ओलीबाट धेरै आश नगरौँ

 भदौ २५, २०७५ सोमबार १५:५४:९ | गोपाल गुरागाईं
unn.prixa.net

केही दिन अघि देशका केही सीमित सम्पादकहरुसित अन्तरकृया गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले भन्नुभयो, ‘निराश जनता खतरनाक हुन्छन्, त्यसैले जे लेखे पनि जनतामा निराशा नबढोस् भन्ने कुरा हेक्का राख्नु होला ।’ कसैले यसलाई धम्की बुझे । कसैले यसलाई प्रधानमन्त्रीको स्वाभाविक चिन्ता ठाने । तर, यस पंक्तिकारलाई लाग्छ यो अभिव्यक्तिले नागरिक र पत्रकारको मनस्थितिभन्दा बढी ओलीको आफ्नै निराश मनस्थितिलाई व्यक्त गरेको छ । 

हो, प्रधानमन्त्रीका रुपमा ओलीले बितेका ६ महिनामा नेपालका कुनै पनि प्रधानमन्त्रीले गरेका भन्दा बढी काम गरेका छन् । ओलीको सुत्ने, उठ्ने, खाने, पिउने, पढ्ने र काम गर्ने विषयमा उहाँ आफैले भनेका, उहाँकी धर्मपत्नी, सल्लाहकारहरु र तथा सचिवालयका मानिसहरुले बेला–बेला दिएका अभिव्यक्तिहरुले यो कुरा राम्रैसित बताएका छन् । 

बाहिर आएका कुरा सत्य हुन् भने ओली रात रातभर अनिदो बसेर पढ्छन् । समयमा औषधि र खाना नखाएर आफ्नो स्वास्थ्यमाथिको जोखिम बढाएका छन् । आफ्नो व्यस्त कार्यतालिकाबीच सरकारका सचिव र सल्लाहकारको टोलीलाई पनि राति दश एघार बजेसम्म काम लगाएका छन् । भेटघाट र भाषणको त कुनै लेखाजोखा नै छैन । 

तर यतिका प्रयत्न गर्दा पनि नागरिकले अनुभूत गर्न पाउने गरी बितेका ६ महिनामा ओली सरकारले कुनै काम देखाउन सकेन । संभवतः यही कारणले हुनुपर्छ दिन बित्दै जाँदा ओलीको निराशा पनि बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले नागरिकलाई निराश बनाउने काम नहोस् भनिरहँदा प्रधानमन्त्री ओली निराश भैसकेको कुरा नदेखियोस् भन्ने चाहना बढी थियो भन्ने कुरा बुझ्न अब कुनै अप्ठेरो मान्नु पर्दैन । 

निराश नागरिक खतरनाक हुन्छन् भन्ने सत्य जस्तै अर्को सत्य के पनि हो भने शक्तिमा बसेको मानिसको निराशा झनै खतरनाक हुन्छ, किनभने शक्तिसित जोडिएको निराशाले अन्ततः उस्को इगो बढाउँछ । शक्तिमा बसेको मानिसको निराशा मिश्रित इगोले शक्तिमा बसेको मानिसलाई त नष्ट गर्छ नै, नागरिक र मुलुकलाई पनि बर्बादीतिर धकेल्छ । 

प्रधानमन्त्रीका रुपमा ओलीमा निराशा बढ्ने कारणहरु धेरै छन् । तर, पहिलो कारण उहाँभित्रै र उहाँकै वरपर छ । ओलीलाई आफू अरु भन्दा भिन्न र इतिहासमा लेखिन लायक प्रधानमन्त्री हुने चाहना थियो र छ भन्ने कुरा सार्वजनिक गर्न आठ वर्ष अघिको एउटा प्रसंग कोट्याउनु सान्दर्भिक छ । 

२०६७ सालको साउन र भदौताका संसदमा प्रधानमन्त्री छान्न केही दिनको अन्तरमा धेरैपटक चुनाव भैसकेको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका दावेदारका रुपमा त्यो बेलासम्म १५ पल्ट हारिसकेका थिए । पौडेलको जित्ने टुंगो थिएन । पौडेललाई जित्न नदिने एक प्रमुख पात्रका रुपमा ओलीको नाम लिइन्थ्यो । ओली त्यो बेला सभासद थिएनन्, तै पनि आफू प्रधानमन्त्री हुन ओलीले संसदलाई घुमाएको आरोप लाग्थ्यो ।

केही नगर्ने तर भाषण गर्ने ओलीको आफ्नो रोग अहिले संक्रमण भएर सबै मन्त्री र मन्त्रालयतिर सरेको छ । सरकारले समृध्दि कसरी ल्याउन खोजेको हो भन्ने कुरा गर्न एउटै यातायात मन्त्रीले ६ महिनामा (न)गरेका काम पर्याप्त छन् । 

त्यो बेला नेपालको राजनीतिमा ओलीको राजनीतिक ताप दिनदिनै बढ्दै थियो । हामीले अन्तरवार्ताका लागि ओलीलाई आग्रह गर्‍यौँ । उज्यालोको सानेपा कार्यालयमा उहाँसित अन्तरवार्ता सकिएपछि कालो चिया खाँदै हामीले केही अनौपचारिक प्रश्नहरु सोध्यौं । यस्तो अनौपचारिक प्रश्नमा एउटा प्रश्न थियो तपाईँ आफै चाहिँ कहिले प्रधानमन्त्री हुने ?

उहाँले जवाफको साटो हामीतिर प्रश्न फ्ँयाक्नुभयो, ‘कुनै काम गर्न नसक्ने फोटोको प्रधानमन्त्री किन हुने ?’ केही परिवर्तन गर्न नसक्ने कमजोर प्रधानमन्त्री हुनुभन्दा प्रधानमन्त्री नहुनु जाति भन्ने कुरा ओलीको मुखबाट त्यो बेला नै निस्केको थियो । अथवा, ओलीमा त्यो बेलादेखि नै शक्तिशाली प्रधानमन्त्री हुने चाहना थियो । 

संविधानको घोषणापछि ओली पहिलोपल्ट प्रधानमन्त्री हुँदा देश चुनावको मुडमा जान थालेको थियो । भारतले लगाएको नाकाबन्दी विरुध्द उभिएपछि ओलीको राजनीतिक छवि अरु अग्लो भयो । अग्लो छवि लिएर प्रधानमन्त्री पदबाट बाहिरिएका ओलीले आफूले जन्मजात शत्रु ठानेको र स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई हराउन महत्वपूर्ण भूमिका खेलेको माओवादीसित संयुक्त मोर्चा बनाउनुभयो । चुनावताका संयुक्त मोर्चा बनाएर सहज बहुमतले वाममोर्चालाई जिताउनु पनि भयो । यसो गर्दा पनि उहाँको दिमागमा आफू शक्तिशाली प्रधानमन्त्री भएर देशमा परिवर्तन ल्याउने ओलीको पुरानो सपना ओझेल परेको थिएन । 

फोटोमा मात्र प्रधानमन्त्री भएर नबस्ने उहाँको सपना त बहुमतको सरकार बन्दै पूरा भैसकेको थियो । तर, उहाँले त्यतिमा मात्र आफूलाई सुरक्षित ठान्नु भएन । भविष्यमा तलबितल नहोस् भनेर होला, अर्को पार्टीलाई पनि सरकारमा सामेल गर्नुभयो । त्यसपछि उहाँ दुई तिहाई बहुमतको सरकार चलाउँदै हुनुहुन्छ । 

तर, आफूसित दुई तिहाईको बहुमत हुँदा पनि ओलीको सरकारले नागरिकका साधारणभन्दा साधारण समस्या समाधान गर्न खाेजेको देखिँदैन । उदाहरणका लागि गृह मन्त्रालय एक्लैको ‍(न)काम पर्याप्त छ । ३३ किलो सुन, निर्मला पन्त बलात्कारको छानबिन, अपहरणको शैलीमा डाक्टरको अपमान, गोविन्द केसीको अनसन बसेको ठाउँ जुम्लामा देखिएको नौटंकी जस्ता घटनाहरुको सूची लामै भैसकेको छ । 

दोस्रोपल्ट प्रधानमन्त्री भएपछि ओलीले अहिलेसम्म हजारौपल्ट बोलेका दुई शब्द हुन् समृध्दि र सुशासन । यी दुई शब्दलाई व्याख्या गर्दै उहाँले दर्जनौँपटक दिगो विकासका लक्ष्यहरुको समेत कुरा गर्नु भएको छ । तिनीहरुको अन्तरसम्बन्धको कुरा गर्नु भएको छ । जनताको गरिबीको बयान गर्नु भएको छ । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने कुरा त उहाँले दिनदिनै गर्नु भएको छ । 

तर प्रधानमन्त्री आफ्ना वचनमा पक्का र आफूप्रति इमान्दार हुनुहुन्छ भन्ने कुरा न उहाँका कामले देखाउँछन्, न त उहाँका मन्त्रीका कामहरु नै सुशासन र समृध्दिको दिशामा अघि बढेका छन् । गृहको कुरा अघि नै गरियो । अर्को उदाहरणका लागि यातायात व्यवस्था मन्त्रालयको कुरा गरौं । सरकारले सिन्डिकेट तोड्ने निर्णय गर्‍यो । राम्रो निर्णयको चौतर्फी स्वागत भयो । तर निर्णय कहाँ कसरी कार्यान्वयन भयो त भनेर अहिले हेर्दा अवस्था हात लाग्यो शून्यमा छ । भत्कियो भनेको सिन्डिकेट कहाँ र कसरी भत्केको हो भन्ने कुरा नागरिकले अनुभव गर्न पाएका छैनन् । 

सार्वजनिक गाडीमा यात्रुले भोग्ने असुविधा उस्तै छ । अपमान उस्तै छ । उल्टो गाडीले ठक्कर दिँदा घाइतेको उपचार खर्च ब्यहोर्दै आएका समितिले साउन महिनादेखि उपचार खर्च ब्यहोर्न छाडेका छन् । सरकारले तिनको उपचारको व्यवस्था गरेको छैन । बीमा कम्पनीहरु यस कर्ममा सामेल हुन चाहेका छैनन् वा मन्त्रीसित लेनदेन मिलेको छैन भन्ने अस्पष्ट छ । तर, साउनदेखि यता हरेक अस्पतालमा सडक दुर्घटनाका घाइतेको कन्तबिजोग शुरु भएको छ । दुर्घटनाका घाइतेहरु भिख मागेर उपचार गर्नुपर्ने अवस्थामा धकेलिएका छन् ।

बाचाल र कमाउ मन्त्री, मरिजाउँ तर घुसबिना काम नगरौ भन्ने थेत्तरो सुरक्षा र प्रशासनका बीच शक्तिशाली भएर पनि बितेका ६ महिनामा ओलीले आफ्नो प्राथमिकता के हो भनेर स्पष्ट गर्न सक्नु भएको छैन ।

तालुकवाला मन्त्री रघुवीर महासेठले पत्रकार सम्मेलन गरेर फागुनमा वैशाख १५ भित्र राजमार्गका खाल्डा पुरिसक्ने घोषणा गरे । खाल्डा पुरिन त परै जाओस्, वर्षामा झनै बढे । त्यसपछि प्रधानमन्त्रीकै अग्रसरतामा साउनमा भएको बैठकमा भदौ १५ भित्र कलंकी नागढुंगा र बौध्द जोरपाटी सडक बनाउने अठोट गरे । आज भदौ २५ मा यी पंक्ति लेख्दा यी दुवै सडकमा यात्रा गर्ने यात्री जोल्टिङ खाइरहेकै छन् । तर, महासेठ मात्र होइन, अरु मन्त्रीहरु पनि यो गर्छु र त्यो गर्छु भन्ने हावादारी कुरा गर्ने मौका ढुकेर बसेका देखिन्छन् । केही नगर्ने तर भाषण गर्ने ओलीको आफ्नो रोग अहिले संक्रमण भएर सबै मन्त्री र मन्त्रालयतिर सरेको छ । सरकारले समृध्दि कसरी ल्याउन खोजेको हो भन्ने कुरा गर्न एउटै यातायात मन्त्रीले ६ महिनामा (न)गरेका काम पर्याप्त छन् । 

भ्रष्टाचार अन्त गर्ने र सुशासन कायम गर्ने प्रधानमन्त्री ओलीको सपना सुन्दा अविश्वास गर्नुपर्ने कुनै कारण देखिँदैन । छोराछोरीका लागि सञ्चय गर्न नपर्ने र अर्कैको मृगौलाका बलमा शरीर चलाइरहेका प्रधानमन्त्रीका भाषण सुन्दा उहाँलाई जनताको सुख बाहेक अरु केही चाहिए जस्तो देखिँदैन । तर, आज सुुशासनको कुरा गरेर भोलिपल्ट प्रधानमन्त्री आफै सरकारी निवासमा पार्टीका बैठक र वंशका भेला राख्न अप्ठेरो मान्नुहुन्न । 

त्यसमाथि उहाँका वरपर पैसा कमाउने स्वार्थ समूहको जालो निकै बाक्लो भएको देखिन्छ । त्यो जालोमा उहाँलाई बा, बुवा, काका, अंकल भन्ने मानिसहरु धेरै छन् । यस जालोमा कतिपय उहाँका मन्त्रीहरु नै छन् । त्यसपछि व्यापारीहरु र व्यापारीका लागि काम गर्ने नेकपाका कार्यकर्ताहरु छन् । उहाँका धेरैजसो मन्त्रीहरु नै मन्त्रालयले खरीद गर्ने सामानको किनबेच र ठेक्कापट्टाका कुरामा चाहिनेभन्दा निकै धेरै रुची लिन्छन् र त्यस्तै काममा अलमलिएका देखिन्छन् । 

आफ्ना वरपर भैरहेका यस्ता गतिविधि प्रधानमन्त्री ओलीका नजरबाट छिपेका होलान् भन्न सकिँदैन । तर, आफू वरपर भैरहेका यस्ता गतिविधि रोक्न उहाँ न अघि सर्नुभयो, न त गल्ती गर्ने कसैलाई उहाँले दण्ड नै दिनुभयो । बितेका ६ महिनामा पटक–पटक देखिएको र बुझिएको कुरा के हो भने प्रधानमन्त्रीको रुपमा उहाँ मन्त्री र सचिवलाई बेला–बेला ‘कडा निर्देशन’ दिनुहुन्छ । प्रधानमन्त्रीको ‘कडा निर्देशन’ सकिएपछि मन्त्रीहरु र सचिवहरुबाहिर निस्केर प्रधानमन्त्रीका कानलाई गुलिया लाग्ने ठूल्ठूला कुरा र भाषण गर्छन् । तर काम गर्नु त कता हो कता, समृध्दि र सुशासनका वरको सिनको पर सरेको देखिदैन । 

बितेका ६ महिनामा ओली आफूसित आफै स्पष्ट भैसकेको हुनुपर्छ, अब उहाँ आफै फोटोमा टाँगिने एउटा शक्तिशाली प्रधानमन्त्री हुने बाटोमा हिँडिरहनु भएको छ । आफूले गर्न चाहेर पनि काम देखाउन नसकेका कारण उहाँका विचार र व्यवहार घरि निराशाजनक देखिन्छन्, घरि केटाकेटीले देखाउने घुर्की र दंग्याई जस्ता । बोलाएर कुरा गर्न र समस्या समाधान गर्नुको साटो आफ्नो गृहमन्त्रीसित चिठी लेखेर जानकारी माग्नु घोर निराशाको लक्षण हो भने आफ्नै पार्टीका कार्यकर्ता मुख्यमन्त्रीसित बसेर कुराकानी गर्ने कार्यक्रम रद्द गर्नु र आफैले संरक्षण गरेर बनाएका मुख्यमन्त्रीहरुलाई भेट नदिएर दंग्याउनु र सताउनु उहाँभित्र हुर्कँदै गरेको इखको लक्षण हो । 

हिजोआज ओलीको बोली र व्यवहारमा निराशा र इख सरावरी मिसिएको देखिन्छ । यो निराशा र इख उहाँको स्वास्थ्यका लागि त हानिकारक छँदैछ, उहाँको निराशा र इखले नागरिकको मन पनि विचलित पार्न थालेको छ । उहाँको निराशा र इख जुन मात्रामा बढेको देखिन्छ, त्यसले यो देशको भविष्य बन्ला कि भन्ने झिनो आशा लिई बसेका इमान्दार मानिसको आश पनि टुट्न थालेको छ । निरन्तर बढ्दो निराशा र इखबाट प्रधानमन्त्रीलाई माथि उठाउनु पर्ने त उहाँका सल्लाहकारले हो, तर हिजाअ‍ोज प्रधानमन्त्रीका सल्लाहकारहरुका कुरा पनि सचिव र मन्त्रीका जस्तै हुन थालेका छन् । 

बाचाल र कमाउ मन्त्री, मरिजाउँ तर घुसबिना काम नगरौ भन्ने थेत्तरो सुरक्षा र प्रशासनका बीच शक्तिशाली भएर पनि बितेका ६ महिनामा ओलीले आफ्नो प्राथमिकता के हो भनेर स्पष्ट गर्न सक्नु भएको छैन । त्यसैले प्रधानमन्त्री ओलीले गर्दै आएका समृध्दि र सुशासनका कुरा पत्याई हाल्नु पर्ने कुनै जायज आधार र कारण भेटिँदैन ।

त्यसैले प्रधानमन्त्रीले देखेको समृध्दि र सुशासनको सपनाबीच उहाँको भाषणको हास्य रसमा पौडिनु र मन्द मुस्कान लिनु नेपाली नागरिकको शारिरीक र मानसिक स्वास्थ्यका लागि हानिकारक छैन, बरु फाइदाजनक नै छ । 
 

अन्तिम अपडेट: कात्तिक १८, २०७५

गोपाल गुरागाईं

गोपाल गुरागाईं ३५ वर्षदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। उहाँलाई ट्विटरमा भेट्न सकिन्छ।

3 Comments

  • Chandra Mani dahal

    Sept. 12, 2018, 8:03 a.m.

    नेपाली राजनीतिज्ञको मुख्य रोग नै हो काम कम, कुरा बढी /

  • अमृतकुमार

    Sept. 10, 2018, 6:20 p.m.

    ओलि अनि ओलि सरकार विशेष लेखिएको यश लेख अति सान्दर्भिक लाग्यो। आशा छ ओलि बा ले पनि यो लेख पढ्नु भयो होला। ए ओलि सरकार तलब भत्ता थाप्न मात्र सरकार मा बसेको हो भने देश मै रहेको उत्कृष्ट ब्यक्तीहरुलाई छनोट गर अनि कुर्सी छाडी दे। देश र जनताको लागि बिकाश र समृद्धि गर्नु छ भने आफ्नो ब्यक्तिगत स्वार्थ लाई त्याग , पार्टीको कुरा छोड, राष्ट्र निर्माण गर्न राष्ट्रिय सोच अनि मनोबल को बिकाश गर। देश मा उत्कृष्ट अनि भयानक एन कानुन बना। बलत्कारी , गुण्डा, भ्रष्टाचार , घुसखोरी, तथा सामाजिक यातना दिने जो कोहिलाई पनि अदालत नपुर्‍याई फाँसी दिने ब्यवस्था गर । देश आफै सुध्रिन्छ। देश मा उचित र ब्यवस्थित एन कानुन नबनाए सम्म देश बिकास गर्छु समृद्द बनाउछु भनेर सपना देख्न छोडी दे। साच्चै देश बिकाश गर्नु छ भने शत्रुलाई पनि दाहिने राखेर काम गर। कानुन चै खत्रा बना सजाय फासीको नाम ले कसैले गलत गर्नु त परैको कुरा सोच सम्म आउदैन। न त धनी सधै धनी बन्नु पर्छ न गरिब सधै गरिब रहनु पर्छ। ओलि सरकार बोलिमा मात्र समानता होइन ब्यवहारिक रुपमा समानता को बिकाश गर। जातियताको कुरा जडैबाट उखेलेर फाल। हरेक परिवारको बेरोजगार शदश्यले रोजगार पाउने वातावरण बना देश आफै बिकाश हुन्छ। जनताको जीवन आफै समृद्धि ले भरी पुर्न हुन्छ।भने राश्ट्रमा अराजक गतिबिधी न्यून हुँदै जानेछ। --बिन्दाश बोय अमृत

  • भूपेन्द्र नीराजन

    Sept. 10, 2018, 5:49 p.m.

    यो लेख स्वयं प्रधानमन्त्री, मन्त्री, नकपाका नेता, बिशेष गरी प्र.म. का सल्लाहकारका बिल्लाधारी र लेखकले भनेझैँ पैसा कमाउने स्वार्थ समूहको जालो बुन्नेहरुका लागि गीता हो, बाईबल हो कुरान हो सबथोक हो! १० पल्ट पढुन र चेतुन!

तपाईको प्रतिक्रिया