अाहा ! मनै लाेभ्याउने कर्णाली प्रदेश

 असोज ३०, २०७५ मंगलबार १२:१:१७ | मुना हमाल
unn.prixa.net

कर्णाली प्रदेश पर्यटकीय एव्म धार्मिक रुपले धेरै सम्भावना भएको प्रदेश हो । यहाँ घुम्न लायकका धेरैै ठाउँहरु छन् । कर्णाली प्रदेशले यस वर्षलाई पर्यटन वर्षका रुपमा पनि मनाइरहेको छ । यस वर्ष पाँचलाख पर्यटक भित्र्याउने कर्णाली प्रदेशको योजना छ । 

कर्णाली प्रदेशमा घुम्न लायक मुख्य ठाउँहरु : -

काँक्रेबिहार 

ऐतिहासिक पर्यटकीय स्थल काँक्रेबिहार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्दछ । सुर्खेतको काँक्रेबिहार नेपालमा दोस्रोे लुम्बिनिका रुपमा पनि परिचित छ । कोहलपुरदेखि ८७ किलोमिटरको बसको यात्रा पछि सुर्खेत उपत्यका वीरेन्द्रनगरमा पुगिन्छ । 

वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट करिब साढे तीन किलोमिटर दक्षिणतर्फ गएपछि काँक्रेबिहार पुगिन्छ । चारैतिर साल र सल्लाका रुखको जंगलले घेरिएको लाटिकोइली–९ मा काँक्रेबिहार भग्नावशेष स्थल छ । धार्मिक किम्वदन्ती अनुसार काँक्रेबिहारमा पाँच पाण्डवहरुको बसोबास गरेको मानिन्छ ।

काँक्रेबिहारलाई हिन्दु, बौद्ध धर्मावलम्बीको सामुहिक केन्द्रको रुपमा लिने गरिन्छ । पुरातत्व विभागले १४ वर्षअघि २०५७ सालमा उत्खनन् गरी भग्नावशेषका मूर्तिहरु निकालेर मन्दिर जस्तो आधा संरचना बनाएको छ । 

वीरेन्द्रनगर मुख्य बजारको उत्तरमा रहेको घण्टाघर सुर्खेतको अर्को हेर्नै पर्ने ठाउँ हो । चारैतिर ठूला घडी राखिएको घण्टाघरमा पार्क पनि छ । सुर्खेतमा देउती बज्यै मन्दिर, काँक्रेबिहार, शिव मन्दिर, बुलबुले ताल र घण्टाघरसँगै सिद्धापाइला, गोठीकाँडा, बराह ताल लगाएतका स्थानले पनि मन लोभ्याउने गर्दछ ।

सुर्खेतको बुलुबले ताल पनि चर्चित छ । रत्न राजमार्गको छेउमै बुलबुले तालको मुख्य गेट छ । ३ सय मिटरभित्र गएपछि बुलबुले तालमा पुगिन्छ । बुलबुले तालमा सधैँ मूलबाट पानी आउँछ । यहाँ बगैचा रहेको छ । जमिनमुनीबाट पानी बुलबुल भएर निस्कने यसको विशेषता हो । जमिनबाट पानी बुलबुल गर्दै आउने भएर यसकोे नाम बुुलबुले ताल राखिएको हो । 

ऐतिहासिक धार्मिक स्थल देउती बज्यै मन्दिर सुर्खेतको अर्को पर्यटकीय गन्तव्य हो । यो समयमा देउती बज्यै मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मन्दिरमा बोका बली दिने, परेवा उडाउने चलन पनि छ । 

पचाल झरना

पचाल झरना कालिकोटमा पर्दछ । सुर्खेतबाट पचाल झरना पुग्नका लागि दिनभरजसो लाग्छ । झरना माथि पहाडबाट खस्ने गर्छ । त्यहाँ पानी बगेर लाफाघाट हुँदै कर्णाली नदीमा मिसिन्छ ।

 नेपालकै ठूलो झरना भनिए पनि अहिलेसम्म कति मिटरको छ भनेर यकिन गरिएको छैन । तर यसको उचाई ३ सय ८१ मिटर रहेको बताइन्छ । 

से फोक्सुण्डो ताल

से फोक्सुण्डो ताल कर्णाली प्रदेशको से फोक्सुण्डो गाउँपालिका डोल्पामा पर्दछ । यो ताल से फोक्सुण्डो राष्टिय निकुञ्ज भित्र छ । यो ताल समुद्री सतहदेखि ३९ सय मिटरको उचाईमा रहेको छ । नेपालको सबैभन्दा गहिरो तालका रुपमा समेत से फोक्सुण्डो प्रसिद्ध छ ।  

से फोक्सुण्डो तालको लम्वाइ ४ दशमलब ८ किलोमिटर,  चौडाइ १ दशमलब ६ किलोमिटर र गहिराई ६ सय ५० मीटर छ ।

नेपालगञ्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घण्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ ।

दुनैबाट दुई दिनको पैदल यात्रा पछि से फोक्सुण्डो तालमा पुगिन्छ । ताल वरपर गुम्बा  र बस्ती रहेका छन् ।  

दैलेखको ज्वाला

दैलेख जिल्ला धार्मिक रुपले धनी जिल्ला हो । दैलेखको सदरमुकाम पश्चिमतर्फ भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका सीमानामा श्रीस्थान र दुल्लु र भैरवीको नाभिस्थान पर्दछ । 

पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटक स्थलको रुपमा चिनिन्छ । सुर्खेतको वीरेन्द्रनगरबाट बसको यात्रामा करिब ३ घण्टामा सदरमुकाम पुगिन्छ । र त्यहाँको करिब ४५ मिनेटको गाडीको यात्रा पछि नाभिस्थान र श्रीस्थान पुगिन्छ । 

रारा ताल 

राराताल कर्णाली प्रदेशको मुगु जिल्लामा पर्दछ । रारा ताल ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाईमा रहेको छ । मुगुको ताल्चा विमानस्थलबाट करीब ३ घण्टाको पैदल यात्रापछि राराताल पुगिन्छ ।

यो ताल १० दशमलब ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालको लम्वाई ५ किलोमिटर र चौडाई ३ दमशल २ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर रहेको छ । 

रारा ताल पुग्नका लागि नेपालगञ्च र सुर्खेतबाट हवाई यात्रा पनि गर्न सकिन्छ । जहाजमा जाँदा नेपालगञ्जबाट ४५ मिनेट र सुर्खेतबाट ३५ मिनेटमा रारा (ताल्चा) विमानस्थल पुगिन्छ । ताल्चाबाट हिँडेर करीब साढे दुई घण्टामा ताल पुगिन्छ । काठमाडौंबाट पनि जिप र मोटरसाइकलमा रारा पुग्ने पर्यटक धेरै भेटिन्छन् ।

सुर्खेतबाट गाडीको यात्रा पनि गर्न सकिन्छ । त्यसरी सुर्खेत भएर कालीकोट, जुम्लाको नाग्म हुँदै रारा पुग्न करीब तीन दिन लाग्छ । सुर्खेतबाट बिहान मुगु जाने बस चढ्यो भने भोलिपल्ट दिउँसो ३/४ बजेतिर रारा पुग्न सकिन्छ । यहाँ असला हिमाली माछा पनि पाइन्छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशको सम्मृद्धि र विकासका लागि पर्यटनलाई मुख्य आधार मानेर यस वर्ष कर्णाली रारा पर्यटन वर्ष मनाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते रारा तालको छेउबाट देशबासीको नाममा सम्बोधन पनि गर्नुभएको थियो । 

चंखेली हिमाल 

रारा घुम्न गएको समयमा मनोरम दृश्य चंखेली हिमाल पनि घम्न सकिन्छ । मुगु सदरमुकाम गमगढीबाट झण्डै १ दिनको पैदल यात्रा पछि मात्रै यहाँ पुगिन्छ ।

त्यहाँ पुगिसकेपछि हिमालको फेदमा रहेको बाम गाउँमा बास बसेपछि बिहानै शुरु हुन्छ चंखेली हिमालको यात्रा । 

बाम गाउँबाट बिहानै हिँडेपछि झण्डै ४ घण्टाको पैदल यात्रापछि हिमालको टुप्पोमा पुगिन्छ ।  चंखेली हिमाल चढ्न धेरै हिउँ परेको समय बाहेक अरु समयमा खासै समस्या हुँदैन । यो समयमा चंखेली हिमाल चढ्न उपयुक्त मानिन्छ ।

जाजरकोट दरबार

ऐतिहासिक महत्व बोकेको जाजरकोट दरबार जाजरकोट जिल्लामा पर्दछ । बाइसे र चौबीसे राज्यको इतिहास बोकेको जाजरकोट दरबार एउटा पर्यटकीय स्थलको मुख्य गन्तव्य पनि हो ।

जाजरकोटको सदरमुकाममै दरबार रहेकाले त्यहाँ पुग्न सजिलो छ । त्यहाँ नेपालगञ्ज, सुर्खेतदेखि छिन्चु जाजरकोट  सडक खण्ड हुँदै पुगिन्छ । 

स्यार्पु ताल 

स्यार्पु ताल रुकुम पश्चिममा पर्दछ । यो ताल पर्यटकीय हिसाबले महत्वपूर्ण छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब २ घण्टाको पैदल यात्रापछि स्यार्पु ताल पुगिन्छ । हेरिरहुँ लाग्ने स्यार्पु तालले जो कोहीको पनि मन लोभ्याउँछ ।

२ दशमलब ६ वर्ग किलोमिटरमा यो ताल फैलिएको छ । स्यार्पु तालको आकार वर्षामा र हिउँदमा फरक हुन्छ । पानीको रंग पनि फरफरक हुन्छ । यो तालमा र्याफ्टिङको पनि व्यवस्था गरिएको छ । 

सल्यानको कुपिण्डे दह 

कुपिण्डे तह जान सुर्खेबाट तीन घण्टा लाग्छ । यो ताल प्राकृतिक रुपले सुन्दर मानिन्छ । त्यहाँ बराह मन्दिर रहेको छ । यहाँ पुग्न सदरमुकामबाट गाडीमा १ घण्टा लाग्छ । 

वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा निलो आकाशझै दक्षिणतिर फैलिएको मनै लोभ्याउने दृश्य भएको तालको रुपमा कुपिण्डे दह रहेको छ ।

कुपिण्डेदहको लम्बाई १२ सय २६ मिटर लम्वाइ, २ सय ५० मिटर गहिराइ, परिधि २ हजार ८ सय र क्षेत्रफल ३० हेक्टर रहेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Mohan B. Chand

    Oct. 16, 2018, 12:17 p.m.

    धेरै राम्रो लेख मुनाजि, यस्ता लेखहरुले पक्कै पनि नेपालको महत्वपूर्ण ठॉउहरुको प्रचार हुने र आन्तरिक र वाह्य पर्यटकका लागि सहि सूचना हुनेछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया