थानकोट डिपोबाट पेट्रोल पम्पहरुमा इन्धन वितरण सुरु

 असोज ५, २०७५ शुक्रबार १४:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमको थानकोट डिपोले शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा इन्धन वितरण सुरु गरेको छ ।

मुलुकी अपराध संहिताको विरोधमा चालकहरुले ट्यांकर नचलाएपछि डिपोले अाफ्नै पहलमा पम्पहरुमा इन्धन वितरण सुरु गरेको हो । डिपो प्रमुख भरत रेग्मीका अनुसार चक्रपथ बाहिरका पेट्रोल पम्पमा पहिलो चरणमा पेट्रोलियम पदार्थ वितरण गरिएको हो ।

‘डिजलको माग भएका क्षेत्रमा हामीले पहिलो प्राथमिकता राख्यौं’, उहाँले भन्नुभयो, ‘यसले लामो दूरीका सवारी साधनलाई डिजल भर्न सजिलो हुने विश्वास छ ।’ उहाँका अनुसार बिहीबार साढे पाँच लाख लिटर पेट्रोल वितरण गरिएको छ ।

सामान्य समयमा ६ लाख लिटर पेट्रोलको माग हुने तर सवारी चालकको हड्तालका कारण ढुवानीमा कमी आएको प्रमुख रेग्मीले जानकारी दिनुभयो । काठमाडौंका डिपोबाट तेल ढुवानी नभए पनि काठमाडौंमा भने नियमित तेल आयात भएकाले भण्डारणमा केही समस्या नआएको रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार डिपोबाट अन्य वितरण केन्द्रमा पेट्रोलियम पदार्थ ढुवानी भैरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था आउने छैन । चालकको हड्तालका कारण समस्या आएकाले त्यो समस्या समाधान हुने वित्तिकै सामान्य अवस्था आउने रेग्मीको भनाई छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया