डोटीको महादेवस्थान वडा कार्यालय कर्मचारीविहीन, वडाध्यक्ष अाफैंले भ्याउनुपर्छ सबै काम

 भदौ २७, २०७५ बुधबार १४:३८:४ | विमल बिष्ट
unn.prixa.net

डाेटी - वडा कार्यालयमा वडाध्यक्ष नारायण पछेरा मंगलबार असिनपसिन भइरहेका भेटिनुभयाे । 

कार्यालयमा सिफारिस लिन आउनेको ओइरो थियो । उहाँ सेवाग्राहीका सिफारिस फारम भर्नेदेखि दर्ता चलानी र राजश्व काट्ने काम एक्लै भ्याइरहनु भएको थियो । 

सेवाग्राहीको काममा व्यस्त देखिएका उहाँलाई बाहिर भने आमा समूह र स्वयंसेविकाहरु स्वास्थ्य सम्बन्धी छलफलका लागि दुई घण्टादेखि कुरिरहेका थिए । ‘अब एक्लै कता कता भ्याउने’,निरास देखिएका उहाँले गुनासो गर्नु भयो,‘म कर्मचारी हुँ कि जनप्रतिनिधि हुँ छ्ट्याउनै गाह्रो भइरहेको छ ।’ 

आदर्श गाउँपालिका वडा नं–४, महादेवस्थान वडा कार्यालय कर्मचारीविहीन छ । कर्मचारीका नाममा एक निरक्षर एकल महिला कार्यालय सहयोगीका रुपमा छिन् । कर्मचारीविहीन भएपछि वडाध्यक्ष पछेरा कर्मचारी र जनप्रतिनिधि दुवैका काम एक्लै भ्याइरहनुभएको छ । 

एक्लैले काम गर्नुपर्दा सेवाग्राहीको गुनासो पनि उहाँमाथि थपिंदै गएको छ ।

‘के के न सोचेर जनताको हितका लागि काम गर्छु भनेर जनप्रतिनिधि बनियो’, आँसु झार्न मात्र नसकेका उहाँले मधुरो स्वरमा भन्नुभयो,‘जिम्मेवारी पाएर आएपछि यहाँको व्यवस्था देख्दा आत्मग्लानी महसुस भइरहेको छ ।’ 

साविकको महादेवस्थान  गाविस अहिले आदर्श गाउँपालिकाको वडा नं ३ र ४ बनेको छ ।

वडा नं. ३ का लागि गाउँपालिकाले सामाजिक परिचालक डिल बहादुर रोकायालाई नियुक्त गरेको छ तर वडा नं. ४ मा परिचालक छैनन् । दुवै वडामा जिविकोपार्जनँंग सम्बन्धित विश्वेश्वर प्रसाद कार्यक्रम लागू भएको छ । तैपनि गाउँपालिकाले त्यस कार्यक्रम अन्र्तगतका कर्मचारी पनि वडा नं. ३ मै लगेर राखिदिएको छ । 

‘अन्य वडामा सामाजिक परिचालक राख्ने, करारमा कर्मचारी राख्ने’, स्थानीय लालबहादुर अवस्थीले दुखेसो गर्नु भयो,‘हाम्रो वडामा भएका कर्मचारीलाई पनि अन्यत्र तान्ने काम गरिएको छ, यो भन्दा बढी अन्याय के हुनसक्छ ?’ 
स्थानीयले वडालाई कर्मचारीविहीन बनाइँदा केन्द्रको सिंहदरबार गाउँमा आएको अनुभूति पाउन नसकेको आरोप लगाए । 

वडा कार्यालयलाई कर्मचारीविहीन बनाउनुको कारण भने राजनैतिक रहेको स्थानीयहरु बताउँछन् । 

आदर्श गाउँपालिकामा रहेका ७ वडामध्ये पछेरामात्र कांग्रेसबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । अध्यक्ष, उपाध्यक्षदेखि सबै अन्य पार्टीबाट निर्वाचित  जनप्रतिनिधि छन् । ‘एक्लो वडाध्यक्ष भएकाले मेरो रमिता हेर्न वडा कार्यालय कर्मचारिविहीन बनाइदिए’, वडाध्यक्ष पछेराले भन्नुभयो,‘बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय कुरेर सेवाग्राहीको काम गर्छु,जनप्रतिनिधिका रुपमा गर्नुपर्ने काम साँझ बिहान गरिरहेको छु ।’ 

उहाँको सबैभन्दा बढी गुनासो वडा नं. ४ का बासिन्दामाथि छ । 

उहाँले वडा नं. ४ का बासिन्दाले आफूमाथि राजनैतिक पूर्वाग्रह राखेर गाउँपालिकाको नेतृत्व नै असफल बनाउन प्रयास गरिरहेको आरोप लगाउनुभयो । तर गाउँपालिका अध्यक्ष टेक बहादुर रोकाया भने राजनैतिक पूर्वाग्रह गरेको आरोपको खण्डन गर्नुहुन्छ । 

उहाँले कर्मचारी अभाव भएकाले नै सिंगो गाउँपालिकामा काम गर्न कठिनाइ भएको तर्क गर्नुभयो । ‘लामो समय कार्यकारी अधिकृत नहँुदा सचिवले नै चलाउनु भएको थियो’, उहाँले भन्नु भयो,‘एउटै सचिवले ४ वडा हेरिरहनु परेको अवस्थामा कहाबाट कर्मचारी ४ नम्बरमा खटाउने?’ 

प्रत्येक चौमासिकमा गाउँपालिकाले सामाजिक सुरक्षा भक्ता ल्याएर उहाँको हातमा थमाइदिन्छ । उहाँ कागजात र पैसा बोकेर सामाजिक सुरक्षा भत्ता बाँड्न टोल टोल पस्नुहुन्छ । 

घटना पञ्जिकरण गर्न झोलामै सिफारिस फारम, छाप र राजश्व काट्नका लागि बिलका ठेली आफूसँगै बोकेर हिँड्नुहुन्छ । ‘वडाध्यक्षको मर्म देखेर साह्रै दया लाग्छ’, स्थानीय हरिना जोशीले भन्नुभयो,‘अबका चार वर्षसम्म यहि हालत हो भने वडाबासीलाई नै असर पर्छ ।’ 

उहाँको वडामा वडासचिव गणेश ओझालाई जिम्मेवारी दिइएको छ । तर उनलाई ४ नं. वडासँगै अन्य ३ वटा वडाको पनि जिम्मेवारी छ । 

एउटा वडामा हप्ता दिन दिएपनि उहाँलाई समय पुग्दैन । ‘एक्लै कहाँ कहाँ जानु ’, वडा सचिव ओझाले भन्नुभयो,‘सँगसँगै गाउँपालिकामा पनि काम गर्नुपर्ने भएकाले वडामा जान फुर्सदै हुन्न, समय पाएसम्म जाने गरेको छु ।’

उनी महिना दुई महिनाका लागि पुग्ने गरी सिफारिस लगायतका अन्य फाराममा हस्ताक्षर र छाप लगाएर वडा कार्यालयमा छाडिदिने गर्छन । 

सेवाग्राही आएमा वडाध्यक्ष पछेराले फारम भरेर सिफारिस गरी पठाउने गरेको वडा सचिव ओझाले बताउनुभयो । कतिपय कागजात आफंै बोक्ने भएकाले सिफारिस सचिवले नै गरिदिन्छन् । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया