ऐना हेर्दा नेपालले देखे नेपाल डुबेको : कहाँको पाइलट, कहाँको माझी !

 असोज २०, २०७५ शनिबार ८:४१:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

दुईजना पाइलट भएको जहाज ग्राउन्डेड भएर थन्किएको धेरै भयो । जहाजलाई अलपत्र छाडेर हिजोआज दुई पाइलट दुई टारमा बस्छन् । एक बालुवाटारमा, अर्को खुमलटारमा । दुवैको भेट मुश्किलले हुन्छ । कहिले बानेश्वरमा, कहिले सिंहदरबारमा, कहिले धुम्बाराहीमा । तर उनीहरु सधैं यतै मात्र डुलिरहँदैनन् । कहिले यो देश पुग्छन्, कहिले उ देश ।

छुट्टाछुट्टै हुँदा सँगै बसेर जहाज उडाउने कुरा भएन । भेट भएको बेला जहाजको कुरा गर्छन्, तर उडाउने कुरा गर्न बिर्सन्छन् । त्यसैले केही महिनादेखि जहाजका यात्रु रुल्लटुल्ल र रनभुल्लमा छन् ।

यसपटक दुवै पाइलट सँगसँगै जस्तो विदेश उडे । मुख्य पाइलट अमेरिकातिर, अर्का पाइलट सिंगापुरतिर । पहिलो मुख्यलाई गफ र भाषणको मज्जा, दोस्रो मुख्यलाई बिरामी श्रीमतीको चिन्ता । चिन्ताले चिता नजिक पुर्‍याउँछन् भन्छन् । त्यसैले चिन्तित पाइलट पनि कसै न कसैलाई चितामा पुर्‍याउने चिन्तन गर्ने मौका खोजिरहन्छन् । 

दुबै बाहिर हिँडेपछि जहाज उडाउने जिम्मा अरु कोपाइलटहरुलाई दिनुपर्ने हो । तर खुट्टा उचालेर बसेका कुनै कोपाइलटले यो पालि जहाजको जिम्मा पाएनन् । त्यसमाथि उड्दै नउड्ने ग्राउन्डेड भएको जहाजलाई किन चाहियो र पाइलट ! त्यसैले जहाज र अर्को पाइलटको वास्तै नगरी दुवै मुख्य पाइलट लाखापाखा लागे ।

दुवै पाइलटले वास्तै नगरी हिँडेपछि तेस्रो मुख्य पाइलटलाई छटपटी भयो । यो छटपटी आकाशमा उड्ने जहाजको थियो, तर तेस्रो पाईलट रहेछन् पानीका भोका । उनले त माझीको पो कुरा गरे । कहाँको आकाशमा उड्ने जहाज, कहाको पानीमा तैरिने नौका । कहाँको पाइलट, कहाँको माझी भो कुरा । 

कहिले आफू पाइलटको सिटमा बसौंला भनेर पर्खिएर बसेका उनलाई ग्राउन्डेड भएर बसेको जहाज डुब्न लागेजस्तो भयो । डुब्नका लागि पानी चाहिने हो, तर नेपालमा न जहाज डुब्ने पानी भएका समुद्र छन्, न त जहाजलाई नै डुबाउने खालका ठूला नदी । 

दुवै पाइलट विदेश उडेपछि पाइलट हुने प्रतीक्षामा बसेका तेस्रो मुख्य पाइलटले भित्तामा टाँसिएको ऐना हेरे । आफ्नो अनुहार देखेर उनलाई आफैं डुबेजस्तो लाग्यो । उनी अर्थात नेपाल, अथवा माधवकुमार नेपाल । उनी डुब्नु भनेको नेपाल डुब्नु हो । ऐनामा डुब्न लागेको अनुहार देखेर हतारिंदै संसद पुगे । 

संसदमा प्रतिपक्षको कुर्सीतिर हेरे । त्यहाँ पनि उही चाल छ । प्रतिपक्षका मुख्य मान्छेलाई नेपाल डुब्न लागेको पत्तो छैन । उनी प्रतिपक्षी सिटको अघिल्लो पंक्तिमा त छन्, तर सत्तापक्षका पाइलटलाई जस्तै उनलाई पनि स्टेरिङ चलाउन आउँदैन । 

आफ्नो जहाजको अघिल्तिर सिटमा बस्न नपाएका नेता नेपाललाई प्रतिपक्षको अघिल्लो सिट ठीक लाग्यो । अनि उनले त्यही सिटमा बसेझैँ गरी भने, ‘देश डुब्न लाग्यो, कोही छन् त माझी दाइ ?’ 

सबैले यताउता र एकअर्कालाई हेरे । न डुब्न लागेको नेपाल देखिन्छ, न डुब्न लागेको जहाज देखिन्छ । डुब्ने कुरा नभएपछि उतार्ने माझी दाइ झन कसरी देखिनु ! कुरो नबुझेर सबै अलमलमा परे । प्रतिपक्षी सिटको अघिल्लो पंक्तिमा बस्ने नेतालाई खसखस भयो । उनले सोधे, ‘खै कहाँ देख्नुभयो, नेपाल डुब्न लागेको ?

त्यसमाथि हामीले भन्नुपर्ने कुरा तपाईंले भन्ने ? सरकारले गरेन भनेर भन्ने त हामीले हो नि ?’
कुरा सुनेर नेता नेपालले जवाफ दिए, ‘ऐना हेर्दा नेपाल डुब्न लागेको देखें । अनि प्रतिपक्षमा बसेर तपाईँले बोल्न नसकेपछि हामी बोल्न परेन ? त्यसमाथि हामी पनि सत्तातिरको प्रतिपक्ष हौँ नि ।’

‘तपाईँहरु नि के हो के ? एउटाले नेपालमा सपना मात्रै देख्छ, अर्कोले ऐनामा आफैलाई देख्छ’ प्रतिपक्षका नेताले टाउको कन्याए । सरकारको विरोध गर्ने फर्मुला यिनैसँग लिनुपर्छ भन्ने उनलाई लाग्यो । तर उनीहरुले नै आफ्नो काम गर्दासम्म बेकारमा किन टाउको दुखाउनु भनेर चुप लागे ।

उता विदेशमा रहेका मुख्य पाइलटले माझी खोजी भैरहेको थाहा पाए । नेपाल डुब्न लाग्यो भनेर नेता नेपाल गर्जिए भनेको पनि सुने । सिंगापुरमा रहेका दोस्रो मुख्य पाइलटले अमेरिकामा रहेका पहिलो मुख्य पाइलटलाई फोन लगाए – ‘मने माधवजी नेपाल डुब्न लाग्यो भनेर आत्तिँदै हुनुहुन्छ ? तपाईँ कहिले फर्किने हो र ?’ 

‘मैले पनि सुनेँ, तर कुन चाहिँ नेपाल डुब्न लागेको हो त्यो चाहिँ तपाईँले पनि बुझ्नु भएनछ’ अमेरिकाबाट मुख्य पाईलटको जवाफ आयो ।

‘हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अराजकता मौलाइरहेको छ । त्यसैलाई भन्न खोजेका होलान् नि त, देश डुब्न लाग्यो भनेर’ सिंगापुरमा भएकाले वास्तविकता सुनाए ।

‘तपाईँलाई चतुर नेता भन्नेहरु पनि सिल्ली नै रहेछन्, जाबो यति कुरा पनि बुझ्न नसक्ने । यस्ता हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महंगीले पनि कतै देश डुब्छ ! ढुक्क हुनोस् डुब्दैन । यहाँ यति धेरै समुद्रमा पानी हुँदा त अमेरिका डुबेको रहेनछ’ अमेरिकामा भएका पाइलटले तर्क गरे ।

‘त्यसो भए के भन्नुभएको हो त माधवजीले ? कोही छ माझी दाइ पनि भन्नुभएछ । तपाईंलाई पो भनेका हुन् कि ?’

‘म माझी दाइ हो र, मलाई भन्ने ? म त मुख्य पाइलट पो हो ? कहाँको माझी, कहाँको पाइलट ? चिन्ता नलिनुस्, नेपालले आफ्नै अनुहार हेरेर नेपाल डुब्न लाग्यो भनेका हुन्’ मुख्य पाइलटले ठट्टामा टारे ।

दुई मुख्य पाइलटले वास्तविकता थाहा पाएको यता जहाज डुब्दै गरेको देखेका नेपालले पनि पत्तो पाए । ‘देशभन्दा पहिले त म आफैं डुब्न लागेको हो, तर माझी दाइ खै त ?’ उनी ऐनातिर हेरेर टोलाए । अनि माझी दाइ खोज्दै विदेशतिर हिँडे ।

दुई मुख्य पाइलट विदेशबाट फर्किंदै गर्दा नेपाल त उस्तै थियो, तर नेपाल डुब्न लाग्यो भन्ने नेपाल माझीको खोजीमा कतै लागेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • RABINDRA KUMAR (NEPALI)

    Oct. 8, 2018, 2:31 p.m.

    सही व्यंग्य गर्नु भयो मिलन सर /

  •  0 Reply

तपाईको प्रतिक्रिया