भारतीय सेना प्रमुख रावतले भने : चीनले नेपाललाई  सित्तैमा केही दिइरहेको छैन

 असोज १, २०७५ सोमबार १९:५३:३१ | एजेन्सी
unn.prixa.net

भारतीय सेनाका प्रमुख बिपिन रावतले चीनसँग आर्थिक सहयोग लिइरहेका देशहरुले छिट्टै नै फ्रीमा केही पनि नपाइने रहेछ भनेर महसुस गर्ने बताएका छन् । 

बिमस्टेकको ‘संयुक्त सैन्य अभ्यास’ को समापन गर्दै रावतले पछिल्ला दिनहरुमा नेपाल चीनसँग नजिकिँदै गएको भन्दै टिप्पणी गरेका थिए । पछिल्ला दिनहरुमा नेपाल र चीनको निकटता बढ्दै गएको भन्दै रावतले भने, ‘कुनै पनि देशले आर्थिक विकास गर्न चाहन्छ भने उसले द्विपक्षीय र बहुपक्षीय सहयोग खोज्नुपर्दछ । चीनसँग प्रशस्तै पैसा छ, त्यसैले खर्च गरिरहको छ ।  तर जुन देशले उसको सहयोग लिइरहेका छन्, उनीहरुले छिट्टै नै थाहा पाउनेछन् कि फ्रीमा त केही पनि पाइँदो रहेनछ ।’

सेना प्रमुख रावतले यस्ता खालका सम्बन्ध अस्थायी हुने बताउँदै वैश्विक सामाजिक–आर्थिक परिदृश्यमा आउने परिवर्तनसँगै यस्ता सम्बन्धहरुमा पनि परिवर्तन आउने बताए । सेना प्रमुख रावत भन्छन्, ‘यसको सबैभन्दा उपयुक्त उदाहरण अमेरिका र पाकिस्तानको सम्बन्ध रहेको छ । पहिले जस्तो सम्बन्ध दुई देशबीच थियो, अहिले बिल्कुलै त्यस्तो छैन । यस्तोमा हामीले अस्थायी एलायन्सलाई चिन्ता लिनुपर्ने आवश्यकता छैन । हामीले आफ्नै अर्थव्यवस्था बलियो बनाउनुपर्छ ।’

सेनाप्रमुख रावतले नेपाल तथा भुटानजस्तो भौगोलिक बनावट भएका देशले भारतप्रति झुकाव राख्नुपर्ने पनि बताए । उनले भने, ‘भारत आफ्ना छिमेकी देशहरुसँगको कुटनीतिक सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । भारतले छिमेकी पहिला तथा एक्ट इस्टको सिद्धान्तमा अगाडि बढिरहेको छ । बिमस्टेक पनि यसैको हिस्सा हो । हाम्रो देश ठूलो छ । यदि हामीले यसको सुरुवात गर्छौँ भने अरु देशले त्यसको अनुशरण गर्नेछन् ।’

सेनाप्रमुख रावतले भारतको आर्थिक प्रतिस्पर्धीका रुपमा चीन रहेको बताउँदै दक्षिण पूर्वी एसियामा आफ्नो प्रभुत्व देखाउन दुवै देश लागिपरेको बताए । 

एक हप्ता पुणेमा चलेको संयुक्त सैन्य अभ्यासमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, तथा भुटानका सैनिकहरु सहभागी भएका थिए । थाइल्याण्ड र नेपाल भने सैन्य अभ्यासमा सहभागी भएनन् । नेपाल र थाइल्याण्डले आ–आफ्ना पर्यवेक्षक टोलीलाई सैन्य अभ्यासमा पठाएका थिए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Mohan sunuwar

    Sept. 18, 2018, 5:45 a.m.

    त्यसो त भारतले के चाहिँ सित्तैंमा दियो त ? नाकाबन्दी ? १९५० को सन्धी ? फटाहाहरु ...अरुको सीमाना मिच्ने अनि भारत प्रति झुकाव राख्नु भन्ने अधिनायकवादी कुरा गर्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया