प्रधानमन्त्री ओलीको चीन भ्रमण रेल सञ्जाल विस्तारमा केन्द्रित हुने

 जेठ २२, २०७५ मंगलबार १६:२३:३३ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने विश्वास व्यक्त गर्नु भएको छ । 

नेता भट्टराईले ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको रेल सञ्जाल विस्तारलगायतका १० बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गर्नु भएको हो । ओली नेतृत्वको अघिल्लो सरकारले पारवहन तथा यातायात सन्धि, उत्तर–दक्षिण राजमार्ग निर्माण, क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण, आर्थिक लगानी वृद्धिलगायतको सहमति चीन सरकारसँग गरेको थियो ।

त्यही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)का सदस्य समेत रहनु भएका भट्टराईले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ आयाम दिने गरी आफूहरुले सरकारलाई सुझाव दिने दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया