५ करोड फेसबुक एकाउन्ट ह्याक हुन सक्ने खतरा

 असोज १३, २०७५ शनिबार ७:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ । 

कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।

फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । 

यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् । 
फेसबुकले मंगलबार नै यस विषयमा प्रहरीलाई जानकारी गराएको छ । साथै कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।

रोजेन भन्छन्, हामीले भर्खरै अनुसन्धान सुरु गरेका छौँ । हामीले फेसबुक एकाउन्टको गलत प्रयोग भयो भएन वा जानकारी चोरी भयो भएन भन्ने बारेमा पत्ता लगाउन जरुरी छ । अहिले यो साइबर आक्रमणपछि कसको हात छ र कहाँबाट परिचालित छन् भन्ने बारेमा केही थाहा भएको छैन ।’

रोजेन भन्छन्, ‘मानिसको गोपनीयता र सुरक्षा महत्वपूर्ण हुन्छ, जे भयो त्यसका लागि हामी माफी चाहन्छौँ ।’

फेसबुकको ‘भ्यू एज’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट फेसबुक युजर अन्य व्यक्तिको प्रोफाइल हेर्न सक्छन् । यसबाट उनीहरुले साथी, साथीको साथी तथा सार्वजनिक जानकारी हासिल गर्न सक्नेछन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् । 

विस्तृत जानकारीका लागि

https://newsroom.fb.com/news/2018/09/security-update/

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया