चुनाव रोक्न नसकेपछि एन्फा अध्यक्ष उम्मेदवारले चुनाव बहिष्कार गरे

कर्मा छिरिङको जित निश्चितजस्तै

 बैशाख २१, २०७५ शुक्रबार १९:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ – शनिबार हुने एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनका अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले चुनाव बहिष्कार गरेका छन् ।

 

शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्षका उम्मेदवार कुँवरले विधि र विधानअनुसार चुनाव नगरिएको भन्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन् । यद्यपि उनले चुनाव बहिष्कार गरेको नभई चुनावी प्रक्रियामा सहभागी नहुने निर्णय मात्र गरेको बताएका छन् ।

‘हामीले विधानसम्मत चुनाव हुनुपर्छ भनेका हौँ, विधान मस्यौदा समितिको संयोजकको हैसियतमा पनि बिधानअनुसार नभएको चुनावको अर्थ छैन, त्यसैले चुनावी प्रक्रियामा सहभागी हुने औचित्य देखिन ।’ कुँवरले पत्रकार सम्मेलनमा भने । 

अध्यक्षका उम्मेदवार कुँवरले चुनावबाट बाहिरिएको निर्णय गरे पनि उनका प्यानलका अन्य भने चुनावी प्रक्रियामा सहभागी हुने बताइएको छ । तर, उपाध्यक्षका उम्मेदवार तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले पनि चुनावमा सहभागी नहुने निर्णय गरेका छन् ।
 
विधानअनुसार ६० दिनको म्याद आवश्यक पर्नेमा बिधान उल्लंघन गरी चुनाव गर्न खोजेको र विधान मस्यौदा समितिको संयोजकको हैसियतमा पनि चुनावमा सहभागी हुन नैतिक आधार नरहेको भन्दै अध्यक्षका उम्मेदवार कुँवरले बहिष्कार गरेका हुन् ।

उनले चुनावी प्रक्रियामा सहभागी नहुने बताए पनि चुनावी प्रक्रिया सुरु भइसकेको र उम्मेदवारको नाम फिर्ता लिने समय पनि घर्किसकेको हुनाले कुँवर अध्यक्ष पदको उम्मेदवारकै रुपमा कायम रहने बताइएको छ ।
 
एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कुँवर र कर्माछिरिङ शेर्पा प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । कुँवरले चुनावबाट पछि हट्ने निर्णय गरेपछि एन्फा अध्यक्षमा कर्मा छिरिङको जित निश्चितजस्तै भएको छ ।
 
बिधानसम्मत नभएको भन्दै कुँवर समूहले शनिबार हुने एन्फा चुनाव रोक्न हरसम्भव प्रयत्न गरेका थिए । उनको प्यानलका ८ जनाले बुधबार चुनाव रोक्न काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा विहीबार अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरिदिएपछि उनीहरु बाध्य भएर चुनावमा सहभागी हुनुपर्ने अवस्था बनेको थियो ।
 
एन्फाको कार्यतालिका अनुसार गएको चैत १४ गते नै चुनाव हुनुपर्ने थियो । तर, भक्तपुर र मकवानपुर जिल्लाले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले चैत ८ गते अन्तरिम आदेश दिएपछि चैत १४ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।
 
पाटन उच्च अदालतले गत वैशाख १२ गते आफ्नो अन्तरिम आदेश खारेज गरिदिएपछि निर्वाचन समितिले सबै जिल्ला तथा प्रतिनिधिलाई कार्यसूचीसमेत पठाइसकिएको अवस्थामा जहाँबाट स्थगित भएको थियो त्यहीँबाट सुरु गर्न भन्दै वैशाख १४ गते सबै प्रतिनिधिलाई पत्राचार गरी २२ गते साधारणसभामा उपस्थिति हुन भनेको थियो । एन्फा चुनाव शनिबार हेरिटेज गार्डेन सानेपामा हुने तय गरिएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया