विष्फोटक पदार्थ खोज्न सडक आयोजनाका प्रमुख महिनैपिच्छे काजमा

 जेठ २४, २०७५ बिहिबार १०:२९:२ | शंकर धामी
unn.prixa.net

दार्चुला – तिंकर सडक योजनाका प्रमुख रामचन्द्र साहले ‘जिलेटिनको व्यवस्थापन गर्न’ भन्दै महिनैपिच्छे विभाग र मन्त्रालयमा काज भ्रमण गर्ने गर्नुभएको छ । झण्डै तीन वर्षदेखि जिलेटिन अभावमा तिंकर सडक निर्माण नै बन्द भएको छ । जिलेटिन व्यवस्थापन गर्न विभाग र मन्त्रालयमा काज धाउनु परेको साहले बताउनुभयो । 

पूर्व सम्झौताअनुसार नेपाली सेनाबाट विस्फोटक पदार्थ उपलब्ध नभएपछि यसको व्यवस्थापनका लागि लामो समय लागेको हो । गएको चैत महिनादेखि वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको योजना प्रमुख साहले बताउनुभयो । 

२०७४ असोज २९ देखि योजना प्रमुखको जिम्मेवारी सम्हालेका साहले मंसिरदेखि वैशाखसम्म महिनापिच्छे विभागमा काज भ्रमण गर्नुभएको छ । कात्तिक महिनाभरी भने योजना कार्यालयमै साहको उपस्थिती रहेको अभिलेख छ ।

२०७४ मंसिर महिनामा दुईपटक गरी १३ दिन योजना प्रमुख साहले काज भ्रमण गर्नुभएको छ । त्यस्तै पुष महिनामा ७ दिन र माघ महिनामा दुईपटक गरी १४ दिन सडक विभागमा काज भ्रमण गरेको अभिलेख छ । फागुन महिनामा दुईपटक गरी १४ दिन र चैत महिनामा एक हप्तासम्म योजना प्रमुख रामचन्द्र साहले काज भ्रमण गरेको कार्यालयको अभिलेख छ । 
पछिल्लो वैशाख २१ देखि लगातार एक महिनासम्म विभाग र मन्त्रालयको काज भ्रमणमै आफू रहेको योजना प्रमुख साहले बताउनुभयो ।

विभाग, मन्त्रालय र सरोकारवाला पक्षसँग समन्वय गर्न र आवश्यक प्रक्रिया पूरा गर्न लामो समय लागेको योजना प्रमुखको भनाई छ । लामो समयदेखि रोकिएको जिलेटिन आपूर्तिको विषयमा पछिल्लो समय भने उपलब्धी हुन लागेको योजना प्रमुख साहले जानकारी दिनुभयो । 

बझाङ जिल्लामा निर्माणाधीन कालाङगाड जलविद्युत आयोजनाको निर्माणमा संलग्न निजी कम्पनीबाट सापटीमा १० हजार किलोग्राम जिलेटिन ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । केही दिनभित्रै यसबारे निजी कम्पनी, नेपाली सेना र दार्चुला तिंकर सडक योजनाबीच सम्झौता हुन लागेको योजना प्रमुख साह बताउनुहुन्छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया