रहरै रहरले दौडिएको मुन्द्रेकाे रामकहानी

 भदौ २५, २०७५ सोमबार २०:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हास्यकलाकार जितु नेपालले हालै मात्र प्रबल जनसेवा श्री जस्तो गरिमामय पदक प्राप्त गरे । 

उनले नेपालको राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट यो पदक प्राप्त गरेका हुन् । उनले नेपाली कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले यो पदक प्रदान गरेको हो ।

यो पदक पाइसकेपछि जितुले भने, ‘राज्यले यसरी सम्झिनु खुशीको कुरा हो । म त एउटा साधारण मान्छे हुँ । साधारण कलाकार हुँ ।  राज्यले यसरी सम्झिनु ठूलो कुरा हो । मलाई जस्तै अन्य कलाकारलाई पनि राज्यले सम्झिँदै जाओस् ।’

‘अहिले त म खुशी सँगसँगै अलिकति दुखी पनि छु । किनभने यो पदक मलाई जुन प्रकारले सम्माननीय राष्ट्रपतिज्यूले त्यति ठूलो कार्यक्रममा लगाइदिनु भएको छ त्यसको  गरिमा चाहिँ मैले जोगाउन पाउँ । सकूँ । अहिले मलाई अलि बढी जिम्मेवारी बोध भएको छ ।’

अब अझै राम्रो काम गर्न पाउँ भन्ने भाको छ । देशले मलाई जसरी सम्झेको छ । मैले पनि त्यसरी नै देशको लागि केही गर्न पाउँ भन्ने भएको छ । देशलाई केही योगदान गर्न पाउँ भन्ने लागेको छ ।

सिन्धुपाल्चोकमा जन्मेका जितुले बाल्यकाल उतै बिताए । मध्ययमवर्गीय परिवारमा  जन्मेका उनी परिवारको कान्छो छोरा हुन् । उनका ५ जना दाजु  र एक जना दिदी छन् ।
 
जितुले एसएलसीपछि काठमाडांैको यात्रा तय गरे । उनको बाल्यकाल मेलापात र गोठालो गरेरै बित्यो । यही काम र समान्य जीवनमा रमाएका जितुले बाल्यकालमा कलाकार बन्ने भन्ने बारेमा सोचेका थिएनन् । उनले कलाकार बन्नको लागि केही तयारी पनि गरेका थिएनन् ।

उनको परिवारको कोही यस क्षेत्रमा पनि थिएनन् जसले उनलाई  कलाकार बन्न रहर जागोस् । यही  कारण पनि उनको  कलाकारिता प्रवेश निकै नै चाखलाग्दो छ ।

टेलिभिजनमा अनुहार देखाउने रहरले उनको यस क्षेत्रमा प्रवेश भयो । तर उनको त्यो रहर नै उनको मुख्य पेशा बन्न पुग्यो । बाल्यकालमा के बन्ने  भन्ने त्यस्तो साचै थिएन । उनमा मात्र पढौं,  घरमा राम्रो गरौं भन्ने मात्र थियो ।

पछि एसएलसी पास गरेपछि क्याम्पस पढ्ने र काठमाडौंमै जागिर खाने हिसाबले जितुले सिन्धुपाल्चोकदेखि काठमाडाैंको यात्रा तय गरे ।  काठमाडाैंमा आएपछि  उनले चावहिलमा सुपथ मूल्य पसलमा काम गर्न थाले । यही  काम गर्ने क्रममा उनको टेलिभिजनमा अनुहार देखाउने रहर पूरा भयो ।

उनले पहिलो पटक सन्तोष पन्तको सिरियल ‘आज भोलिका कुरा’मार्फत टेलिभिजनमा आउने मौका पाए । यो उनको लागि सुनौलो मौका थियो ।

उनले सन्तोष पन्तसँगै पहिलो सिन र सम्वाद बोले ।

उनी भन्छन्, ‘यो कुरामा त मैले मुहानै फेला पारेँ । यो सबैभन्दा ठूलो कुरा हो ।’  पहिलो पटक सिरियलमा सम्वाद बोल्दा र अभिनय गर्दा उनको रहर पूरा भएको थियो । त्यस बखत उनले कलाकारितामा अघि बढ्ने र यसलाई नै मुख्य पेशा बनाउने बारेमा सोचेकै थिएनन् ।   

त्यसको एक वर्षपछिसम्म पनि उनलाई रहर मात्र पूरा  भए जस्तो लाग्थ्यो ।  तर बिस्तारै सबैले चिन्न थाले । अनि उनलाई रहर बढ्न थाल्यो । सन्तोष  पन्तसँग टीभीभमा देखिँदा गाउँतिर पनि कुरा हुन थाल्यो ओहो यो त टीभीमा पुग्यो भन्ने भयो । सबैको यस्तो कुराहरु सुन्दा सुन्दै उनको रहर झन् झन् बढेर गयो ।

तर उनलाई काम गर्नुपर्ने बाध्यता थियो । कलाकारितामा मात्रै पूरा समय दिन पाउने अवस्थामा उनी थिएनन् ।

 यही कारण उनले अन्य कामहरु पनि गरे । उनले यो क्रममा तरकारी पसल गरे । उनले त्यसताका गार्मेन्टमा पनि काम गरे । चियापत्तीको मार्केटिङमा पनि उनले काम गरे । घरमा बिजुलीको  पाइपहरु बिछ्याउने कामको अनुभव पनि उनले गरेका छन् । दैनिक जीवनयापन गर्न उनलाई काम गर्नै पर्थ्यो । अनि उनले कामसँगै पढाइलाई पनि अघि बढाए ।  सिरियल खेल्ने रहरले उनी रात दिन नभनी कामहरु गर्थे र दिउँसोको समय सिरियलमा दिन्थे ।  

पछि  उनले दिनेश डिसीको ‘ट्वाक्क टुक्क’मा काम गरे । काम गर्दै जाँदा अनुभव बटुल्दै जाँदा उनले ‘गीताञ्जली’मा पनि काम गरे ।

यही क्रममा उनलाई कलाकार केदार घिमिरे र सीताराम कट्टेलले अर्को आफ्नै सिरियल बनाउने कुरामा जोड दिए । अनि  जितुले आफ्नै लेखन र निर्देशनमा जिरे खुर्सानीको शुरुवात गरे । जिरे खुर्सानीको जन्म भएसँगै जितुको पनि नयाँ जन्म भयो । उनको नयाँ नामको न्वारन भयो जसले उनलाई स्थापित बनाइदियो । त्यो नाम थियो जिरे खुर्सानीको एउटा पात्र मुन्द्रे ।

यही सिरियलपछि उनी मुन्द्रेको रुपमा स्थापित भए र उनको कलाकारिता अगाडि बढ्यो ।  जुन अहिले पनि कायमै छ ।  लामो समयदेखि उनले कलाकारितामा दिएको यही योगदानका कारण नेपाल सरकारले पनि उनलाई सम्मान गरेको छ  ।

पछिल्लो समय उनी सिनेमामा व्यस्त छन् ।  यतिबेला उनले अभिनय गरेको सिनेमा रामकहानी प्रदर्शनमा आएको छ । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

करिअरमा सफल जितु विज्ञापनहरुमा पनि सफल छन् । उनको चर्चा र सफलता देखेर उनलाई नेपालका चर्चित कम्पनीहरुले आफ््नो ब्राण्ड प्रचारको लागि उनलाई प्रयोग गरिरहेका छन् ।

जितु अहिले सानिमा लाइफ इन्स्योरेन्स, नेपाल एयरलायनस जस्ता ठूला कम्पनी र अन्य केही ब्राण्डका ब्राण्ड एमबेस्डर बनिसकेका छन् ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया