‘विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेदवार हुन्छु भन्ने होला नि’

 असोज ९, २०७५ मंगलबार ९:४५:५५ | विश्वप्रकाश शर्मा
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा आइपुगेको हो ।

अब हाम्रो ध्यान भनेको नेपाली कांग्रेसलाई बलियो र सुदृढ गर्नेतर्फ छ । अहिले हामी संगठन कसरी सुदृढ बनाउन सक्छौँ भन्नेमा नै छौं । अहिले भनेको सबैको जोड संगठन बनाउनेमा हुनु पर्छ । अब पनि हामी एक भएर लागेनौं भने अथवा गुट उपगुटमै रमाउँदै बस्यौँ भने फेरि पनि नेपाली कांग्रेस कमजोर भएर रहन्छ । 

अहिले हामी महासमिति बैठकको तयारीमा छौं । मंसिरको ५ देखि ९ गतेसम्म चल्ने महाधिवेशनले पार्टीलाई अझ सशक्त र मजबुद बनाएर लैजाने छ भन्ने हाम्रो विश्वास छ । महासमिति बैठकलाई मध्यनजर गर्दै अहिले नेपाली कांग्रेसले विधान संशोधनको विषय टुंगो लगाउन विभिन्न छलफल र संवादहरु गरिरहेको छ ।

सोमबारदेखि नै देशका सातैवटा प्रदेशमा विभिन्न १२ वटा टोलीले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा तयार भएको पारेको विधान संशोधन मस्यौदामाथि छलफल गरिरहेको छ । पाँच दिनसम्म चल्ने त्यो छलफलबाट आएका सुझावसहितको धारणालाई मस्यौदा समितिले पुनः ड्राफ्ट गर्ने काम गर्छ ।

समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय समितिमा प्रस्तुत हुन्छ । केन्द्रले आवश्यक राय सुझाव दिएपछि फेरि छलफलका लागि उक्त प्रतिवेदन हरेक जिल्ला तहमा पुग्छ । मस्यौदामाथि आवश्यक थपघट गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन जिल्लाबाट फेरि केन्द्रमा आउँछ । केन्द्रले त्यसलाई आवश्यक छलफल र सुझावसहित पारित गर्छ र अन्तिम रुप दिन्छ । 

अन्तिम रुप दिइसकेपछि पनि फेरि उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन्छ ।   महासमिति बैठकले सबैतर्फबाट आएका आवश्यक सुझावहरुलाई थप्ने–घटाउने, राख्ने–कटाउने सबै गरेर पारित गर्छ । महासमितिपछि कांग्रेस नविन बनाउने हाम्रो प्रयासले एउटा आकार खडा गर्छ । 

महासमिति बैठकले पार्टीको सम्पूर्ण संरचना नै बदल्छ । पार्टीको विधान बदल्छ । निर्वाचन शैलीको पद्धति बदल्छ । अबको सन्दर्भमा कांग्रेसको राजनीतिक दृष्टिकोण के हो भन्ने धारणा बनाउँछ । अबको सांगठिनक अभियान पनि प्रष्ट पार्छ । 

महासमितिको बैठक नै एउटा यस्तो विन्दु बन्छ जे कुराले कांग्रेसलाई कमजोर बनाएको छ, त्यसलाई डाइग्नोसिस गरेर ट्रिटमेन्ट गर्छ । कतै बाटो अलमल छ भने त्यो पनि क्लियर गर्छ । र आगामी महाधिवेसनमा जाने सन्दर्भमा पनि एउटा मनोवैज्ञानिक बाटो बनाउँछ ।  

गुट उपगुट बगैँचाका फूल हुन्

पार्टीभित्र गुट उपगुट हुनु नौलो कुरो होइन । कुनै पनि देशमा प्रजातन्त्र छ कि छैन ? भनेर पत्ता लगाउने मानकमध्ये एउटा मानक के हो भने त्यो देशमा दल–दलको बीचमा प्रतिस्पर्धा छ कि छैन ? र दल–दलको बीचमा दलीय स्वतन्त्रता छ कि छैन ? भन्ने विषयले निक्र्यौल गर्छ । र त्यो सम्बन्धित दलभित्र प्रजातान्त्रिक अभ्यास छ कि छैन ? फरक मतहरु, फरक विचारहरु छन कि छैनन् भन्ने विषयले प्रजातन्त्र कस्तो छ भन्ने देखाउँछ ।  

लोकतन्त्रमा र पार्टीभित्र फरक मत र फरक विचारहरु हुँदै गर्दा त्यसले स्थायी स्वरुप लियो भने समस्या गर्छ । त्यसलाई गाँस्ने तागत भएन भने त्यसले दुर्घटना पनि निम्त्याउन सक्छ । 

फरक फरक रुपमा प्रस्तुत भएका विचारहरुलाई बगैँचामा रहेका फरक फरक फूलको रुपमा लिनु पर्छ । र ती फूललाई गाँस्ने प्रयत्न गर्नुपर्छ । 

फूलको वास्ना हुन्छ, धागोको कुनै बास्ना हुँदैन । तर धागो बेगर फूलको पनि कुनै माला हुँदैन । त्यसैले फरक मतहरुलाई गाँसेर एउटा स्वर बनाएर लैजानु पर्छ । हामी त्यसैमा लागिरहेका छौं । र यो महासमिति बैठकले यो सबै विषयलाई सम्बोधन गर्छ भन्नेमा हामी आशावादी पनि छौं । 

पार्टीभित्र विरोधका आवाजहरु, फरक विचारहरु देखिन्छन् । त्यो स्वभाविक हो । तपाईको शरीरमा पनि के हुन्छ भने मनले कोहीबेला यहाँ जाउ भनिरहेको हुन्छ । कोहीबेला मस्तिष्कले त्यो खाउँ भन्छ या नखाउँ भनिरहन्छ । 

त्यो मन र मस्तिष्कको तपाईभित्र पनि द्वन्द्व भएपछि तपाई एउटा निर्णयमा पुग्नुहुन्छ नि, त्यो चाहिँ तपाईको फाइनल्ली निर्णय हुन्छ । त्यसलाई मन र मस्तिष्क दुबैले मानेर जान्छ । 

कांग्रेसमा पनि त्यो खालको फरक फरक मन र मस्तिष्क छन् । हुन्छन दलहरुभित्र । तर महासमिति बैठक जस्तो विशिष्ट थलोले निर्णय गरिसकेको कुरा जे हुन्छ, सबैले पालना गरेर हिँड्छन् । हिँड्नु पनि पर्छ । र गुटहरुको विलय भनेको पनि यही हो । 

परिवर्तित राज्य संरचना अनुसार पार्टीको संरचना बन्न नसक्दा, पार्टीको पदाधिकारी नहुँदा, केन्द्रीय विभागहरु नहुँदा नै कांग्रेस पराजय भएको हो । हामीले यी कुराहरु बनाउनेतर्फ ढिलाई गर्न हुँदैन थियो । 
उतिबेलै गर्न सकेको भए आज यो दिनमा हामी आउने थिएनौं । अब छिट्टै रिक्त पदाधिकारी चयन गर्ने, विभागहरु दुरुस्त गर्ने तयारीमा हामी छौं ।  

चुनावपछि पनि महासमिति बैठक छिटो गर्नुपर्ने थियो । हाम्रो आन्तरिक व्यवस्थापन कमजोरी रह्यो । यो हामीले सार्वजनिक रुपममा नै स्वीकार्नु पर्छ । हाम्रो व्यवस्थापकीय कमजोरी नै हो ।  

अहिल्यै उम्मेद्वार घोषणा गर्ने बेला होइन

अहिले भनेको महासमिति बैठकको तयारीमा लाग्ने बेला हो । महाधिवेशन आउन अझै झण्डै डेढ वर्षभन्दा बढी समय छ । महाधिवेशनको मिति नै घोषणा नभइकन कोही सभापतिको उम्मेद्वार म हुँ भन्दै आउनु त्यो अलि हतारो होला । 

अहिले हामी कसलाई सभापति बनाउने भन्ने प्राथमिकतामा छैनौं । संगठन कस्तो बनाउने भन्ने प्राथमिकतामा छौं । कुनै अमुक व्यक्तिले म सभापतिको उम्मेद्वार भन्दै हिँड्छ भने त्यो भनेको नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भने जस्तो हो ।  

जब महाधिवेशनको मिति आउला त्यतिबेला विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेद्वार हुन्छु भन्ने होला नि । तर अहिले विश्वप्रकाशले म महामन्त्रीको उम्मेदवार बन्न चाहन्छु भन्दै देशभरि घुम्ने हो भने संगठन बनाउने कुरामा होइन, विश्वप्रकाशलाई आफ्नो मान्छे बनाउनमा, आफूलाई भोट दिने मान्छे बनाउनमा ध्यान पुग्छ ।

हामीले अहिले नेपाली कांग्रेसलाई बलियो बनाउनेतिर ध्यान दिने हो । सभापति कसलाई बनाउने भन्ने विषयमा प्रवेश गर्ने नै होइन । अहिले भनेको सबैको जोड संगठन बनाउनेमा हुनु पर्छ । अहिले हतारिएर त्यो विषयमा प्रवेश गर्नु हुँदैन ।  

सामान्य बहुमतको जस्तो सरकारको काम  

यदि समृद्धिको सन्दर्भमा हामीले भन्यौं भने सात महिनाको अवधिमा चल्दै गरेको सरकारले एकदमै धेरै समृद्धिको दिशामा काम गर्न सक्दथ्यो । तर गर्न सकेन भनेर निराश भइहाल्नुपर्ने विवरण राख्न थाल्यौं भने त्यो गलत हुन्छ । किनभने सात महिनाले एकदमै समृद्धिको सन्दर्भमा ठोस यात्रा, ठोस परिणाम दिने होइन, तर केही संकेतहरु दिने हो । केही सुरुवातहरु दिने हो । त्यस हिसाबले सामान्य बहुमतको सरकार चलेजस्तो मात्रै देखिएको छ ।  

दुई तिहाइको जगमा रहेको सरकारले गर्ने भनेको त केही क्रान्तिकारी कदम हुनु पथ्र्यो नि त । तर त्यस्तो भने हुन सकेको छैन । सुरुवातमा दिनुपर्ने संकेत सरकारले दिन सकेन । संविधान कार्यान्वयनको सवालमा, संविधान संशोधनको सवालमा सरकार सफल हुन सकेको छैन ।  

प्रधानमन्त्रीले प्रदेशमा गएर लामा लामा र रसिलो भाषण गर्ने बाहेक अन्य अधिकार प्रत्यायोजन गर्ने सवालमा सरकार उदासीन छ । सरकारको व्यवहारले, शैलीले संविधानलाई बलियो बनाउने कर्म भइरहेको छैन । संविधानप्रति अपनत्वको दायरा विस्तार गर्ने काम गर्न सकेको छैन ।

संविधानको कार्यान्वयनमा कमजोरी भइरहेको छ । अहिले त इच्छाशक्ति र भिजनरी कार्यक्रमका साथ सरकार अगाडि बढ्नु पर्थ्याे, त्यो देख्न सकिएको छैन । सरकारले आफ्नो प्राथमिकता के हो भनेर पहिल्याउन नसक्दा नागरिकले सरकारको भूमिका देख्न सकेका छैनन् ।  

(नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)
 
 
 

अन्तिम अपडेट: चैत १२, २०८०

विश्वप्रकाश शर्मा

उहाँ नेपाली काँग्रेसका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया