सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा पर्‍याे मुद्धा

 असोज १, २०७५ सोमबार १३:३३:५१ | एजेन्सी
unn.prixa.net

सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ ।

एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को उत्पादन बन्द गरिनुपर्ने माग गरेकी छिन् । 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाका अनुसार चुङ एक रियल स्टेट एजेन्ट हुन् । गएको सेप्टेम्बर ३ को राति चुङ लिफ्टबाट ओर्लिरहेकी थिइन् । उनको मोबाइल एक्कासि तात्न थाल्यो । त्यसपछि उनले आफ्नो मोबाइल पर्समा राखिन् । एकछिनपछि उनको मोबाइलबाट आवाजका साथै धुवाँ आउन थाल्यो । 

त्यसपछि उनले आफ्नो मोबाइल पर्सबाट निकालिन् । मोबाइल बलिरहेको थियो । मोबाइल फ्याँक्ने क्रममा उनको औँलामा पोलेको थियो । केही समय मोबाइल बलिरह्यो । 

यो घटनापछि सामसुङले ग्यालेक्सी नोट ९ मा यस्तो घटना पहिलो पटक भएको बताएको छ । यो मोडेल लन्च गर्ने बेलामा सामसुङका सीईओले ग्यालेक्सी ९ एकदमै सुरक्षित भएको र ब्याट्रीमा आगो नलाग्ने बताएका थिए । 

यसअघि सामसुङको ग्यालेक्सी नोट ७ मा आगलागी भएको थियो । त्यसपछि सामसुङले बजारमा रहेको ग्यालेक्सी नोट ७ फिर्ता मगाउनु परेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया