साउदीमा कार दुई चिरा हुँदा सिट बेल्टले बचाएको महेन्द्रको जीवन

 कात्तिक ८, २०७५ बिहिबार १६:३१:२५ | मोहन पौडेल

काठमाडौं – साउदीमा घर बनाउने मिक्सरको अपरेटर महेन्द्रले कुनै दिन ४८ घण्टासम्म काम गर्नुपथ्र्यो । तर त्यो दिन कतै काम थिएन । आराम गरेर बसिरहेको बेला म्यानेजरले आफ्नो साथी लिएर आउनु भनेर कार लिएर पठाए । कार चलाउन सक्ने भएकाले महेन्द्र म्यानेजरका साथी लिन जानुभयो । 

म्यानेजरका साथी लिएर फर्किएका महेन्द्र र उहाँका साथी खाना खाएर कारमा बस्नुभएको थियो । त्यति नै बेला एक जना पाकिस्तानीले चलाएको मिक्सरले कारलाई ठक्कर दियो । महेन्द्र बसेको कार दुई चिरा भयो । अर्को सिटमा बसेका साथीको शरीरको कुनै पनि भाग सग्लो रहेन । तर महेन्द्रको ज्यान जोगियो ।

गाडी चिरा पर्दा पनि सिट बेल्ट लगाएकाले मलाई त्यही बेल्टले उछिट्टिनबाट जोगाएछ’ अहिले नवलपरासीको घरमा आराम गरिरहेका महेन्द्रले भन्नुभयो । टाउकोसहित शरीरका धेरै ठाउँमा चोट लागेकाले महेन्द्र बेहोस हुनुभयो । आफूलाई लागेको चोट महेन्द्रले २१ दिनपछि मात्रै थाहा पाउनुभयो । कारण, त्यतिञ्जेल उहाँको होश नै आएन । 

सही खबर पाउन परिवारलाई लाग्यो २१ दिन  

छोरी जन्मिएपछि साउदी पुगेका महेन्द्र श्रीमती गंगालाई दिनहुँजसो फोन गरिरहनुहुन्थ्यो । त्यो दिन पनि उहाँले मलाई फोन गर्नुभएको थियो गंगालाई । गंगा त्योबेला गाउँमा बिहे भएकाले त्यहीँ जानुभएको थियो ।

श्रीमती आवाज नसुनिने ठाउँमा भएको बुझेपछि महेन्द्रले पछि फोन गर्ने भन्दै राख्नुभयो । गंगा श्रीमानको फोनको पर्खाइमा हुनुहुन्थ्यो । भोलिपल्ट पनि फोन आएन । गंगाले एक दिन त विदेशको काम गराइले फोन गर्न मिलेन होला भनेर चित्त बुझाउनुभयो । 

‘पहिला पनि कहिलेकाहीँ श्रीमानले एक दुई दिन फोन गर्नुहुन्न्थ्यो अनि किन नगरेको भन्दा  मोबाइल भुइँमा खसेर अफ भएछ भनेर जवाफ दिनुहुन्थ्यो । त्यस्तै केही भयो होला भनेर मन बुझाएँ ।’ गंगा भन्नुहुन्छ । 

तर अर्को दिन फोन नआएपछि डराएकी गंगाले फेसबुकको म्यासेनजरमा पो म्यासेज आएको छ कि भनेर त्यहाँ पनि हेर्नुभयो । तर म्यानेन्जरा कुनै म्यासेज थिएन । दुई दिन फोन नआएपछि गंगा श्रीमानसँगै विदेश गएर फर्किएका छिमेकीकोमा पुग्नुभयो ।

उनले खबर थाहा पाएको जसरी गंगालाई सम्झाएर जसरी फोन गर्ला नि त भन्न थाले । श्रीमानको खबर नपाएर आत्तिएकी गंगालाई उनको कुराले झन् पेट पोल्न थाल्यो । धेरैबेर बसेर कर गरेपछि छिमेकीले चिनेको म्यानेजरलाई फोन गरिदिए । 

म्यानेजरले सामान्य बान्ता भएर अस्पताल लगिएको छ भनेर सुनाए । भरे कुरा गराइदिने भन्दै गंगाको नम्बर लिए । निकै समय पर्खिएपछि फोन त आयो । तर गंगाले बोल्न पाउनुभएन । अस्पतालमा बोल्न नमिल्ने भन्दै म्यानेजरले महेन्द्रले तिमीलाई सोधिरहेको छ अनि नआत्तिनु केही भएको छैन भनेर भने । 

सामान्य बान्ता मात्रै भएको भनिएका श्रीमानसँग बोल्न नपाएपछि गंगा झन् आत्तिनुभयो । त्यसैले उहाँले साउदीमै रहेका महेन्द्रका भिनाजुलाई अवस्था बुझ्न अनुरोध गर्नुभयो । भिनाजुलाई चाहिँ कम्पनीले महेन्द्र दुर्घटनामा परेको, अवस्था सामान्य रहेको भन्दै ढाँट्यो ।

सुरुमा सामान्य बान्ता भएको बताएको कम्पनीले दुर्घटना भएको भनेपछि गंगाको मनमा धेरैथरी आशंका उब्जियोे । उहाँले दमाममा रहेका साथीका श्रीमानलाई बुझ्न भन्नुभयो । पाँच दिनमा बल्ल दुर्घटनामा भएको खबर गंगाले थाहा पाउनुभयो । त्यतिबेला श्रीमान महेन्द्र कोमामा हुनुहुन्थ्यो । कोमामा पुगेको थाहा पाउन चाहिँ गंगालाई २१ दिन लाग्यो । 

डाक्टरले महेन्द्रको होश आउन ६ महिना लाग्ने बताएका थिए, तर छिटै  होश आयो । होश त आयो, तर महेन्द्रले बेहोशीमा जस्तै कुरा गर्न थाल्नुभयो । ‘त्यतिबेला बेहोशीमै बोलेको रहेछु । म अहिले नेपालमै छु, नेपालमा मेरो १० वटा प्लेन छन् भनेर भनेको रहेछु । त्यतिबेलाको भिडियो अहिले पनि छ ।’ त्यतिबेलाका कुरा सम्झिएर महेन्द्र थोरै मुस्कुराउनुभयो । 

विगत सम्झेर मुस्कुराउँदा अनुहार उज्यालो भए पनि महेन्द्रको सम्झिने शक्ति भने धमिलो बनाइदिएको थियो त्यो दुर्घटनाले । टाउकोमा चोट लागेकाले धेरै कुरा बिर्सिनुभएको थियो । मान्छे चिने पनि आफूले पहिला के गर्थें अनि के कारणले गर्दा दुर्घटना भयो महेन्द्रले सम्झिन सक्नुहुन्नथ्यो । दाँतमा मात्रै होइन दाहिने पाखुरामा पनि स्टिल राखिएको थियो । 

हलचल गर्न नसक्ने महेन्द्रलाई अस्पतालले एक महिना २१ दिन उपचार गरेपछि अवस्था सुधार भएको भन्दै डिस्चार्ज गरिदियो । अस्पतालबाट फर्किएका महेन्द्रलाई कम्पनीले कुनै वास्ता गरेन । काम गरेर पाउन बाँकी रहेको झण्डै ५ लाख रुपैयाँ दिने कुरा पनि निकालेन ।

कम्पनीले घर पठाइदिने छाँट नदेखेपछि महेन्द्रले बरु ५ लाख रुपैयाँ चाहिँदैन, घर पठाइदेउ भन्नुभयो । तर कुनै प्रक्रिया नगरिदिएपछि उहाँ घरबाटै झण्डै डेढ लाख रुपैयाँ मगाएर फर्किनुभयो । 

हेभी गाडीको लाइसन्स भएका महेन्द्रसँग लाइट गाडी अथवा कारको लाइसन्स थिएन । त्यसले पनि घर फर्काउने बेला समस्या भएको थियो । तर सबै खर्च गरेरै भए पनि महेन्द्रलाई घर फर्कायो परिवारले । घर फर्किंदा परिवार, छिमेकी चिन्नुहुन्थ्यो तर आफूले गरेका काम अनि आर्थिक कारोबार चाहिँ बिर्सिनुभएको थियो ।

विदेश नपठाएको भए पनि हुने रहेछ

दुर्घटनामा परेर अशक्त भएर फर्किएका श्रीमानलाई अहिले देख्दा गंगालाई विदेश नपठाएको भए हुने रहेछ भन्ने लाग्छ । ३२ वर्षका महेन्द्र पौडेलको ६ जना परिवार  । बुवा, दुई जना आमा, श्रीमती अनि छोरी ।

त्यही परिवारको भविष्यका लागि महेन्द्रले विदेशमा आठ वर्ष बिताउनुभयो । साउदी जानुअघि कतार जानुभएको थियो । २०६४ पुसमा उहाँ कतार जानुभएको थियो । सेक्युरिटीसँगै ड्राइभिङको काममा गएका महेन्द्र चार वर्षसम्म पनि १२ सय रियाल तलबमा एक रियाल नबढेपछि घर फर्किनुभयो ।

कतारबाट फर्किएर बिहे गर्नुभयो, अनि त्यसको तीन वर्षपछि उहाँ साउदी पुग्नुभएको हो । महेन्द्रलाई गाडी कुदाउन आउँथ्यो । कम्प्युटरमा डिप्लोमा गरेकाले कम्प्युटरको ज्ञान पनि थियो महेन्द्रसँग । त्यसैले उहाँलाई घर बनाउन प्रयोग गरिने सिमेण्टको मसला बनाउने मिक्सर अपरेटरको काम दियो कम्पनीले ।

कतारको कमाइले एउटा घर बनाएका महेन्द्रले साउदीबाट ल्याएको पैसाले अर्को घर बनाउनुभयो । तर सकुशल घर फर्किन पाउनुभएन । अरुकै कारणले उहाँ दुर्घटनामा पर्नुभयो । 

बीमा नपाउँदाको पीडा 

बिदामा घर आएर साउदी फर्किने बेला महेन्द्रको बीमाको म्याद ७ महिना २२ दिन बाँकी थियो । श्रम गर्न पुगेका महेन्द्रलाई श्रम कार्यालयका कर्मचारीले पहिलाकै म्यान बाँकी रहेको भन्दै फर्काइदिए । त्यही कारणले दुर्घटनामा परेर फर्किंदा पनि महेन्द्रले बीमा बापतको रकम पाउनुभएन ।  

महेन्द्रको अहिलेको दैनिकी 

पहिले जे काम गर्न पनि अघि सर्ने महेन्द्रको अहिलेको दैनिकी फेरिएको छ । दिन बिराएर गर्नुपर्ने थेरापी र श्रीमतीले गर्ने स्याहारमै समय बित्छ । उहाँ थेरापी गर्न एक दिन बिराएर चितवनको सिएमसी अस्पताल पुग्नुहुन्छ ।

यो उपचारले उहाँको अवस्था सुध्रिँदै गएको छ । ‘उताबाट फर्किंदा त हात सुक्न थालिसकेको थियो तर डाक्टरको सल्लाहमा थेरापी गर्न थालेपछि हात जोगियो’ महेन्द्रले भन्नुभयो ।  

उहाँको कुममा स्टिल हालिएको छ । त्यसैले थेरापी गरेर चलाइएन भने हात चलाउन समस्या हुन्छ । एक्लै हिँड्दा चक्कर लाग्ने भएकाले नुहाउन पनि श्रीमतीले सघाउनुपर्छ। 

रगत जमेकाले टाउकोमा साना प्वाल पारेर जमेको रगत निकालिएको कुरा महेन्द्रले अहिले मात्रै चाल पाउनुभयो । उहाँका खुट्टामा पनि असर परेको छ । तर चलाउन हातमा जस्तो समस्या हुँदैन । 

कमाएको पैसा घर बनाउँदा सक्कियो । परिवारले अहिले ऋण लिएर उहाँको उपचार गरिरहेको छ । महेन्द्रलाई ल्याउँदा र उपचार गर्दा झण्डै २ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया