संयुक्त सैन्य अभ्यासमा नजाने नेपालको निर्णयले मोदीलाई झट्का

 भदौ २४, २०७५ आइतबार १६:२९:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

बिमस्टेक देशका सेनाहरुबीच भारतमा हुन गैरहेको संयुक्त अभ्यासबाट नेपाल पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा रक्षा मन्त्रालयमार्फत सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएपछि नेपाली सेना पछि हटेको हो । 

पहिले जान्छु भनेर पनि पछि जान्न भन्नु नेपालको कुटनीतिक लहडबाजी हो भनेर एकथरीले आलोचना गरेका छन् । अर्काथरी भने बिमस्टेकले गरेको निर्णय नभई भारतको चाहनामा हुन लागेको सैन्य अभ्यासमा नेपाल सहभागी नहुनु ढिलै भए पनि नेपालले गरेको सही निर्णय हो भन्ने ठान्दछन् ।

नेपाल किन पछि हट्यो ?

संयुक्त सैन्य अभ्यास बिमस्टेकको निर्णय होइन । काठमाडौंमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुमध्ये सबैभन्दा शक्तिशाली र चतुर मोदीको यो प्रस्तावमा कसैले असहमति जनाएनन् । नेपालसहित सबै सदस्य देशले मौखिक रुपमा सहमति जनाए । 

फलस्वरुप भारतको पुणेमा सेप्टेम्बर १० अर्थात सोमबार संयुक्त सैन्य अभ्यासको तिथि तोकियो । यसअनुसार नेपाली सेनाले आफ्नो तयारी थाल्यो । तीन जना सैनिक अधिृकत त ओलीले भाग नलिने निर्णय गर्नुअघि नै पुणे पुगिसकेका थिए । तर भारतको चाहनामा हुन लागेको सैन्य अभ्यास चीन विरुद्धको सांकेतिक प्रदर्शन हुन सक्ने भन्दै सत्तारुढ नेकपाभित्रै असहमति देखियो । अन्यत्रबाट त खुलेरै विरोध भयो । 

यसअघि गृह र परराष्ट्र मन्त्रालय सम्हालेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, गृह र रक्षा मन्त्रालय सम्हालेका नेता भीम रावल र सैन्य क्षेत्रसँग जानकारहरुले प्रधानमन्त्रीलाई भेटेरै यसबारे पुनर्विचार गर्न सुझाव दिए । भारतीय स्वार्थमा सैन्य अभ्यास गरिनु गलत भएको भन्ने सबैको विचार सुनेपछि प्रधानमन्त्रीले सहभागी नहुन रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई निर्देशन दिएको हो भन्ने कुरा बाहिर आएको छ ।

भारतको स्वार्थ 

बिमस्टेकको एउटा उदेश्य आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण गर्नु पनि हो । बिमस्टेकको यही उदेश्य र प्राथमिकतालाई आधार बनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यासमा जोड दिएका हुन् । 

तर भारतले सार्कलाई ओझेलमा पारेर बिमस्टेकलाई महत्व दिन खोजेको सबैसामु छर्लंग छ । भारतका सुरक्षा मामिलाका जानकारहरुले समेत बिमस्टेकको नाममा संयुक्त सैन्य अभ्यास गरेर भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउन खोजेको बताउँदै आएका छन् । यसबाट प्रष्ट हुन्छ कि बिमस्टेकलाई भारतले चीन र पाकिस्तानलाई काउन्टर दिनको लागि प्रयोग गर्न चाहन्छ । यसैअनुसार भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो । 

अर्को कुरा भारतमा आमचुनाव नजिकिंदैछ । योबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल लगायत देशलाई जसरी पनि आफ्नो अनुकूलमा राख्न चाहन्छन् । बिमस्टेकमा सहभागी देश आफ्नो एजेण्डामा चलेका छन् भनेर देखाउन पनि मोदीले सैन्य अभ्यासको प्रस्ताव गरेका हुन् भन्ने आम बुझाई आफैमा गलत पनि छैन । 

अर्को महत्वपूर्ण कुरा केही दिनपछि चीनमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुँदैछ । बिमस्टेकअघि भारतका सञ्चारमाध्यमले नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासलाई नेपाल र भारतबीच अविश्वासको वातावरण सिर्जना भएको भनेर विश्लेषण गरे । भारतीय सञ्चारमाध्यममा प्रमुखताका साथ आएको यो विश्लेषण बुझेर मोदीले बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका हुन् । 

मोदीको प्रस्तावमा हुन लागेको यो सैन्य अभ्यास नेपाल र चीनबीच हुने सैन्य अभ्यासको एक दिनअघिसम्म चल्नेछ । 

कस्तो हो चीनसँगको सैन्य अभ्यास ?

विभिन्न देशहरुले दुई पक्षीय रुपमा सैन्य अभ्यास गर्ने परम्परा पुरानै हो । नेपालले पनि भारत, चीन, अमेरिका लगायत देशसँग यस्तो सैन्य अभ्यास गर्दै आएको छ ।

यही परम्पराअनुसार नेपाल र चीनबीच सेप्टेम्बर १७ अर्थात असोज १ देखि चीनको सिचुवान प्रान्तको छेङ्दुमा सैन्य अभ्यास हुँदैछ । नेपाल र चीनबीच हुन लागेको यो दोस्रो सैन्य अभ्यास हो । यसअघि अघिल्लो वर्ष नेपाल र चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास भैसकेको छ । 

यो सैन्य अभ्यास कुनै छिमेकी देशप्रति लक्षित होइन । भारतलगायत देशसँग जस्तै नेपालले चीनसँग पनि दुईपक्षीय सैन्य अभ्यास गर्न लागेको मात्र हो ।

चीनसँग पहिले नै तय भएको सैन्य अभ्यास सुरु हुनुभन्दा पहिले भारतले बिमस्टेक देशहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेर नेपाल चीन सैन्य अभ्यासलाई छायामा पार्न खाजेको थियो । बिमस्टेक सदस्य राष्ट्रहरुको सैन्य अभ्यासमा नेपाल सहभागी भएको भए चीनसँगको सम्बन्धमा पनि असर पर्न सक्थ्यो । नेकपाका धेरै नेताले यस्तो जोखिम नलिन प्रधानमन्त्री ओलीलाई दवाव दिएपछि अन्तिम समयमा नेपालको सहभागिता रोकिएको हो ।

मोदीलाई झट्का

बिमस्टेकको बेला मोदीले राखेको सैन्य अभ्यासको प्रस्तावलाई कसैले विरोध गरेनन्, तर यसलाई बिमस्टेकको घोषणमा पनि समावेश गरिएन । विरोध नहुनु र घोषणमा नराखिनुका बीच मोदीको प्रस्तावलाई मौनं सम्मति लक्षणम्का रुपमा बुझियो ।

अहिले सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएपछि भारतमा अहिले नेपालले बिमस्टेकलाई नै अस्वीकार गरेको भन्दै खैलाबैला सुरु भएको छ । त्यहाँका सञ्चारमाध्यमले नेपालको पछिल्लो निर्णयलाई प्राथमिकता दिँदै यसले भारतलाई झट्का दिएको उल्लेख गरेका छन् । 

भारतीय सञ्चारमाध्यमले भनेजस्तै नेपालको यो निर्णयले मोदीलाई अवश्य झट्का दिएको हुनुपर्छ । किनकी बिमस्टेक सदस्य देशहरुलाई आफ्नो अनुकूलमा राख्न खोज्ने उनको चाहनामा ठेस पुगेको छ । 

नेपालले सहभागी नहुने निर्णय गरेपछि थाइल्याण्ड र भुटानले पनि संयुक्त सैन्य अभ्यासमा नजाने संकेत गरेका छन् । यदि साँच्चै थाइल्याण्ड मात्रै सैन्य अभ्यासबाट बाहिरियो भने पनि भारतले यसको अपजस नेपालका टाउकामा हाल्नेछ । यस अर्थमा अन्तिम समयमा रद्द गरिएको नेपालको सहभागिता साँच्चै नै एउटा कुटनीतिक लहड सावित हुनेछ ।   

याे पनि पढुनुहाेस्

भारतीय मिडिया लेख्छन् : अन्तिम समयमा आएर नेपालले दियो भारतलाई झट्का

 


 

अन्तिम अपडेट: चैत १४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • दिलिप देवकोटा

    Sept. 11, 2018, 5:07 a.m.

    नेपाल को राजनीतिक लहड कदपी होइनन् बरु ढिलो भए पनि राम्रो सोच अयेको भन्ने बुझ्नर्ुपर्छ प्रेसर जे जता बाट आए पनि

  •  0 Reply

तपाईको प्रतिक्रिया