छुट्टाछुट्टै ठाउँमा गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

 कात्तिक ९, २०७५ शुक्रबार १२:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विभिन्न ठाउँमा गाडीले पैदलयात्रुलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । शुक्रबार बिहान काठमाडौं, धादिङ र सप्तरीमा गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । 

काठमाडौंको तार्केश्वर नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बिहान १० बजेतिर ना ६ ख ७८२६ नम्बरको ट्रकले तार्केश्वरको लोलाङमा ठक्कर दिँदा ज्यान गुमाएकी महिलाको पहिचान भएको छैन । घाइते भएका मध्ये एक जनाको ग्रिनसिटी अस्पताल धापासीमा र अर्का एक जनाको त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिँडिरहेका उनीहरुलाइ ट्रक ठक्कर दिएको हो । 

यस्तै, सप्तरीको रुपनी गउँपालिका २ मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहान सप्तरीकै रुपनीबाट राजविराजका लागि छुटेको ना ३ ख ७३९० नम्बरको बसले ठक्कर हिँदा हिँडिरहेका स्थानीय गुनान्दन यादवका ६ वर्षका छोरा शिवम्कुमारको ज्यान गएको हो । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

धादिङको महादेवबेसीमा ट्रकको ठक्करबाट थाक्रे गाउँपालिकाका २८ वर्षका मनोज मिजारको ज्यान गएको छ । सिहराको लाहानबाट काठमाडौंका लागि छुटेको ना ६ ख २३७३ नम्बरको बाह्रचक्के ट्रकले मिजारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया