शिखर धवन र रोहित शर्माको शतक, पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा

 असोज ८, २०७५ सोमबार ७:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलकाे यात्रा तय गरेको हो ।

भारत पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गर्दै ४ अंक सहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको थियो । युएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धातिर ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको थियो ।

भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको ओपनिङ साझेदारी गरेका थिए । शिखरले ११४ रन बनाउँदा कप्तान रोहित १११ रनमा नट आउट रहे । यसैगरी अम्वाती रायडु १८ रनमा नट आउट रहे । शिखर धवनको करियरको २६औं तथा एसिया कपको दोस्रो शतक हो ।

यसैगरी रोहितले १९ औं तथा एसिया कपमा पहिलो शतक बनाएका छन् । सुरुमै जिवन दान पाएका रोहितले त्यसको पुरै फाइदा उठाउँदै एकदिवसीय क्रिकेटमा ७ हजार रन पनि पूरा गरेका छन् । एसिया कपको अन्तिम सुपर फोरको खेल मंगलबार हुने छ । त्यसमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया