यू-१९ एशिया कप क्रिकेटमा नेपालकाे यात्रा समाप्त, समूह चरणबाटै बाहिरियाे

 असोज १५, २०७५ सोमबार १६:५८:१६ | उज्यालो सहकर्मी

नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेलअगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो ।

बंगलादेशको साभरमा रहेकाे मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अफगानिस्तानका लागि रहमातुल्लाह गुर्वाजले २६ रन बनाउँदा अज्मातुल्लाह ओमारजाइले २३ तथा आरिफ खानले अविजित २३ रन बनाए ।

बलिङतर्फ नेपालका सूर्य तामाङले करिअरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए पनि नेपाललाई हारबाट जोगाउन सकेनन् । ८ ओभर बलिङ गरेका उनले ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ, रसिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको थियो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

सुरुवात राम्रो गर्न नसकेको नेपालले १८ रनमा तीन विकेट खेर फाल्यो । नेपालका ओपनर रवीकुमार शाहमात्र दुई रनमा आउट भए भने सन्दिप जोराले खाता खोल्न सकेनन् । यस्तै रित गौतम १० रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका पवन सराफ पनि खाता खोल्न नसक्दा नेपालले २१ रनमा चौथो विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि कप्तान आशिफ शेख र रोहित पौडेलले ५३ रनको साझेदारी गर्दै टिमलाई सम्हल्ने प्रयास गरेका थिए ।

तर आसिफ २० रनमा आउट हुँदा नेपालले ७४ रनमा ५ विकेट खेर फाल्यो । लगत्तै भिम सार्कीपनि ५ रनमा आउट भएपछि नेपाल पूरै दबाबमा पर्यो । एकपछि अर्को विकेट गुमाएको नेपालको स्कोर ८१ रन हुँदा ७ विकेट झरेको थियो ।

नेपालको पारीमा उत्कृष्ट ब्याटिङ गरेको रोहितकुमार पौडेल आउट भएपछि नेपालले एक सय ३१ रनमा नौ विकेट गुमायो । उनले ४६ रन बनाए । यस्तै रासिद खानले ३० रनको योगदान गरे ।

पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपालले लगातार दोस्रो हार ब्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत र अफगानिस्तानले ४–४ अंक भएको छ भने युएई र नेपाल अंकविहीन छन् । समूहको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया