सुख्खा बन्दरगाहमा नेपालतर्फको पूर्वाधार तयार

 भदौ २५, २०७५ सोमबार १७:३१:३६ | गोविन्द शर्मा
unn.prixa.net


बाँके – नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत चेकपोष्ट (सुख्खा बन्दरगाह) निर्माणका लागि नेपालले आफ्नो तर्फबाट गर्नुपर्ने काम सम्पन्न गरेको छ । 

सुख्खा बन्दरगाह निर्माणस्थलमा तारबार र पर्खाल निर्माण भएको छ । सुख्खा बन्दरगाहका लागि भारत र नेपालतर्फको करिब २ सय बिघा जमिनमा तारबार र पर्खाल निर्माण गरिएको हो । 

नेपालले ९२ बिघा जग्गा मुआब्जामा लिएको छ । हालसम्म मुआब्जामा करिब  ६ करोड र भौतिक निर्माणमा दुई करोड रुपैयाँ खर्च भएको छ । 

नेपालले पहिलो चरणमा आफ्नो तर्फबाट गर्नुपर्ने कार्य पूरा गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन नेपालगञ्जका इञ्जिनियर होमनाथ भुषालले जानकारी दिनुभयो । 

भारतले पनि आफ्नोतर्फको जमिनमा तारबार गर्नुका साथै पक्की पर्खाल निर्माण गरेको छ । नेपालतर्फ भने तारबार मात्रै गरिएको छ । 

हाल उक्त क्षेत्र जयसपुर लगायत आसपासका गाउँका बासिन्दाले चरणक्षेत्रको रुपमा उपयोग गर्दै आईरहेका छन् । 

सुख्खा बन्दरगाहमा सुरक्षाकर्मी बस्ने घर निर्माण सम्पन्न भए पनि लामो समयसम्म बेवारिसे अवस्थामा रहेको छ । बेवारिसे भवनबाट सामान समेत चोरी भएको छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि तीन वर्षअघि सर्वसाधारणको जमिन अधिग्रहण गरि मुआब्जा प्रदान गरिए पनि अहिलेसम्म सुरक्षाकर्मी बस्ने भवन बाहेक कुनै संरचना निर्माण हुन सकेको छैन । अधिग्रहण भएको जमिनको संरक्षणका लागि रेखांकन गरि काँडे तार लगाइएको छ । 

नेपालतर्फ झन्डै ९२ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सुखा बन्दरगाह निर्माणको कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

‘अब सम्पूर्ण निर्माण कार्य भारत सरकारमा निर्भर रहेको छ’, इञ्जिनियर भुषालले भन्नुभयो,– ‘भारतले सम्पूर्ण निर्माण कार्य आफैले टेण्डर गरेर गर्ने हो ।’ 
ईञ्जिनयर भुषालले जमिन संरक्षणका लागि तारवार, चौलिक्का चोकदेखि बन्दरगाहसम्मको २ हजार ७ सय मिटर लामो, ६० मिटर चौडा सडकको ट्रयाक खोल्ने र सडकको प्रति ५० मिटरको दुरीमा सिमेन्टको खम्बा गाडेर संरक्षणको काम भएको बताउनुभयो । 

एकीकृत चेकपोष्ट निर्माण भएपछि सामान आयात निर्यात सम्वद्ध नेपाल र भारतका सम्पूर्ण सरकारी कार्यालय एकठाउँमा हुने भएपछि आयात निर्यातमा सहज हुने ब्यवसायीको अपेक्षा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • Mukesh

    Sept. 10, 2018, 6:23 p.m.

    अत्यन्त राम्रो विषय /

  •  0 Reply

तपाईको प्रतिक्रिया