होमस्टेबाटै धनी बनेको चिनियाँ हिमाली गाउँ

 असोज ६, २०७५ शनिबार ७:३२:१० | राजु लामिछाने
unn.prixa.net

अगस्ट २५, तदअनुसार भदौ ९ । चिनियाँ समयअनुसार बेलुकाको पौने आठ बजे । हामी पावोसिङ काउन्टीको हिमाली गाउँ पुगेका थियौँ ।

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दु सहरबाट २ सय १० किलोमिटर टाढाको त्यो गाउँमा १४ जना नेपाली पत्रकार पुग्दा स्थानीयहरु लहरै बसेर नेपाली मिडिया दललाई स्वागतअंकित ब्यानर टल्काउँदै स्वागत गरिरहेका थिए । हाम्रो साथमा चीनको गरिबी निवारण कोषका अधिकारी र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रतिनिधिहरु चेतनाथ आचार्य र राजु हुनुहुन्थ्यो । केही बालक, थोरै वयस्क र बढी युवा उमेरका चिनियाँहरुको न्यानो स्वागतपश्चात हामी स्थानीय होमस्टेमा बाडियौँ, बास बस्नको लागि । 

भोलिपल्ट बुझ्न पायौँ, होमस्टे चलाएरै गरिबीको दलदलबाट मुक्ति पाएका ती गाउँलेका वास्तविकताहरु । कथाजस्तै लाग्छन्, उनीहरु गरिबीको जञ्जिरबाट उम्किएका कुरा सम्झँदा । 

१ हजार ७ सातमिटर अग्लो पहाड, भिरालो जमिन, गरिबीको मार, आयश्रोतबिनाको कच्ची घरबस्ती, सहर र सरकारको पहुँचभन्दा टाढा, राजेगारीका लागि गाउन छोडी परिवार पाल्न मुश्किल हुने अवस्था – अझ नाजुक थियो त्यहाँको अवस्था । तर अहिले हिमाली गाउँको परिचय फेरिएको छ, अवस्था बदलिएको छ । नाम ठोक्किने पहाड छन् दुवैतिर जसले सुन्दर प्रकृतिको दृश्य अवलोकन गर्न कन्जुस्याँई पटक्कै गर्दैन । बीचमा कलकलबग्ने स्वच्छ र निर्मल नदी । जसले नेपालकै भौगोलिकतालाई झलझली सम्झाउँछ । 

सन् २००८ मा पनि हल्लाएको थियो भूकम्पले । फेरि सन् २०१३ अप्रिल २० तारिखमा यो गाउँ भूकम्पले हल्लायो । ७ रेक्टर स्केलको भूकम्पले गाउँ हल्लाएन मात्र, गाउँका अधिकांश घरहरु भत्किएका थिए । मानवीय क्षति नभए पनि ६० घरहरु भत्किएपछि त्यो गाउँमा संकट आयो । गाउँलेहरुले कयौ रात ढुंगा र पालमुनि बिताए, जसोतसो पेट कसेर बाँचे । 

भूकम्पपश्चात विभिन्न संस्था र सरकारको उपस्थिति रह्यो । उनीहरुले सहरका जस्तै अग्ला र चिल्ला महलको आशा राखे । तर, चिनियाँ गरिबी निवारण कोष अग्रसर भई आफू बस्ने, पर्यटक भित्र्याउने र आर्थिक सबलता हासिल गर्ने योजना बताए, उनीहरुले होमस्टे लक्षित बस्ती विकासको डिजाइनमा दत्तचित्त भए । सरकारले अनुदान दियो, सहुलियत ऋण पनि दियो । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले थप सहयोग गर्यो । अनि बन्यो होमस्टे सञ्चालनका लागि सहकारी पनि । 

बल्ल फेरियो पहाडी गाउँ । सिचुवान प्रान्त पाण्डा र बाँसका लागि प्रख्यात भएकाले यहाँका घरहरुको सजावट पनि बाँसबाट नै गरिएको छ । पर्यटकका लागि होमस्टेका चिटिक्क परेका घरहरु बनाइएका छन् । यी घरका तल्लो तलामा भान्साघर, दोश्रो तलामा घरधनीको बसोबास हुन्छभने तेस्रो तलामा पर्यटकहरुको लागि आनन्दित बासस्थान । पर्यटन सेवा, स्थानीय उत्पादन र कला संस्कृतिले गर्दा चीन सरकारले अगाडि सारेको गरिबी निवारण कार्यक्रम सफल बनाएको एउटा नमुना गाउँ । प्राकृतिक सुन्दरता र विशुद्ध प्राङ्गारिक जीवन जिउन चाहनेहरुको पहिलो रोजाई बनेको छ यो गाउँ । 

पहाडी गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिएअनुसार, २०१४ को अन्तसम्म सबै घर पुनर्निर्माण गरियो । सबै घरहरु भूकम्पप्रतिरोधी छन् । घरहरुमात्र होइन हिँड्ने बाटो समेत मौलिक बनाइएको छ । विश्वमा सबैभन्दा पहिला पाण्डा भेटिएको गाउँसमेत रहेकाले यहाँ प्रशस्त बाँस पाइन्छ । 

पुनर्निर्माण भएका ६० घरलाई बासँले बेरिएको छ, आकर्षक शैलीमा । गाउँको प्रवेशद्वारमै ठूलो ढुंगामा उडिरहेको चिलको चित्र कोरिएको छ । जसले इगलजस्तै गाउँको द्रुतविकासको गतिलाई इंगित गर्दछ । गाउँको काखमा ४ सय २० सेन्टिमिटर अग्लो स्मारक बनाइएको छ । ४ सय २० सेन्टिमिटरको अर्थ अप्रिल अर्थात चौथो महिनाको २० तारिख भूकम्प गएपछि सम्झनामा स्मारक बनाइएको हो ।

गाउँमा ७० वर्ष र १०० वर्ष अघिका दुईबाट घरहरु संरक्षण गरेर राखिएको छ । यीनै घरलाई आधार मानेर भूकम्पपछिका घरहरु बनाइएका छन् ।  सरसफाइकाे चुस्त व्यवस्थापन, सामूहिक कार्यले पावोसिङ काउण्टीको हिमाली गाउँ पर्यटकहरुको रोजाईमा परेको छ । 

गाउँ  पुनर्निर्माणताका स्वयमसेवक भएर कार्य गर्नुभएकी  सी सिआओ छोङले हीले गाउँमा वार्षिक ५० हजार पर्यटक गाउँमा आउने गरेको बताउनुभयो । स्थानीय सहकारीको प्रबन्धक समेत रहेकी उहाँले शनिबार र आइतबार हुने बिदामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको बताउनुभयो । होमस्टेमा बस्दा सिंगल कोठाको एक रातको ३६० र डबल कोठाको ६२० युआन पर्छ । 

होमस्टे बस्दा गाउँलेहरुले पाहुनालाई सकभर स्थानीय खाना खुवाउँछन् । पर्यटकहरुलाई त्यहाँको मौलिक सस्कार देखाउँछन्, साँस्कृतिक झलकहरुमा रमाउन लगाउँछन् । स्थानीय सामग्रीहरु बिक्री गरेर आम्दानी बढाउँछन् । भूकम्पपछि निर्माण भएको त्यस गाउँको बसोबासमा व्यापक सुधार हुनुका साथै पर्यटन उद्योगबाट आयआर्जन भई गरिबी निवारण हुनुका साथै गाउँलेहरुमा सहयोगी व्यवहार बढेको छ । जेष्ठ नागरिकहरुको सम्मानका लागि दिवा जेष्ठ नागरिक केन्द्र समेत निर्माण गरिएको छ  जहाँ जेष्ठ नागरिकहरु दिउँसो रमाइलो गर्दछन् ।

अहिले पनि चीनमा तीन करोड मानिस गरिबीको रेखामुनि रहेका छन् । चीनले वार्षिक २३ सय युआन (३९ हजार नेपाली रुपैयाँ) आय नभएकालाई गरिबीको रेखामुनि राखेको छ । सन् २०२० सम्म निरपेक्ष गरिबी हटाउन चीन सरकारले लिएको लक्ष्य पूरा भएसँगै करिब १ अरब ४० करोड चिनियाँलाई खान, लाउन, आधारभूत शिक्षा र स्वास्थ्य, आवासको ग्यारेन्टी हुनेछ । चीनको गरिबी निवारणका लागि सरकारले केन्द्रदेखि काउन्टीसम्म गरिबी निवारणका कार्यालय स्थापना गरेको छ । 

हाम्रो देशमा पनि २०७२ सालमा गएको भूकम्पले मानवीय र भौतिक क्षति गर्‍यो । नेपालमा भूकम्प गएको ३, ४ वर्ष बितिसक्दा पनि अझै धेरै गाउँहरु पुनर्निर्माण हुन नसकिरहेको अवस्थामा छ । सरकारले दिने अनुदान राजनैतिक खिचातानीको शिकारमा परि कामविहीन छ । पुनर्निर्माणप्राधिकरणलाई सुस्त पारिएको छ । यहाँ गरिबी निवारणका कार्यक्रम सञ्चालन नभएका होइनन्, सीमित व्यक्ति धनी भएको गुनासो कायमै छ । 

चीनले गरिबी निवारणका निम्ती ५ वटा मोडेल अबलम्बन गरको देखियो । उद्योग, श्रम स्थानान्तरण, शिक्षा र स्वास्थ्यमा सहयोग, पर्यावरणको संरक्षण, गुणस्तरीय जीवनको ग्यारेन्टी र ई–कमर्स । नेपालले पनि आफ्नै मोडल अपनाएर गरिबी निवारणको लागि अगाडि बढ्न सक्छ । 

चिनियाँ गरिबी निवारण कोषको आमन्त्रणमा चीन पुगेको नेपाली पत्रकारहरुको टोलीले देखेको यो हिमाली गाउँजस्तै नेपालका अधिकांश गाउँले पर्यटक तान्न सक्छन् । 

कामप्रतिको लगाव, विकासको तीव्रता, सामूहिकता,उत्कृष्टता र राष्ट्रियताप्रतिको उच्च प्रतिबद्धताले चीन बन्न सफल भएको हो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया