विदेशबाट फर्कनुभयो या स्नातक पास हुनुहुन्छ ? सस्तो ब्याजदरमा यसरी पाइन्छ ऋण (कार्यविधिसहित)

 असोज ७, २०७५ आइतबार १३:५०:२२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – तपाईँ स्नातक तहको अध्ययन पूरा गरेर पनि बेरोजगार हुनुहुन्छ ? या विदेशमा सिकेको सीपले देशमै केही गर्ने विचार छ ?

काम गर्ने जाँगर र सीप छ तर पैसा नभएर तनावमा हुनुहुन्छ भने अब सस्तो ब्याजदरमा  ऋण पाइन्छ । अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेको छ । मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेकाले आइतबार नै निवेदन दिन सकिने छ । 

कार्यविधि अनुसार स्नातक पास गरेकाहरुले सहुलियत (बैंकको आधारदरको २ प्रतिशत नबढ्ने गरी) ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसको लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । यस्तै प्यान नम्बर लिएको र कालो सूचीमा नपरेको हुनुपर्नेछ । 

सरकारको मान्यताप्राप्त संस्थाबाट ७ दिनको तालिम लिएका युवाले प्रमाणपत्रसहित निवेदन पेश गरेमा ५ वर्षको लागि सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाइनेछ । 

यस्तै  विदेशबाट फर्किएका युवाहरुलाई पनि सहुलियतमा ऋण दिनको लागि कार्यविधिले व्यवस्था गरेको छ । विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा  सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । विदेशमा ६ महिना सीपयुक्त काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कर्जा दिनेको सुरक्षण र व्यवसायको बीमा

जुन बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा ७ लाख रुपैयाँ लगानी गरेको हुन्छ, त्यसको सुरक्षा सरकारले गर्छ ।

कर्जा सुरक्षण कोषले ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको कर्जाको सुरक्षा गर्ने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

यस्तै ऋण लिनेले जे व्यवसाय या उद्यम गरेको छ, उसको पनि व्यवसायको पनि बीमा गर्ने कार्यविधिमा उल्लेख छ । कुनै कारणले व्यापार व्यवसाय डुबेमा उसले बीमाबाट त्यसको क्षतिपूर्ति पाउनेछ । 

अन्य ५ वटा शीर्षकमा सहुलियत ऋण पाइने

अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय कर्जालाई केही नयाँ प्रावधानसहित फेरि लागू गर्नेछ । यसको लागि पनि कार्यविधि बनिसकेको छ । यसमा ५ करोड रुपैयाँसम्म सहुलियतमा ऋण पाइने छ । 

यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा १५ लाख रुपैयाँसम्म ऋण पाउने छन् । यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । 

पढ्न मन भएका तर पैसा नभएर पढ्न नपाएका विपन्न समुदायका युवाहरुले शैक्षिक ऋण पाउनेछन् । यसको पनि कार्यविधि बनिसकेको छ । प्लस टु पास गरेका विपन्न समुदायका युवाले सहुलियत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । 

र भूकम्प पीडितले पनि सहुलियत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् । सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानले घर बनाउन नपुगेको वा केही इलम गर्न चाहनेले यो ऋण पाउनेछन् । 

दोहोरो कर्जा नपाउने

अर्थ मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ ।

‘कोही स्नातक तह पास गरेर विदेश गएकी दलित महिला रहेछिन अनि उनको भूकम्पले घर पनि भत्किएका रहेछ भने उनले त अनेक हिसाबबाट ५ र ६ वटा शीर्षकमा सुहलियत ऋण लिन सक्ने खतरा हुन्छ, त्यसैले हामीले एउटा शीर्षकमा ऋण दिएपछि अर्को शीर्षकमा नदिने कुरा कार्यविधिमै उल्लेख गरेका छौँ’, अर्थ मन्त्रालयका सहसचिव खत्रीले स्पष्ट पार्नुभयो ।

 


 

अन्तिम अपडेट: चैत २५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

4 Comments

  • Dipak prasad poudel

    Oct. 1, 2018, 5:43 a.m.

    म पशुपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन चाहन्छु ..मसंग स्नातक पास भएको सर्टिफिकेटछ /अब म कहाँ सम्पर्क गरुं ? प्रक्रिया जान्न पाए आभारी हुने थिएँ / हाल म यु ए इ मा रोजगारीको सिलसिलामा रहेको छु /

  •  0 Reply
  • Binod Ram

    Sept. 29, 2018, 6 p.m.

    This is good for me and every young star who can do good job for living quality of life.

  •  0 Reply
  • Prakash pokhrel

    Sept. 26, 2018, 1:30 p.m.

    खासमा यो कसरी र कहाँवाट पाउन सकिन्छ ? त्यति आइडिया भएन, सम्पर्क नम्वर पाउन सकिन्छ कि ?

  •  0 Reply
  • KHADGA RAJ JOSHI

    Sept. 23, 2018, 2:45 p.m.

    सरकारले सस्तो व्याजमा रिर्ण दिने कार्यवीधि पास गर्यो युवाहरू लाई रोजगारिको अवसर मिल्नेछ तर सौलीयत व्याज भनेको कति हो प्रतिशत खुलाई दिए अझैं राम्रो हुने थियो

  •  0 Reply

तपाईको प्रतिक्रिया