के सङ्घीयता भनेको रामराज्य हो ?

 भदौ ३०, २०७५ शनिबार ९:१७:२६ | विनाेद न्याैपाने
unn.prixa.net

सङ्घीयता नैः प्रदेश र स्थानीय नागरिकहरूले आफ्ना दृष्टि, प्रजातान्त्रिक चिन्तन, आवश्यकता र समृद्धि आदि इत्यादि विषयवस्तुमा स्वतः परिचालन, आफै निर्णय र आफै व्यवस्थापन गर्ने अवस्थामा पुर्‍याउने वातावरण हो ।

नेतृत्व, शक्ति, साधन र स्रोतको सार्थक अभ्यास हो, जसका खातिर भएका नीति–नियमका साथ व्यवहार एवम् क्षमताको उत्तिकै दरकार पर्दछ । आफ्ना विषयमा जिम्मेवारी लिन र भूमिका पूरा गर्न स्वाधीन हैसियतमा रहने गर्दछ । वित्त, अधिकार र क्षमता यसै अनुरूप निक्षेपण गरिएको हुन्छ ।

नागरिक संस्थाहरूले सार्वभौम सत्ताको सीमित उपयोग गर्दै शासन व्यवस्थालाई प्रभावकारी र जवाफदेही बनाउने हो । सङ्घीयता फुटेकालाई जुटाउने, विभिन्न उद्देश्य राख्नेहरूलाई एक उद्देश्यमा ल्याउने एक राजनीतिक गतिशील, वजनदार अस्त्र हो । एक प्रक्रिया, माध्यम र रणनीति हो । विकेन्द्रीकरण र सङ्घीयता
अवधारणामा यसलाई प्रभावित पार्ने अर्थतन्त्रले नै हो । यो कार्य गर्ने स्थानीय सवलीकरणले नै हो ।

नेपालको सङ्घीयताका सन्दर्भमा अधिकार विकेन्द्रित गर्ने अवस्थामाः संविधानको अनुसूची–५ मा संघको अधिकार सूची, अनुसूची–७ मा संघ र प्रदेशको साझा अधिकार सूची, अनुसूची–८ को स्थानीय तहको अधिकार सूची हेर्दा र अनुसूची–६ अर्थात; प्रदेशको अधिकारका आधारमा हाम्रो सङ्घीयता नाम मात्रको छ ।
अनुसूची–९ को संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची हेर्दा अनौठो जो कोहीलाई लाग्न सक्छ (हेर्नुस्: नेपालको संविधान) ।

स्थानीय तह र प्रदेशको साझा अधिकार सूची किन बनाइएनन् ? अधिकार खोज्नु सबै नेपालीहरूको हक हो । आर्थिक र सामाजिक रूपान्तरणको अवस्था अध्ययन नगरी, विज्ञहरू बेगर पार्टीका मान्छे राज्य पुनःसंरचना आयोगदेखि नै मिलोमतोमा रहेर व्यक्ति स्वार्थ र राजनीतिक स्वार्थ मात्र प्राथमिकतामा राखी यो सङ्घीयताको रूपरेखा कोरिएको छ । यसले गर्दा भ्वांग टाल्न धेरै समय हामीले खर्चनु पर्ने छ ।

अझै समयको विश्वव्यापीकरण बहावमा स्थानीय तहका रेसाभित्र पसेर कार्य गर्न धेरै समय र शक्ति खर्चनु पर्ने छ । सङ्घीयता त्यसैले बुझ्नुपर्छ जसमा विविधता समेटेर राज्य चलाउने एक पद्धति हो ।

सङ्घीयता केन्द्रको शक्ति विकेन्द्रीकरण हो । नागरिक सशक्तीकरणको यात्रा होइन । सङ्घीयताले स्थानीय सरोकारका सबै विषयलाई सम्बोधन गर्न सक्दैन । जात, वर्ग, लिङ्ग, क्षेत्र र भाषा जस्ता विविधतालाई संस्थागत गर्ने प्रयास सङ्घीयताले गर्दछ । यसको अभ्यास थलो स्थानीय निकाय नै हो ।

क्विन्स युनिभर्सिटीका प्रोफेसर रोनाल्ड एल. वाट्स भन्छन् : सङ्घीयता राजनीतिक विचारधारा हो, एक बाटो हो जसले विविधतालाई एकता गराउँदै शान्तिपूर्ण बाटो हिँडाउँछ । एक्लो राजनीतिक पद्धतिभित्र धार्मिक, सांस्कृतिक, भाषाहरू, रीतिथिति आदि विविधता अट्ने अटाउने हुन्छ । यो, राष्ट्रले आफैले आफैलाई उभ्याउने
पद्धति हो ।

सङ्घीयता भन्नासाथ केन्द्रीयताको अन्त्यका साथै, नयाँ सुरु हुँदैः चाहे स्तरको सानो सरकार, प्रत्यक्ष उत्तरदायीत्व बोकेको, स्वायत्त शासन सञ्चालन गर्ने राजनीतिक इकाइ; प्रत्येक व्यक्तिको जिम्मेवारी बोकेको पद्धति हो । बुझ्ने कुरो केन्द्रमुखी शासन व्यवस्था हुँदा एकल नागरिकसम्मको राज्यको पहुँच थोरै थियो भने अब प्रदेश र स्थानीय निकायको पहुँच दूरी छोटो हुन्छ ।

सङ्घीयतामा चलायमान राज्यलाई बनाउन प्रस्ट फिस्कल (अर्थ, अर्थसम्बन्धी र वित्तीय), प्रशासनिक, राजनीतिक र अन्य सम्बन्ध सबै विकेन्द्रीकरण अर्थात् शक्ति हस्तान्तरण (प्रदेश, स्थानीय तहमा (कार्यधिकार, क्षेत्राधिकार आदि) के कति  भन्ने प्रस्ट राज्यको संविधानमा नै उल्लिखित गरिएको हुन्छ । हाम्रो संविधानमा

प्रदेश र स्थानीय तहको अधिकार प्रस्ट उल्लिखित छन् । प्रदेश र स्थानीय तहले संविधानभित्र रहेर आफूलाई चलायमान बनाउँदै सबै विकेन्द्रित गरिएका (अधिकार) विषयवस्तुको आफ्नो क्षेत्रभित्र बसोबास गर्नेहरूको माग र पूर्तिका लागि कार्य गर्नुपर्दछ ।

शक्तिको विकेन्द्रित भन्नासाथ; कसरी हामीले शासित गर्छाैँ अनि जीवन पद्धति राम्रो बनाउँछाैँ भन्ने आउँछ । जसभित्र, कसरी अर्थलाई चलायमान बनाउने ? रोजगारीका अवसर कसरी सिर्जना गर्ने ? हाम्रो शैक्षिक पद्धति कता लैजाने जस्ता कुरा आउँछन् । विकेन्द्रीकरण गरिएको शक्तिको दृष्टि, उद्देश्य, सिद्धान्त र रणनीति
हेरिनु पर्दछ ।

विकेन्द्रीकरण प्रक्रियामा या समाहित, प्रभावकारिता र वितरण हेरिन्छ । यसले स्थानीय र राष्ट्रिय नायकलाई सोचाइ, अभ्यासको परिदृश्य र रूपरेखा दिन्छ (पाइक एन्डी, २०१६) । हाम्रो परिप्रेक्ष्यमा अहिले नयाँ लागू गरिएको विकेन्द्रीकरणको सम्भावित प्रभावकारिता, परिणाम र प्रभाव हेर्नुपर्छ । अर्थात, योजना÷आयोजना चक्र नियाल्नु पर्दछ ।

यसभित्र चार आधार स्तम्भ रहेका हुन्छन् ।आर्थिक दक्षता, वित्तीय समानता, राजनीतिक जबाफदेहिता र प्रशासनिक प्रभावकारिता ।

सङ्घीय पद्धतिमा यी चलायमान कसरी हुन्छन् ? त्यसैका आधारमा सङ्घीयता राम राज्य हो वा होइन निक्र्यौल हुन्छ । यस पद्धतिले काम गर्छ गर्दैन भन्ने भविष्यले बताउने हो । आशा गरौँ दृष्टि भएको शासक, बहादुर र बुद्धिमान शासक पाए नेपालले खुट्टो टेक्ला । पद्धतिभन्दा हाम्रो व्यक्ति पूजामा जाने परिपाटीले ठूलो दुःख दिएको छ ।

-शनिबार विमोचन हुँदै गरेको न्यौपानेको पुस्तक “नेपालमा सङ्घीयता र राजनीतिक आर्थिक बहाव” बाट । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया