अटो मेलामा १५ लाखदेखि ४ करोड ८० लाख रुपैयाँसम्मका गाडी, कुन गाडीको मूल्य कति ?

 भदौ २६, २०७५ मंगलबार २०:३८:१७ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । वर्षैपिच्छे गाडी बदल्नेदेखि पैदल हिँड्नेहरुको रुचीमा परेको यो मेलाको उद्घाटन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गर्नुभयो । 

मेलामा १९ ब्राण्डका चारपांग्रे गाडी, २० ब्राण्डका २ पांग्रे मोटरसाइकल तथा स्कूटर, पाटपूर्जा तथा लुव्रिकेन्ट्स कम्पनीका गरी १ सय ३४ स्टल राखिएका छन् ।

अटो शोमा डेढ लाखका मोटरसाइकलदेखि ४५ लाखका मोटरसाइकल राखिएको छ । यस्तै १५ लाख २५ हजारदेखि ४ करोड ८० लाख रुपैयाँसम्मका कार बिक्रीमा राखिएको छ । विभिन्न कम्पनीका केही गाडीका मूल्य निम्न छन् ।  

मेलामा टोयोटाको ल्याण्ड क्रुजर फुल अप्सनको मूल्य ४ करोड ८० लाख रुपैयाँ राखिएको छ । यो गाडी मेलाकै महँगो गाडी हो । टोयोटाको सबैभन्दा सस्तो गाडी इटियोस क्रस हो यसको न्यूनतम मूल्य ३२ लाख देखि ४४ लाख ५० हजार सम्म तोकिएको छ । फर्चुनरको मूल्य १ करोड ६३ लाख देखि १ करोड ७२ लाख ५० हजारसम्म रहेको छ । 

नेपाली बजारमा जीप कम्पनीले पनि गाडी बिक्री सुरु गरेको छ । अटो मेलामा जीपको कम्पास मोडलको गाडीको मूल्य ७४ लाख ९० हजार तोकिएको छ । यसको अधिकतम मूल्यका गाडी ९६ लाख ५० हजारमा बिक्री हुने जीपको नेपाली बिक्रेताले जनाएका छन् ।

 

मेलामा टाटाको सबैभन्दा महंगो कारको रुपमा रहेको हेक्जाको मूल्य ९१ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटाको सबैभन्दा सस्तो कार टियागो हो, यसको न्यूनतम मूल्य २४ लाख ९५ हजार तोकिएको  छ ।

हुन्डाइको सस्तो कार इओन हो ।  इओनको न्यूनतम मूल्य १७ लाख लाख ५१ हजार राखिएको छ । टक्सनको मूल्य एक करोड २ लाख ९६ हजार राखिएको छ । हुन्डाईको क्रेटाको मूल्य ५८ लाख रहेको छ । यस्तै आइ टेन को मूल्य २८ लाख ९६ लाख राखिएको छ । 

मेलाकै सबैभन्दा सस्तो कार ड्याट्सन कम्पनीको रेडी गो रहेको छ । ड्याट्सन रेडी गो को न्यूनतम  मूल्य १५ लाख २५ हजार र अधिकतम मूल्य २० लाख ५९ हजार रहेको छ । नेपालमा ड्याट्सनको सबैभन्दा महँगो कार गो प्लसको मूल्य २७ लाख ४९ हजार रहेको छ । 

महिन्द्राको सबैभन्दा सस्तो गाडी बोलेरो सिंगल क्याबको मूल्य  १६ लाख ६५ हजार रहेको छ । महिन्द्राको नेपालमा बिक्री हुने सबैभन्दा महंगो गाडी एक्सयूभी ५०० को मूल्य ९० लाख ९५ हजार रहेको छ । अरु भन्दा भिन्न स्वरुपको गाडीमा रहेको दावी गर्ने महिन्द्राले थार मोडलको मूल्य ४३ लाख राखेको छ । 

भक्सवागनको सबैभन्दा सस्तो गाडी पोलोको मुल्य मेलामा २६ लाख रुपैयाँ तोकिएको छ । यसको अधिकतम मूल्य ४५ लाख ९५ हजार रहेको छ । भक्सवागनको सबैभन्दा महँगो गाडी टिग्वानको न्यूनतम मूल्य १ करोड ११ लाख र अधिकतम मूल्य १ करोड ४७ लाख रहेको छ । 

सुजुकीको सबैभन्दा सस्तो कार अल्टोको मूल्य १६ लाख ३९ हजार रुपैयाँ पर्छ । यसको अधिकतम मूल्य २० लाख ८९ हजार छ । मेलामा राखिएको सुजुकीको सबैभन्दा महंगो कार ब्रेजाको मूल्य ४२ लाख २९ हजार तोकिएको छ । ब्रेजाको न्यूनतम मूल्य ३७ लाख ४९ हजार रहेको छ । 

निशान कम्पनीले मेलामा सबैभन्दा सस्तो कारको रुपमा माइक्रो एक्टिभ राखेको छ । यसको न्यूनतम २६ लाख १० हजार  र अधिकतम मूल्य २८ लाख ९९ हजार रहेको छ । मेलामा निशानको सबैभन्दा महँगो गाडीको रुपमा रहेको एक्स ट्रेलको मूल्य १ करोड २० लाख देखि १ करोड २५ लाख रुपैयाँसम्म रहेको छ । 

स्कोडा गाडीले मेलामा सबैभन्दा सस्तो गाडीको रुपमा र्‍यापिड पेट्रोलको मूल्य ३८ लाख ४५ हजार राखिएको छ । स्कोडाले आफ्नो सबैभन्दा महँगो कारका रुपमा कोडियाक मोडलको कार राखेको छ । यसको मूल्य १ करोड ४९ लाख रहेको छ ।  

होन्डा कम्पनीले सबैभन्दा सस्तो कारको रुपमा ब्रिओको मूल्य २९ लाख २५ हजार  तोकेको छ । होन्डाले सबैभन्दा महँगो कारको रुपमा राखेको सीआरभी आर भी एस आई को मूल्य १ करोड ७ लाखदेखि १ करोड २६ लाख रुपैयाँसम्म तोकिएको छ । यस्तै होन्डाको सिभिक कारको मूल्य ६८ लाख देखि ७५ लाखसम्म तोकिएको छ । होन्डाले मेलामा ९ वटा मोडलका गाडी राखेको छ । 

फोर्डले मेलामा सबैभन्दा सस्तो कारको रुपमा फिगो राखेको छ । यसको न्यूनतम मूल्य २६ लाख ९९ हजार र अधिकतम मूल्य ३५ लाख ९९ हजार तोकिएको छ । फोर्डले सबैभन्दा महंगो कारको रुपमा १ करोड २५ लाख देखि १ करोड ७१ लाख रुपैयाँसम्म पर्ने इन्डेभर मोडल राखेको छ । धेरैले रुचीका साथ हेरेको अल न्यू रेन्जरको मूल्य ७८ लाख रुपैयाँ तोकिएको छ । 

स्यांयोङले नाडा अटो शोमा सबैभन्दा सस्तो कारको रुपमा टिभोली मोडल राखेको छ । यसको मूल्य ५६ लाख देखि ६५ लाख रुपैयाँसम्म तोकिएको छ । स्यांयोङको सबैभन्दा महंगो कारको रुपमा रेक्स्टन हो । यसको मूल्य १ करोड १३ लाख ९९ हजार देखि १ करोड २१ लाख ९९ हजार पनि तोकिएको छ । 

अटो शोमा सुभारु कम्पनीको गाडीको फरेष्टर मोडलको न्यूनतम मूल्य ९९ लाखदेखि १ करोड २० लाख रुपैयाँसम्म रहेको छ । यसको एक्स भी को मूल्य १ करोड ३ लाख देखि १ करोड ५ लाख रुपैयाँसम्म तोकिएको छ । 

नाडा अटो शो मा किया कम्पनीको सबैभन्दा सस्तो मोडल पिकान्टो रहेको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ देखि ३४ लाख ९९ हजार रुपैयाँसम्म पर्छ । कियाको सबैभन्दा महंगो कारको रुपमा स्पोर्टेज रहेको छ । यसको मूल्य ६५ लाख देखि ९४ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । 

नाडा अटो शो मा रेनोको सबैभन्दा सस्तो कारको रुपमा क्वीड मोडल रहेको छ । क्वीडको मूल्य २२ लाख २४ हजार रहेको छ । मेलामा रेनोको सबैभन्दा महंगो कारको रुपमा रहेको क्याप्चर मोडलको मूल्य ४८ लाख १४ हजार देखि ६४ लाख ८९ हजार रुपैयाँसँम्म तोकिएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया