यसरी हानियो दिउँसै खुर्सिदलाई गोली

फैजन हत्याको अर्को श्रृङ्खला भएको मुस्लिम अगुवाको दावी

 असोज ४, २०७५ बिहिबार १६:४०:१३ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीको हरिनगरा –२, भुटाहाका रैयन पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद आलमको हत्या  भएको छ ।

खुर्सिदको हत्या गरेर शुटर फर्कँदासमेत नजिकै रहेको सशस्त्र प्रहरी र दंगा प्रहरीले कुनै कारबाही नगरको भन्दै सुनसरीको भुटाह क्षेत्रका सर्वसाधारण आन्दोलित भएका छन् ।

भारतीय सीमाभन्दा सात किलोमिटरभित्र नेपालतर्फ  पसेर बीच बजारमा शुटरले गोली हानेर भाग्दासमेत नजिकै रहेको सशस्त्र प्रहरीको बेस क्याम्प र दंगा नियन्त्रण गणले कुनै कारबाही नगरेको भन्दै स्थानीय आक्रोशित छन् । 

गोली चलाइएको घटनास्थल नजिकै डीएसपीको कमाण्डमा सशस्त्र प्रहरीको बेस क्याम्प रहेको छ भने नजिकै रहेको बसन्तपुरमा दंगाको गुल्म रहेको छ । 

घटना भएपछि प्रहरीलाई बोलाउँदा समेत समयमा प्रहरी पनि नआइपुगेको भन्दै अहिले  घटनाको विरोधमा भुटाहा बजारमा स्थानीयले प्रदर्शन थालेका छन् । मृतक आलमको शव बाटोमा राखेर स्थानीय प्रशासनको विरोधमा उनीहरु उत्रिएका छन् । 

टायर बालेर स्थानीय प्रशासनविरुद्ध नाराबाजी भइरहेको छ । एमालेका तत्कालीन जिल्ला कमिटी सल्लाहकार समितिका सदस्य आलमको हत्या सामान्य हिसाबले नभएको नेकपा नेता तथा मुस्लिम अगुवा महफुज आलामले बताउनुभयो । ‘यो सामान्य प्रकारको रिसिइबीका आधारमा भएको घटना हुँदै होइन’, उहाँले भन्नुभयो, ‘घटनाको प्रकृति हेर्दा यसमा ठूलै शक्ति लागेको छ ।’ 

यसरी भयो दिउँसै हत्या 

खुर्सिद आलाम रैयन पब्लिक स्कुलका प्रधानध्यापक मात्रै नभएर त्यो विद्यालयका सञ्चालकसमेत हुनुहुन्थ्यो । पछिल्लो केही वर्ष यता भने उहाँ मुस्लिमहरुको धार्मिक संस्था ‘तावा एण्ड इस्लाह सेन्टर नेपाल’मा सक्रिय रहँदै आउनु भएको थियो ।  आज विद्यालयको बैठक थियो । बैठक सकिएपछि आफैले मोटरसाइकल समेत चलाउन नजान्ने खुर्सिद सालो अमिन मियाँको मोटरसाइकलमा  बसेर खाना खानका लागि घर फर्कँदै हुनुहुन्थयो । 

स्कुलबाट ४० मिटर हिँड्नेबित्तिकै बीच बजारमा पछाडिबाट पछ्याउँदै २ वटा मोटरसाइकलमा आएका चार जना हतियारधारीले खुर्सिद चढेको मोटरसाइकल रोके । मोटरसाइकल रोकेर अमिनलाई ओरालेपछि नजिकैबाट हतियारधारीले खुर्सिद आलमलाई छाती र घाँटीमा गोली हानी  हत्या गरे ।

स्थानीय  नागरिक लश्किरी अन्सारीका अनुसार गोली हानेपछि उनीहरु भारततर्फ भागे । मध्याह्नको बेला भएकाले मुस्लिम बाहुल्यता रहेको भुटाहा बजार सुनसान थियो । गोली चलेपछि अमिनले हल्ला गरे । स्थानीयले तत्काल हल्लाखल्ला गरे पनि उनीहरु दक्षिणतर्फ लागे ।

‘हामीले प्रहरीलाई पनि तत्कालै खबर गर्‍याै‌ँ तर सात किलोमिटर ग्राभेल बाटोबाट शुटर भारत पुग्दासम्म प्रहरीले पक्राउ गर्न सकेन’, अमिनले भने । सीमा कट्न लाग्दा घुस्की प्रहरी चौकीले रोक्न  खाेज्दा उनीहरुले प्रहरी जवान शिवकुमार पौडेललाई गोली हानी फरार भए । 

फैजान अहमद हत्या जस्तै प्रकृति 

२०६८ साल असोज नौ गते तत्कालीन इस्लामिक संघका महासचिव फैजान अहमदको काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो । त्यो घटनामा पनि शार्प शुटरको प्रयोग भएको थियो । 

आलम हत्यामा पनि शार्प शुटर नै प्रयोग भएको छ । अगाडि जो आँउछ उसैलाई उडाएर भाग्ने हिम्मतका साथ शुटर आएकाले यो घटना फैजल हत्या काण्डकै अर्को श्रृखला भएको महफुजको तर्क छ ।

‘पैसाका हिसाबले कसैले मार्‍याे भन्न आलमसँग पैसा थिएन । अरु कुनै झै–झगडा थियो भने उहाँ त्यस्तो स्वभावको मानिस नै होइन’, एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले भन्नुभयो, ‘खुर्सिद एकदमै मिजासिलो स्वभावका  हुनुहुन्थ्यो ।’ 

देश विदेशका सूचनाहरु राख्ने र सूचनाका आधारमा तर्क र विश्लेषण गर्न सक्ने क्षमता खुर्सिदमा थियो । आर्थिक रुपमा सम्पन्न नभए पनि मुस्लिम समुदायको हक अधिकार सुनिश्चत गर्नु पर्छ र मुस्लिमहरुले पनि पढ्नु पर्छ भन्ने अभियानमा खुर्सिद लागेको मुस्लिम अगुवाहरु बताँउछन् । 

पछिल्लो केही वर्ष यता भने मुस्लिमहरुको धार्मिक संस्था ‘तावा एण्ड इस्लाह सेन्टर नेपाल’ मा खुर्सिद सक्रिय रहँदै आउनु भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया