उद्योगी सोध्छन् : ९० रुपैयाँको कर ५५ सय पुग्यो, खै त सेवा ?

 असोज १३, २०७५ शनिबार ७:४७:२० | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ –   स्थानीय तहको संरचनापछि लगाइएको करका विषयमा गुनासो आउन थालेको छ । 

नागरिकको आवश्यकता र चाहनालाई पनि मध्यनजर गरी थेग्न सक्ने करको सीमा तोक्नु पर्ने व्यवसायीहरु बताउँछन् । धादिङ चेम्बर अफ कमर्सको उद्घाटन समारोहमा उपस्थित भएका व्यवसायीहरुले आफ्ना गुनासा पोखेका हुन् । 

धादिङमा रहेर व्यवसाय गरिरहेकाहरुलाई सवल र सक्षम बनाउन नेपाल चेम्बर अफ कमर्सको शाखा खोलिएको धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताउनुभयो । धादिङमा रहेर व्यवसाय गर्नेहरु समस्यामा परेका कारण व्यवसायीलाई सहज बनाउने उद्देश्य रहेको उहाँको भनाई छ ।

व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था चेम्बर अफ कमर्श नेपालको ६८ जिल्लाहरुमा विस्तार भएको र प्रचलित कानुनको परिधिमा रहेर धादिङका सम्पूर्ण व्यवसायीहरुको हितका लागि काम गर्ने उहाँले बताउनुभयो । व्यवसायमा लागेका बैंक, वित्तीय संस्था उद्योग धन्दा, व्यापारी जो कोही पनि धादिङ चेम्बरमा सदस्य हुन सक्ने समेत उहाँको भनाई छ ।   

शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको धादिङ चेम्बर अफ कसर्मले ९० जना व्यवसायी र धादिङबेशीका ३ वटा क्याम्पसका ७५ जना विद्यार्थीलाई व्यवसायी कर शिक्षा तालिम र विद्यार्थीलाई भ्याट बिल काट्ने तालिम समेत सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रमुख प्रशिक्षक आन्तरिक राजश्व कार्यालय काठमाडौका पूर्व उपमहानिर्देशक राममणि दुवाडी, चार्टर्ड एकाउन्टेट सरोज कुमार भट्ट, नवीन बन्जाडे, सुदुरलभ पण्डित, लेखा परीक्षक नारायण पण्डित र गोकुल रुवालीले विषयवस्तुका बारेमा जानकरी दिएका थिए । 
 

९० रुपैयाँको कर ५५ सय पुग्यो : वरिष्ठ उपाध्यक्ष मल्ल

व्यवसायीहरुका लागि सरकारले ल्याएका नीति नियमप्रति असन्तुष्टि रहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । ‘कानुन निमार्ण गर्ने क्रममा व्यवसायीहरुको अधिकारलाई अंकुश लगाइएको छ । पहिला थुन्ने पछि सुन्ने सरकारको नीति चित्त बुझ्दो छैन’, उद्घाटन समारोहमासमे मल्लले बताउनुभयो । सरकारले नागरिकलाई कर असुल्नु भन्दा पहिले कर तिर्न सक्ने सक्षम नागरिक बनाउन आवश्यक रहेको उहाँको भनाई छ । मल्ल थप्नुहुन्छ, ‘कर कहरले होइन रहरले तिर्ने वातावरण बनाउन आवश्यक छ । अनि मात्रै देश समृद्ध नेपाल, सुखी नेपाली सम्भव छ ।’

त्यस्तै कर तिर्ने व्यवसायीलाई कर तिर्ने हौसला मिल्ने कार्यक्रम आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष मल्लले बताउनुभयो । बीमा तथा सामाजिक सुरक्षा जस्ता विषयद्वारा व्यवसायीलाई उत्साह थप्नु पर्ने उहाँको भनाई छ । गएका वर्षहरुमा ९० रुपैयाँ रहेको कर ५५ सय पुगेको बताउँदै उहाँले सेवा तथा सुविधा पनि वृद्धि हुनु पर्नेमा जोड दिनुभयो । तर धादिङमा स्थानीय करले आकाश नछोएकोमा खुसी लागेको उहाँले बताउनुभयो । 

धादिङको भाग्य र भविष्य बोकेका अनगिन्ति सम्भावनाहरुलाई साकार रुप दिन नेपाल चेम्बर अफ कमर्स सँगसँगै हुने मल्लको भनाई छ । 

बुढीगण्डकी जलविद्युत आयोजना बनाउन धादिङबासीले साथ दिन सके धादिङ झलमल्ल बनाउन सकिने मल्लले बताउनुभयो ।   
 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया