प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

 असोज ५, २०७५ शुक्रबार १६:१७:४५ | रासस
unn.prixa.net

रसिया र चीनविरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ ।

रुसी उपविदेशमन्त्री सेर्गेइ र्‍याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन् । मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र भएको उल्लेख गरेका छन् । ‘आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बिहीबार संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो । अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनियाँ सैनिक संस्थाविरुद्ध दण्डात्मक सजाय गर्ने घोषणा गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक–सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो । यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए । अमेरिकी प्रतिबन्ध व्यहोर्ने व्यक्ति र कम्पनीहरुमा प्रतिरक्षा सम्बद्ध कम्पनीहरु, जीआरयू सैनिक जासूसी निकायका अधिकृतहरु तथा इन्टरनेट अनुसन्धान एजेन्सीसँग आबद्ध व्यक्तिहरु रहेका छन् ।

प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटाविरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन् । उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले अहिलेसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट गरेका छन् ।

‘अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ । यो हास्यास्पद छ तर उसले लगाइआएको छ’, उनले भनेका छन् । ‘यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि मनोविनोद हो ।’ 

उहाँले सन् २०११ यता अमेरिकाले रुसविरुद्ध घोषणा गरेको यो ६० औं प्रतिबन्ध हो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया