकतै गुनासो छैन’, उनी भन्छन् । बरु धेरैले कस्तो लोभलाग्दो जीवन बाँचेको छस् यार भन्दा उनी खुशीले मुस्काइदिन्छन र मनमनै बालाई सम्झन्छन् र कृतज्ञ बन्छन् । 

सायद यही कविता सम्झँदा हुन् र भन्दा हुन् कि–
बा, म रहुञ्जेल तपाईँ रहनुहुनेछ, 
संसारमा बाहरु हुञ्जेल तपाईँ हुनुहुनेछ । 


 

अन्तिम अपडेट: असोज ४, २०७५

लक्ष्मण कार्की

लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया