टोखा नगरपालिकाको एउटा घटना : महिलामाथिको हिंसा कहिलेसम्म ?

 भदौ ३०, २०७५ शनिबार १६:३९:३१ | विना न्याैपाने
unn.prixa.net

देशकै राजधानी रहेको काठमाडौं जिल्लामा पर्ने टोखा नगरपालिका प्राचीन र ऐतिहासिक शहर पनि हो ।

केही दिनअघि नगरपालिकाको कार्यालयमा पुग्दा स्थानीयबासिन्दा आ–आफ्नै समस्या र गुनासा बोकेर आएका थिए । कसैलाई घरजग्गाको समस्या मिलाउनु थियो, कसैलाई बाटोघाटो र साँध सीमानाको ।

समस्या लिएर आउनेहरुको भिडमा एकजना एकल महिला पनि हुनुहुन्थ्यो । उहाँसँगको कुराकानीपछि मेरो मनमा तरङ्ग पैदा भयो । काठमाडौंमा त यस्तो छ भने झन् देशका दुर्गम ठाउँहरुको अवस्था कस्तो होला ? जस्तो लाग्यो । धेरै सोच्न बाध्य बनायो ती एकल महिलाको कुराले ।

उहाँको पीडाले मनमा नराम्रो चोट पुग्यो । पीडितसँग सबै कुरा सोध्ने आँट आएन । नगरपालिकाकी उपप्रमुखसँग कुराकानीपछि सबै कुरा बुझ्ने मौका पाएँ । 
टोखा नगरपालिकाको झोर नजिकै डेरा गरेर बस्ने ती एकल महिलाकी ३ वटी छोरी छन् । कक्षा ९ मा पढ्दै गरे्की कान्छी छोरी पहिलो त्रैमासिक परीक्षा सकेर बेलामा घर फर्किनन् । आउने बाटो हेर्दाहेर्दै रातको ९ बज्यो ।

त्यसपछि छिमेकीको सहयोगमा प्रहरीलाई खबर गरियो । त्यो रात फेला परेन । भोलिपल्ट पनि खोजी भयो, केही पत्तो लागेन । लगातार ६ दिनसम्म दिन रात नभनी खोजेपछि छिमेकमा डेरा गरी बस्ने राजबिराज घर भएको केटोले प्रलोभनमा पारेर मुम्बई पुर्याएको थाहा भयो ।

त्यसपछि केटाको घरमा गएर बिहेको लागि पुरै तयारी भैसक्यो भनेर ९ तोलाको नक्कली गहना देखाएर दुवै जनालाई झिकाइयो । पहिलेदेखि नै केटी बेच्ने गरेको भन्ने खुलेपछि त्यो नाटक गरेर नेपाल झिकाईएको थियो ।

छोरी त फेला परिन्, तर ती एकल महिलाले अझै न्याय पाएकी छैनन् । न्यायको ढोका ढक्ढक्याउने आँट पनि छैन । केटीको मेडिकल रिपोर्टपछि  नगर उपप्रमुखको पहलमा अहिले अभियुक्तलाई बलात्कार र चेलिबेटी बेचबिखनको आरोपमा मुद्दा हाल्ने भनिएको थियो ।

उल्टै केटाको घर परिवारले छोरा बेपत्ता परेको भनेर मुद्दा हालेपछि केटी घरबाट बाहिरै निस्कन मानेकी छैनन । समाजले गर्ने व्यवहारले उनको दैनिकी पनि सहज छैन । पहिला एउटै घरमा बस्ने गरेको भए पनि अहिले केटो अर्कै ठाउँमा डेरा गरेर बसेको रहेछ ।

नगर उपप्रमुख ज्ञानमाया डंगोलको पहलमा न्यायको खोजी गर्ने भनेर लागे पनि उल्टै  अहिले ती महिला सम्पर्कमा आएकी छैंनन । छोरी घरबाट निस्कन नमानेपछि आमा पनि नगरपालिका नआएको हुन सक्ने डंगोलले बताउनुभयो । ‘ती महिला फेरि सम्पर्कमा आएमा मैले न्याय दिलाएरै छोड्छु, मैले सम्बन्धित निकायमा कुरा राखेको छु’ उहाँले भन्नुभयो ।

काठमाडौंकै नगरपालिकामा बस्ने महिलाले न्याय पाउन नसकेको थाहा पाएर मेरो मनमा प्रश्न उठ्यो, के हाम्रो देशको कानून नाम मात्रैको लागि हो ? कि कानुन पहुँचवालाको लागि मात्रै हो ? के हिजोआज प्रविधिले पनि यस्ता खालका घटना गराउन सहयोग गरेकै हुन् त ? कि हाम्रो देशको शिक्षाले सचेत बनाउन नसकेको हो ? किन सम्बन्धित निकाय मौन छ ?

यस्ता खालका धेरै प्रश्न उठेको छ, तर प्रश्नको जवाफ मिलेको छैन । अहिले सबैको पहुँचमा रहेको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमो, भाइबर लगायतका माध्यमबाट मायाको नाटक गर्ने अनि बिहे गर्ने प्रलोभनमा पारेर कसैले यौन शोषण गर्ने त कसैले मुम्बईको कोठीसम्म पुर्याउने गरेका तथ्य धेरै अनुसन्धानले देखाएको छ ।

चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जालका अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । अहिले भारतमा धेरै नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ ।

विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखन हुने गरेको तथ्याँक छ । नेपालमा पनि चेलिबेटीमाथि बलात्कार, हिंसा र बेचबिखनको घटना दिनदिनै बढिरहेका छन् । धेरै तथ्य त लुकाईएको छ, घरपरिवार अनि समाजको डरले ।

दिन प्रतिदिन हत्या, हिंसा, बलात्कार र बेचबिखनको खबर दोहोरिरहेका छन् । आखिर कहिलेसम्म ? 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया