जिरोनासँग बराबरीमा रोकिए पनि बार्सिलोना शीर्ष स्थानमै

 असोज ८, २०७५ सोमबार ६:५३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस लिग ला लिगा अन्तर्गत साविक विजेता बार्सिलोनाले जिरोनासँग अप्रत्यासित बराबरी खेलेको छ । घरेलु मैदान नाउ क्याम्पमा लियोनल मेसी प्रेरित बार्सिलोनाले जिरोनासँग २–२ गोलको बराबरी खेलेको हो ।

यसै सिजन सेभियाबाट बार्सिलोनामा अनुबन्ध भएका क्लेमेन्ट लेङलेट खेलको ३५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले त्यसपछि जिरोनाविरुद्ध संघर्ष गर्नुपरेको थियो । यसअघि खेलको १९ औं मिनेटमा एलेक्स भिडालको पासमा लियोनल मेसीले गोल गरेका थिए ।

तर, बार्सिलोना १० खेलाडीमा समेटिएपछि बार्सिलोनाले २ गोल खायो । ४५औं र ५१औं मिनेटमा क्रिष्टियन स्टुआनीले गोल गरी जिरोनालाई अग्रता दिलाए । तर, ६३औं मिनेटमा जेरार्ड पिके गोल गरी बार्सिलोनालाई सिजनको पहिलो हारबाट जोगाए ।

लिगमा पाँच खेलको समाप्तिमा बार्सिलोनाको १३ अंक छ । रियल मड्रिडको पनि समान १३ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया